१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोक कांग्रेसले टुङ्यायो उम्मेदवार सिफारिस

क्षेत्र नं. १ बाट बस्नेत सर्वसम्मत, प्रदेश मन्त्री र प्रभावशाली नेता नै परेनन् सिफारिसमा

सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत। फाइल तस्बिर: ध्रुव/नागरिक

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिन्धुपाल्चोक कांग्रेसले सम्भावित उम्मेदवार सिफारिस टुंगो लगाएको छ। दुई प्रतिनिधि र चार प्रदेश सभा चुनावका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाएको कांग्रेस जिल्ला समितिले जनाएको छ। 

कांग्रेस सभापति जंगबहादुर लामाले प्रदेश र क्षेत्रीय समितिबाट आएको सिफारिसमा जिल्लाले केही नाम थप गरेर सम्भावित उम्मेदवार छनोट टुंगो लगाएको बताए। उनका अनुसार जिल्लाले सिफारिस उम्मेदवार सूची आइतबार बागमती प्रदेश र केन्द्रीय समितिलाई बुझाएको छ।  

प्रत्यक्षतर्फ क्षेत्र नं.१ बाट कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतको नाम एकल सिफारिस गरिएको हो। २०७४ को संघीय निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार रहेका उनी पराजित भएका थिए। एमालेसमेतको मतमा माओवादी केन्द्रका उम्मेदवार रहेका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बस्नेतलाई पराजित गरेका थिए।  

प्रतिनिधिसभा समानुपातिक उम्मेदवारतर्फ भोजराज श्रेष्ठ, तारा शाक्य र सिद्धबज्र लामा सिफारिस भएका छन्। क्षेत्र नं. १, प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ भोला बोहरा, विष्णु खत्री, मसिना भण्डारी, दोर्जे लामा लगायतको नाम सिफारिस गरिएको छ। महासमिति सदस्य रहेका खत्री अघिल्लो प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवारसँग यहीँबाट पराजित भएका थिए। समानुपातिकतर्फ भने कांग्रेस बागमती प्रदेश समितिका सहमहामन्त्री हरिशरण श्रेष्ठ र महिला नेतृ लीला नेपाल सिफारिस भएका छन्।  

क्षेत्र नं. १, प्रदेश सभा (ख) मा प्रत्यक्ष उम्मेदवारतर्फ पार्टी जिल्ला सभापति जंगबहादुर लामा, देबेन्द्र खड्का, राजेन्द्रकुमार श्रेष्ठ, केदार क्षेत्री, श्रवणकुमार जिसीसहित नेता सिफारिसमा परेका छन्।  श्रेष्ठ अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमाले उम्मेदवारसँग पराजित भएका थिए। समानुपातिकतर्फ भने निमाजाङ्वो शेर्पा, दुर्गाराज गिरी, उमेश प्रधानसहितको नाम सिफारिस गरिएको छ।  

प्रतिनिधिसभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ विष्णुविक्रम थापा, राजु गोर्खाली, बिलबहादुर तामाङ, शिव सुनार र शंकर लामा लगायत नेता सिफारिसमा परेका छन्। सूचीको एक नम्बरमा सिफारिस पूर्वराज्यमन्त्री रहेका थापा राप्रपा पृष्ठभूमिका नेता हुन्। राप्रपाबाट नेता सुनिलबहादुर थापासँगै उनी कांग्रेस प्रवेश गरेका थिए। सुनार र तामाङ क्रमशः निवर्तमान जिल्ला उपसभापति र सचिव हुन्। पूर्वसभापतिद्धय विकास लामा र श्यामबहादुर श्रेष्ठ तथा सानुमाया हिमालय समानुपातिकमा सिफारिस भएका छन्।  

क्षेत्र नं. २, प्रदेश सभा (क) प्रत्यक्षतर्फ पार्टी उपसभापति टंक कार्की, विकास तामाङ, राजेन्द्रमान ताल्चाभँडेल लगायत नेता सिफारिसमा परेका छन्। अघिल्लो प्रदेशसभा निर्वाचनमा यसै क्षेत्रबाट उम्मेदवार रहेका तामाङ बाम गठबन्धनसँग पराजित भएका थिए। यस प्रदेशबाट समानुपातिकतर्फ भने विद्यार्थी नेता तथा महासमिति सदस्य भरत खड्का, केशव श्रेष्ठ, रीता दुलाल, कमलरत्न दनुवारसहितको जनाको नाम सिफारिस गरिएको छ।  

क्षेत्र नं. २, प्रदेश सभा (ख) को लागि प्रत्यक्षमा कृष्णकुमार तामाङ (समिर), पाशाङ दोङ, विष्णु खड्का, मधुसुदन सिग्देल लगायत सिफारिस भएका छन्। ज्ञानबहादुर तामाङ, कुमार दुलाल, कर्म लामा, छिरिङ ह्योल्मो लगायत १४ को नाम समानुपातिकतर्फ अघि सारिएको छ।  

उम्मेदवार आकांक्षीलाई कारबाहीको दण्डा  

प्रतिनिधि र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकमा एकलदेखि १४ जनासम्म उम्मेदवार सिफारिस हुँदा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाको नाम सूचीमा अटेन। अघिल्लो निर्वाचनमा उनी क्षेत्र नं. २, प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए। प्रतिनिधिसभा र प्रदेश सभाका ६ मध्ये पाँच क्षेत्र बाम गठबन्धनका उम्मेदवारले जित्दा बिजय निकालेर उनले जिल्लामा कांग्रेसको बीउ जोगाएका थिए। उनी यस पटक पनि दोहो¥याउने मनस्थितिमा थिए। तर उनको नाम सिफारिसै भएन।  

गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङ प्रतिनिधि सभा क्षेत्र नं. २ वा त्यस अन्तर्गतको प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ उम्मेदवारको आकांक्षी थिए। इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष रहेका उनी १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए। सिन्धु कांग्रेसको समकालीन नेताहरुमा पहिलो लहरमा पर्ने जिल्लाबाट सिफारिसमा परेका छैनन्।  

प्रभावशाली युवा नेता जिमी लामा ह्योल्मो यसै क्षेत्रको प्रदेश (ख) बाट प्रत्यक्ष उम्मेदवारको दाबेदार थिए। त्यसैअनुरुप उनले तयारी अघि बढाएका थिए। अघिल्लो निर्वाचनमा पनि उनी आकांक्षी थिए। ‘अर्को पटक उम्मेदवार पक्का’ भन्दै त्यतिबेला उनलाई पछाडि हटाइएको थियो। उनको नाम पनि सिफारिस भएन।  

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लागेर कार्वाही तयारी गरिएकाले उनीहरुको नाम सिफारिस नगरिएको जिल्ला सभापति जंगबहादुर लामाले बताए। ‘उहाँहरुलाई कार्वाही गर्न सिफारिस भएर आएको छ। त्यसैअनुरुप कार्वाही प्रक्रिया अघि बढाउन पार्टीले स्पष्टिकरण सोधेको छ,’ उनले भने।  

उनका अनुसार स्थानीय चुनावमा असहयोग गरेको आरोपमा पार्टीले झण्डै ७५ नेता, कार्यकर्तामाथि कार्वाही प्रक्रिया अघि बढाएको छ। निमा, बंशलाल र जिमी यसैमध्येका हुन्। जिल्ला उपसभापति टंक कार्की संयोजक रहेको अनुशासन समितिले उनीहरुलाई लिखित स्पष्टिकरण सोधेको छ। ‘उनीहरु (कार्वाही सिफारिस भएका) को नाम तल्ला तहबाट सिफारिस भएर आएरै आएन। जिल्ला समिति बैठकले पनि असहयोग आरोप लागेकाहरुलाई उम्मेदवार सिफारिस नगर्ने निर्णय गर्‍यो,’ सभापति लामाले दाबी गरे।

असहयोग गरेको आरोपमा कारबाही तयारी तयारी गरिएका नेता बंशलालले चुनावमा हारेपछि लञ्छना लगाउनुको कुनै तुक नहुने बताए। ‘चुनाव सकिएपछि सबै कुरा सकियो। आरोपमा कुनै सत्यता छैन,’ उनले भने। उनले आफूहरुको नाम तल्ला समितिबाट सिफारिस भएर अघि बढेकाले त्यस्लाई काट्ने अधिकार जिल्लालाई विधानले नदिएको जिकिर गरे। ‘यसो हो भनेर राय लेखेर पठाउन सकिन्छ। नामै काट्न मिल्दैन,’ उनको दाबी छ।  

त्यस्तै पूर्वसभापति तथा संविधान सभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा, नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमिल्सिना लगायत प्रभावशाली नेताको नाम सम्भावित उम्मेदवारमा तल्लो तहबाटै सिफारिस भएर आएन। उनीहरुलाई जिल्ला समितिले पनि सिफारिसमा पारेन। बरु स्थानीय चुनावको मुखमा एमाले छोडेर कांग्रेस प्रवेश गरेका केदार क्षेत्री, मञ्जु भण्डारी लगायत आगन्तुक र धेरै कनिष्ठ नेताहरु सिफारिसमा परेका छन्।

प्रकाशित: १९ भाद्र २०७९ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App