१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दोलखा कांग्रेसबाट प्रत्यक्षमा तीन महिला आकांक्षी,९ जना समानुपातिकमा सिफारिस

नेपाली कांग्रेस दोलखाका तीन जना महिला नेतृले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ चुनाव लड्ने ईच्छा देखाएका छन्। प्राय महिलाले समानुपातिकमा आवेदन गरेको कांग्रेसमा तीन महिलाले भने प्रत्यक्षमा लड्न ईच्छा देखाउदै सिफारिसमा परेका हुन्। जिल्ला पार्टीबाट ९ जना महिला समानुपातिकमा सिफारिस भएका छन्। 

दोलखामा प्रतिनिधि सभा तर्फ १ र प्रदेश सभा तर्फ २ ओटा निर्वाचन क्षेत्र रहेको छ। तीन ओटा सिटको प्रत्यक्ष तर्फ १५ जना पुरुष सिफारिस हुदा एक एक ओटा सिटमा लड्ने आकाँक्षा सहित तीन जना महिला सिफारिसमा परेका छन्। प्रतिनिधि सभा सदस्यका लागि लक्ष्मीकुमारी तामाङ सिफारिसमा परेकी छिन्। उनी पार्टीका जिल्ला सभापति वर्मा लामाकी धर्मपत्नी हुन्। नेपाल महिला संघको महाधिवेशन प्रतिनिधि रहेकी उनी जिल्लाकी महिला नेतृ हुन्।

यस्तै प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ पार्टीका नेतृ विनिता अधिकारी सिफारिस भएकी छन् । पद्मकन्या बहुमुखी क्याम्पस वागवजारकी पूर्व स्ववियु सभापति उनी दोलखा कांग्रेसकी पूर्व महाधिवेशन प्रतिनिधि हुन्। प्रखर वक्ता अधिकारी २०७४ को प्रदेश सभा निर्वाचनमा समेत पार्टी बाट समानुपातिक उम्मेदवार बनेकी थिईन्।

प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ छिरिङ डोल्मा शेर्पा सिफारिस भएकी छन्। उनी पार्टीको महाधिवेशन प्रतिनिधि साथै लोकतान्त्रिक शेर्पा संघको केन्द्रीय सदस्य हुन्। तीन बिषयमा स्नातकोत्तर गरेकी शेर्पा समुदायकी उनी वौद्विक महिला नेतृमा गनिन्छिन्। पूर्व मिस पर्यटन २०१९ रहेकी शेर्पा नेपाल आदिवासी जनजाति महिला महासंघ वागमती प्रदेश समिति अध्यक्ष समेत हुन्।

समानुपातिक तर्फ दोलखा कांग्रेस बाट ११ जना महिला सिफारिसमा परेका छन्। प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ सुमित्रा न्यौपानेको एकल सिफारिस परेको छ। उनी पार्टीका पूर्व जिल्ला सभापति तथा प्रजातान्त्रिक सेनानी स्वर्गीय देवी न्यौपानेकी धर्मपत्नी हुन्।  

प्रदेश सभा (क) बाट समानुपातिक तर्फ रोचना उप्रेती, तारा थपलिया, लिलादेवी जिरेल र सुमिका पाख्रिन तामाङको नाम सिफारिसमा परेको छ । उप्रेती र थपलिया दुवै पार्टी महाधिवेशन प्रतिनिधि हुन् । राजनितीक परिवारिक पृष्ठभूमिका उप्रेतीका पिता र काकाहरु विपी सहितका नेताहरू संग प्रवास र जेलमा बसेका थिए। कांग्रेसमा कोईराला परिवार निकट थपलिया जिल्लाकी महिला नेतृ हुन्। लिलादेवी अल्पसंख्यक जिरेल समुदायबाट प्रतिनिधित्व गर्छिन्।  सुमिका कांग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङकि नातिनी हुन्।

प्रदेश सभा (ख) बाट अनिता श्रेष्ठ, सुनिता नेपाली र मोतिमाया मोक्तान सिफारिसमा परेका छन्। श्रेष्ठ पार्टीको वागमती प्रदेश कार्य समिति सदस्य हुन भने नेपाली र मोक्तान दुवै महाधिवेशन प्रतिनिधि हुन्। दोलखाबाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यका लागि ७ जना पुरुषको सिफारिस भएको छ। पार्टीका केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा हालका संघीय सांसद जिपछिरिङ लामा सिफारिसमा परेका छन्।
यस्तै केन्द्रीय सदस्यद्वय कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी पार्टीका जिल्ला सभापति वर्मा लामा पूर्व जिल्ला पार्टी सभापतिहरु ताराबहादुर कोईराला, रुद्र बहादुर खड्का र उद्ववराज काफ्ले प्रतिनिधि सभा सदस्यका लागि सिफारिसमा परेका छन्। प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ प्रभुराम श्रेष्ठ र पुष्कर खड्का सिफारिस भएका छन्। पार्टीको वागमती प्रदेश कार्य समिति सदस्य रहेका श्रेष्ठ र खड्का दुवै महाधिवेशन प्रतिनिधि हुन्।

यस्तै प्रदेशसभा (क) बाट भवेन्द्र कार्की, ताराकुमार खड्का  र भुवन केसीले प्रत्यक्षमा लड्न सिफारिस भएका छन्। कार्की महाधिवेशन प्रतिनिधि हुन भने गत जिल्ला अधिवेशनमा पार्टी सभापतिका निकटतम प्रत्याशी खड्का हाल जिल्ला कार्य समिति सदस्य छन्। पार्टीको जिल्ला संगठन बिभाग प्रमुख रहेका केसी जिल्लाका युवा नेता हुन्। प्रदेश सभा (क) बाट समानुपातिक तर्फ  उक्त क्षेत्रीय सभापति शुक्रराज तामाङ, सुदर्शन कार्की, सोनाम शेर्पा, केदारराज सुनुवार हस्तलाल योञ्जन सिफारिसमा परेका छन्। 

प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ केशबराज चौलागाई, राकेश श्रेष्ठ, सन्तोष पाण्डे, युधिष्ठिर खड्का र कुलराज थापा सिफारिसमा परेका छन्। चौलागाई यस अघि २०७४ को प्रदेश सभा निर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षमा लडेका थिए । श्रेष्ठ जिल्ला पार्टीका प्रवक्ता हुन भने खड्का विगु गाउँ पालिकाका पूर्व अध्यक्ष हुन्। थापा पूर्व महाधिवेशन प्रतिनिधि हुन्।

प्रदेश (ख) बाट ५ जना समानुपातिकमा सिफारिस भएका छन्। वाग्मती प्रदेश कार्य समितिको कार्य सम्पादन समिति सदस्य चित्र बहादुर कार्की, पार्टीका जिल्ला सचसव दावा शेर्पा, नेताहरु सिताराम ठकुरी, रामकुमार नेपाली र कविराज थामी यो प्रदेशबाट समानुपातिक तर्फ प्रदेश सभा सदस्यका लागि सिफारिस भएका छन्।

प्रकाशित: २२ भाद्र २०७९ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App