१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माधव नेपालको गृह क्षेत्रमा बढ्दैछ त्रिपक्षीय प्रतिस्पर्धा

रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर १ मा त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावनाले अहिले चर्चामा रहेको छ। रौतहटमा चिनिएका तीन दिग्गज नेताहरु क्षेत्र नम्बर १ बाट मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बन्ने चर्चा चलेसँगै यो क्षेत्र नै चर्चाको केन्द्रमा देखिएको छ।

नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, लोसपा नेपालका संस्थापक नेता तथा पूर्व मन्त्री अनिलकुमार झा र गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजयकुमार गुप्ता प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने चर्चा व्यापक चलिरहेको छ।

नेता नेपाल, झा र गुप्ताको गृह क्षेत्र भएकोले तिनै जना चर्चामा रहेका छन्। पूर्व प्रधानमन्त्री नेपाल र पूर्व नगर प्रमुख गुप्ताको घर गौर नगरपालिका हो भने वर्तमान साँसद तथा पूर्व मन्त्री झाको घर दुर्गा भगवती गाउँपालिकामा रहेको छ। तीनै जना यस क्षेत्रका प्रभावशाली नेता मानिएका छन्।

एउटा चुनावमा नेता नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा भएको थियो जसमा नेपालले बाजी मारेका थिए। नेता नेपाल तत्कालीन नेकपा एमालेबाट उम्मेदवार थिए भने गुप्ता मधेसवादी दलबाट उम्मेदवार बनेका थिए। अहिलेको चुनावमा नेता नेपाल नेकपा एस र नेता गुप्ता नेकपा एमालेबाट उम्मेदवार बन्न लागेका हुन्।

उता नेता झा भने मधेसवादी पहिचान भएको लोसपा नेपालबाट उम्मेदवार बन्न लागेको चर्चा रहेको छ। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एसले दुई नगरपालिकामा पूर्ण बहुमतसहित अन्य पालिकाको वडामा राम्रो पकड स्थापित गरेको छ।

यसैगरी नेता नेपाललाई नेपाली काँग्रेस र नेकपा माओवादीको पनि समर्थन रहने देखिएको छ। यसैगरी नेकपा एमालेको पनि बलियो संगठन रहेको मानिएकोले नेता गुप्ताले कडा टक्कर दिने देखिएको छ। मधेसवादी सेन्टिमेन्टको एकल समर्थन नेता झालाई जाने विश्वास गरिएको छ।

प्रकाशित: १५ भाद्र २०७९ १५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App