१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसद अमरेशकुमार सिंह निलम्बनमा

नेपाली कांग्रेस सर्लाहीले सांसद अमरेशकुमार सिंहलाई निलम्बन गरेको छ। कांग्रेस सर्लाहीको अनुशासन समितिले पार्टीको आधिकारीक उम्मेदवाहरुलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात/असहयोग गरेको भन्दै निलम्बन गरेको जनाएको छ।

सिंह सर्लाही क्षेत्र नम्बर ४ का सांसद हुन्। समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ को ख बमोजिम निलम्बन गरेको हो। जिल्ला अनुशासन समितिले गत असार २ गते निलम्बन गरेको हो। निलम्बनको निर्णय ढिलो गरी मात्र सार्वजनिक गरिएको छ।  

निलम्वनको निर्णयसहितको प्रतिलिपि जिल्लाले मधेस प्रदेश सभा तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति केन्द्रीय अनुशासन समितिमा पठाइसकेको छ। यसैबीच सिंहको सिफारिस नहुँदा कार्यकर्ताहरु आक्रोशित भएका छन्। तीन पटक सांसद रहिसकेको डा.सिंहलाई कुनै पनि बहानामा उम्मेदवार बनाउनबाट रोक्न नहुने कार्यकर्ताहरुको भनाइ रहेको छ।

क्षेत्रलाई विकासको मार्गमा निरन्तर डोर्‍याइरहेका सिद्धान्तवादी प्रजातान्त्रिक नेता सांसद सिंहलाई निलम्बन गरिएको भए पनि फुकुवा गरेर ससम्मान टिकट दिइनुपर्ने भनाइ कार्यकर्ताहरुको रहेको छ। साँसद सिंहलाई टिकट नदिँदा यसको नकारात्मक असर सर्लाहीको सबै निर्वाचन क्षेत्रमा पर्ने स्थानीय कार्यकर्ताहरुको दाबी रहेको छ।

एकल सिफारिस गरिएका गगन थापा केन्द्रीय नेता भए पनि भारतको सिमासँग जोडिएको सर्लाही क्षेत्र नम्बर ४ का मतदाताको दुःखसुख नबुझेका तथा यस क्षेत्रमा समय नै नदिएकाले बुथ तथा टोलका कार्यकर्ता र मतदातासँग परिचित हुन नसकेकाले मत माग्न सजिलो नहुने कार्यकर्ताहरुको भनाइ छ। 

प्रकाशित: २० भाद्र २०७९ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App