९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धन कायम भए सिन्धुलीमा संघ र प्रदेशमा एमालेलाई जित्न मुस्किल!

प्रदेश र संघको निर्वाचन नजिकिदै जाँदा सिन्धुलीका दलहरु निर्वाचन केन्द्रित कार्यक्रममा जुटिसकेका छन्। दलहरु निर्वाचनमा जुटिरहँदा यस पटकको निर्वाचनमा सिन्धुलीका दुई संघीय क्षेत्र र चार प्रदेश क्षेत्रमा कुन पार्टीले जित्छ भन्ने आंकलन सुरु भएको छ।  

स्थानीय तहको निर्वाचनमा जिल्लास्थित स्थानीय तहका प्रमुखले पाएको मतको परिणामलाई हेर्दा गठबन्धन भए एमालेलाई सिन्धुलीमा कुनै सिट जित्न सक्ने अवस्था छैन। यद्यपी स्वतन्त्र उम्मेदवारले भोट काटे एमालेले पनि प्रदेश स्तरमा जित्ने आंकलन गरिएको छ। स्थानीय तहको निर्वाचनमा २ लाख ६ हजार तीन सय ३६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। जसमध्ये ६८ प्रतिशतमात्रै स्थानीय तहमा मत खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिइन्। स्थानीय तहको निर्वाचनमा जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामा काँग्रेस र माओवादी गठबन्धनबाट पाएको मत र एमाले एक्लैले पाएको मतलाई आधार मान्दा एमालेको मत धेरै फरक छैन। निर्वाचन आयोगको तथ्याङक अनुसार माओवादी र काँग्रेस मिलेर स्थानीय तहको प्रमुख पदका लागि जिल्लाभर गठबन्धनले ६५१४५ मत पाएका छन् भने एमालेले ५४९३३ मत पाएका छन्। गठबन्धन भन्दा एमाले १० हजार  दुई सय १२ मतले कम देखिएको छ। स्थानीय तह प्रमुखले नै पाएको मतको आंकलनमा काँग्रेस र माओवादी सहितको गठबन्धन भए सिन्धुलीमा एमाले प्रत्यक्ष तर्फ शून्य सिट हुन सक्ने स्थानीयको बुझाई छ।  

यसभन्दा अगाडी दुई पटक एमालेले जित्दै आएको सिन्धुली क्षेत्र नं. १ पनि गठबन्धन भए एमालेबाट फुत्कन सक्ने दरिलो संम्भावना देखिएको छ। गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई हेर्दा स्थानीय तह हरुका प्रमुखले पाएको मतलाई आंकलन गर्दा सिन्धुली क्षेत्र नं. १ मा गठबन्धनले जित्ने पक्का छ। स्थानीय तहको प्रमुख मध्ये काँग्रेस माओवादी गठबन्धनमा ३३ हजार पाँच सय ५७ मत पाएका छन् भने एमालेले २७ हजार पाँच सय मत पाएको छ। गठबन्धन भन्दा एमाले ६ हजार ५७ मतले कमजोर देखिएको छ। यस्तै सिन्धुली क्षेत्र नं. २ मा काँग्रेस माओवादी गठबन्धनमा  ३१ हजार ५ सय ८८ मत स्थानीय तहका प्रमुखले पाएका छन् भने एमालेका प्रमुखहरुले २७ हजार ४ सय ३३ मत पाएका छन्। क्षेत्र नं. २ मा माओवादी र काँग्रेसको गठबन्धनभन्दा ४ हजार १ सय ५५ मतले कमजोर छ। पाँच दलीय गठबन्धन अन्र्तगत स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले जिल्लाको गठबन्धनमा असहमती जनाएकाले एकीकृत समाजवादीको मत कुन पार्टीलाई गयो एकिन नभएको स्थानीय राजनीतिज्ञ बताउँछन्। जनता समाजवादीले आफ्नै उम्मेदवार उठाएको थियो। माओवादी काँग्रेससहित आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहे सिन्धुलीमा एमालेले प्रत्यक्षतर्फ जित्न निकै कसरत गर्नुपर्ने देखिन्छ। यद्यपी गठबन्धनका भोट इमान्दार नभएर अन्य स्वतन्त्र समेत उम्मेदवार परे त्यसको फाइदा उठाउने दाउमा एमाले देखिएको छ। गठबन्धन भएपनि एमालेले पनि जित्ने दावी गर्दै आएको छ।  

स्थानीय तहमा के भयो भन्ने कुरामा यो निर्वाचनको कुनै सम्बन्ध रहँदैन, स्थानीय तहको निर्वाचन र संघ प्रदेशको निर्वाचन फरक हो, नेकपा एमालेका प्रचार विभाग प्रमुख संजय दाहालले भने, हाम्रो पार्टीका नेताहरु उत्साहका साथ टिकटका लागि लागिपरेका छन्, गठबन्धसँग प्रतिस्पर्धा गर्न हामी तयार छौं। यता गठबन्धन भए एमाले शून्य अवस्थामा पुग्ने काँग्रेसको बुझाई छ। गठबन्धन नभएपनि काँग्रेस जिल्लामा एक्लै प्रतिपर्धा गर्न सक्ने अवस्था छ, नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेलले भने पार्टीको केन्द्रिय निर्देशन अनुसार गठबन्धन हुन्छ गठबन्धन हुँदा एमालेले जिल्लामा प्रत्यक्षतर्फ जित्ने संम्भावना छैन।  यस्तै गठबन्धन गरेर एमालेलाई यसपटक कुनै सिटमा जित्न नदिने दाउमा माओवादी रहेको छ। गठबन्धन कायम भए सिन्धुलीको क्षेत्र नं. १ लाई एमालेले भन्दै आएको गढ यसपटक भत्कने निश्चित छ। गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा सिन्धुलीका दुई संघीय क्षेत्र र चार प्रदेश क्षेत्रमा एमाले र माओवादी गठबन्धनका कारण काँग्रेस प्रत्यक्षतर्फ शून्य सिटमा चित्त बुझाउन बाध्य भएको थियो। त्यो नतिजा यसपटक एमालेमा पुग्ने स्थानीयको बुझाई छ।

 

प्रकाशित: १७ भाद्र २०७९ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App