१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले नेताहरू जिल्लातिर केन्द्रित

फाइल तस्बिर

नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठकपछि सबै नेता जिल्ला र गाउँमा केन्द्रित हुन थालेका छन्। बैठक सकिएलगत्तै केन्द्रीय सदस्यहरू शीर्ष नेताहरूलाई भेटेर आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफू टिकटको दाबेदार रहेको संकेत गर्दै काठमाडौं छाडेका हुन्। जिल्लामै रहेका धेरैजसो केन्द्रीय सदस्य पार्टीका बैठकमा सहभागी हुन मात्र काठमाडौं आएका थिए। अरू बेला बैठक सकिएपछि केही समय यतै अलमलिने नेताहरू बिस्तारै चुनावी माहोल सुरु हुन थालेकाले आआफ्नै क्षेत्रतिर लागेका हुन्। ‘पार्टीले के निर्णय गर्छ थाहा छैन तर पनि अहिले जिल्लामा केन्द्रित भएको छु। एमालेले तय गरेको मापदण्डअनुसार नै उम्मेदवार छनोट हुनेछ,’ एमालेका निर्वाचन विभाग प्रमुख डा. विजय सुब्बाले भने।

उनका अनुसार संसद चलिरहे पनि निर्वाचन घोषणा भएयता सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित छन्। ‘म केही दिनका लागि काठमाडौं आएको थिएँ, केन्द्रीय कमिटीको बैठक सकियो, अब जिल्लातिर जान लागेको छु। जिल्लामै केन्द्रित हुने हो, अब उतै सांगठनिक गतिविधि गर्ने हो,’ एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले भने। लामो समयदेखि आफू जिल्लामै केन्द्रित रहेको पनि उनले बताए। उनी लामो समयदेखि गृह जिल्ला पाल्पामै सक्रय भइरहेका छन्।

एमालेले भदौ २० भित्र उम्मेदवार छनोट गरेर पठाउन जिल्लालाई निर्देशन दिइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई सर्वसम्मत रूपमा उम्मेदवार छनोट गरेर पठाउन निर्देशन दिएका हुन्। सोही निर्देशनअनुसार एमालेका सबै जिल्ला कमिटीले उम्मेदवार छान्ने तयारी थालेका छन्। ‘सकेसम्म सर्वसम्मत उम्मेदवार छनोट गरेर पठाउनू, निर्वाचन गरेर उम्मेदवार छनोट नगर्नू, विवाद भए सिधै सचिवालयमा पठाउनू,’ निर्देशनमा भनिएको छ। मापदण्डभित्रै रहेर उम्मेदवार सिफारिस गर्न पनि भनिएको छ। पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्ध भएको, लोकप्रियता र विजयको सुनिश्चितता भएको, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा भएको, सन्तुलन र समावेशिता मिलाइएको, निर्वाचन कानुनबमोजिमको योग्यता भएको व्यक्तिलाई छनोटको मापदण्ड बनाएको छ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि आफू आइतबार जिल्ला जाने बताएका छन्। रिजाल केन्द्रीय कमिटीको बैठकका लागि काठमाडौं आएका हुन्। उनी पनि लामो समयदेखि दैलेखमा क्रियाशील छन्। उनी जस्तौ उम्मेदवार बन्न चाहनेहरू मात्र नभएर अरू सबैजसो नेता जिल्ला फर्केका हुन्। एमालेले पछिल्लो परिस्थिति सहज नभएको र सत्तारूढ गठबन्धन भत्कने अवस्था नरहेका कारण सबै नेतालाई जिल्ला पठाएर जित निकाल्न निर्देशन दिएको हो। एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत मत आवश्यक रहेकाले सो मतका लागि एमालेको सबै संगठित सदस्यलाई दुई मतदाता बढाउन निर्देशन दिएको छ। हाल एमालेका ८ लाख संगठित सदस्य छन्। एमाले महासचिव शंकर पोखरेलले एमालेका प्रत्येक कार्यकर्ताले दुई मतदाता थप गर्न सहयोग गरे बहुमत आउने बताए। ‘हरेक कार्यकर्ताले दुई मतदाता थप गरे १६ लाख मत थपिन्छ। यो भनेको अहिलेको मतमा जोडिनु हो। जसले गर्दा एमालेलाई बहुमत ल्याउनबाट कोही कसैले रोक्दैन,’ महासचिव पोखरेलले भने।

महासचिव पोखरेलका अनुसार अहिले सबै केन्द्रीय सदस्य केन्द्रको निर्णय लिएर जिल्ला फर्किसकेकाले मत बढाउने अभियान सुरु भइसकेको छ। एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले पनि पार्टीका नेताकार्यकर्ता सबै आआफ्नो कार्यक्षेत्रमा खटिइसकेको बताए। उनका अनुसार केन्द्रमा आवश्यक पर्ने नेताहरू रहे पनि अरू नेता भने पार्टीको काम लिएर आफ्नो क्षेत्रमा फर्किसकेका छन्।

‘देशको  भविष्य बनाउन ओली प्रधानमन्त्री’

एमालेका महासचिव पोखरेलले एमाले कार्यकारी प्रमुखको पक्षमा नरहेको बताएका छन्। एमालेले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेपछि सञ्चारकर्मीहरूले एमालेले कार्यकारी प्रमुखको आवश्यकता किन महसुस गरेको भन्ने प्रश्नको जवाफमा उनले एमाले लोकतन्त्रको पक्षमा रहेकाले त्यस्तो गरिएको बताएका हुन्। ‘हामी तत्कालै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाँदैनौं। अध्यक्ष ओली कमरेडलाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको पनि संसदीय लोकतन्त्र अन्तर्गत नै रहने गरी हो। हामी अहिलेलाई संसदीय लोकतन्त्रबाट दायाँबायाँ हुँदैनौं,’ एमाले प्रचार विभागद्वारा काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसंवाद’ कार्यक्रममा उनले भने।

महासचिव पोखरेलले नेपाली राजनीतिलाई सही बाटोमा ल्याउन पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको जिकिर गरे। जनताको पक्षमा काम गरेका नेतालाई घेराबन्दी गरिएकाले त्यस्ताहरूलाई दण्डित गर्न पनि पार्टीले ओलीलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर निर्वाचनमा जान लागेको उनले दाबी गरे।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ओलीको जस्तो राष्ट्रवादी विचार बोकेको र देश विकास गर्ने सक्ने छवि भएको अर्को नेता कोही पनि नभएको दाबी गरे। उनले देशको भविष्य बनाउन सर्वमान्य नेताका रूपमा ओलीलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारिएको बताए।

यसैगरी महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेले स्थानीयस्तरमा तालमेल गरेर ढोका जाने खुला राखेको बताए। कुनै पनि प्रकारको चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको बताउँदै तल्लो तहमै तालमेल हुने जानकारीसमेत दिए। राजनीतिक दलहरूले चुनाव आफ्नो नीतिका आधारमा लड्नुपर्ने तर्क गर्दै उनले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको पटकपटक दोहोर्‍याए।  

प्रकाशित: १४ भाद्र २०७९ ००:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App