१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महानगरको अभियान झनै तीव्र

आइतबार भोटाहिटी र रत्नपार्क जोडिने ‘अण्डरपास’ मा बनेका अवैध संरचना हटाउँदै तथा काठमाडौं महानगरपालिकाले न्युरोडस्थित भूगोलपार्क क्षेत्रमा आइतबारबाट एक लाइन पार्किङको व्यवस्था गरेको छ। यसअघि नियम मिचेर दुर्वतर्फ पार्किङ गरिँदै आएको थियो। तस्बिर : नागरिक

काठमाडौँ महानगरपालिकाले अघिल्लो सोमबारबाट सुरु गरेको अवैध संरचना हटाउने अभियान झनै तीव्र हुने संकेत देखाएको छ। शनिबार बिदाको दिनसमेत वनस्थली र ढुङ्गेधारा क्षेत्रका अवैध संरचना हटाएको महानगरको टोलीले आइतबार भोटाहिटी र रत्नपार्क जोडिने ‘अण्डरपास’ मा बनेका अवैध संरचना भत्काएको छ।  

‘पहिलो चरणमा हाम्रो करिब तीन सय स्थानमा टार्गेट रहेको छ,’ महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘अवैध संरचना हटाउने हाम्रो अभियान तिव्रताका साथ अगाडि बढ्नेछ।’ धेरैतिरबाट समर्थन मिलेको बताउँदै उनले सहर खुला बनाउने अभियान अब नरोकिने बताए।  

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले भनेका छन्, ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनाधिकृत निर्माण तथा नक्सापासभन्दा फरक व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानुनी छ। अब मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन दिने छैनौं।’

यसैबीच महानगरको अभियानमा निस्क्रिय भएको भन्दै आलोचित भएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले गरिरहेको अनाधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताएकी छिन्। आइतबार डंगोलले सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै काठमाडौं महानगरले गरिरहेको अनाधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताएकी हुन् ।  

‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने कार्यलाई मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु,’ उनले लेखेकी छिन्, ‘काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने अजेन्डाप्रति सजग र सचेत रहेको छु।’  

‘काठमाडौं मल’को नक्सा पास छैन  

बुधबारमात्र सुन्धारास्थित रहेको कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’अनधिकृत संरचनामा डोजर चलाएको महानगरले आइतबार फेरी उक्त भवन कोे नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको जनाएको छ।  

काठमाडाैं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सञ्चयकोष भवनको नक्सा पास नदेखिएको बताउँदै कोषसँगको अर्को छलफलपछि थप कुरा अघि बढने बताए। ‘नक्सा पास नभेटिए कानुन अनुसार कारवाही हुन्छ,’ उनले भने, ‘उहाहरूले समय माग्नु भएकाले अहिले रोकिएका छौं।’  

कोषका पदाधिकारी महानगरपालिकाबीच आइतबार भएको छलफलमा २०५७ साल भदौ ३० गते वेसमेन्ट पार्किङ र भुइँतल्ला पार्किङको लागि मात्रै नक्सा पास गर्न महानगरपालिकामा निवेदन दिए पनि अझै नक्सा पास नभएको खुलेको हो।मलले सुरुमा २०५७ त्यसपछि २०७५ सालमा नक्सा पासको लागि संशोधन निवेदन दिएको थियो। तर त्यो निवेदनमाथि कुनै कारबाही नभएपछि महनगरपालिकामा पेन्डिङमै रहेको थियो।

आइतबार महानगरपालिकासँग भएको छलफलपछि कोषले २०५७ सालमा पेश भएको नक्सा पास गर्न प्रक्रिया थाल्ने सहमति जनाएको छ। यस्तै भवनको नक्सामा रहेको वेसमेन्ट रभुइँतल्लामा पार्किङ खुला गर्न कोषले सहमति गरेको छ।  

कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले छलफलको निष्कर्षअनुसार कोषको सञ्चालक समितिले निर्णय गर्नसक्ने बताउँदै अहिले यो विषयमा थप कुरा भन्न नमिल्ने बताए। महानगरका मेयरको स्वकीय सचिव भुपदेव साहले त सञ्चय कोषले नक्सा पास र भवन निर्माण इजजात दुवै नगरेमा महानगरले भवन भत्काउन सक्ने तर्फ समेत सचेत गराएका छन्।  

सामान हटाउने समय पनि पाएनौं

महानगरपालिकको कार्यको थुप्रैले स्वागत गरेपछि पीडितले भने आफूले समय नपाएको गुनासो गरेका छन्। सडक फराकिलो बनाउने अभियानमा साथ पसल हटाउनलाई समय नपुगेको उनीहरूको गुनासो छ। त्यस्तै कतिपयले न्यायिक निरूपणपछि मात्र अनाधिृकत संरचना हटाउनुपर्ने भनाइ राखेका छन्। ‘सडक फराकिलो बनाउने कार्यमा हाम्रो विरोध छैन,’ शनिबार बालाजु क्षेत्रमा आफ्नो टहरो भत्केपछि एक महिलाले भनिन्, ‘सामान सार्न समेत पर्याप्त समय नपाएकोमा हामलाई दुःख लागेको छ।’  

तर मेयर बालेनले भने काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ उक्त कुरा बुझिदिन आग्रह गरेका छन्। पछिल्लो समय अनाधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको उनले बताए।  

‘अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) ले दिएको छ,’ उनले भनेका छन्, ‘कुनै पनि अनाधिकृत निर्माण कार्य वा आफैंले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व हो।’  

सकरात्मक संकेत  

महानगरको एक साता लामो कामले सकरात्मक संकेत देखिन थालेको छ। नयाँ बानेश्वक्षेत्रको फुटपाथ खालि भएपछि सर्वसाधरणको आगमनमा सहजता देखिएको छ। त्यस्तै महानगरले आइतबारट काठमाडौं महानगरपालिकाले न्युरोडस्थित भूगोलपार्क क्षेत्रमा एक लाइन पार्किङको व्यवस्था गरेको छ।

‘पहिलेदेखि नै एक लाइन पार्किङको व्यवस्था भए पनि मापदण्डविपरीत पार्किङ हुँदै आएको थियो,’ महानगरका प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेले भने, ‘यसलाई आइतबारबाट कडाइका साथ लागु गरिएको छ।’ महानगरले भूगोलपार्क क्षेत्र, धर्मपथ क्षेत्र र पिपल्स प्लाजा क्षेत्रमा एक लाइन पार्किङ कडाइसाथ लागु गरेको उनले बताए।  

नगर कार्यपालिकाको आठौं बैठक

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रूपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेका छन्। उनले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रूपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने प्रस्ताव गरेका हुन्। महानगरको आइतबार बसेको नगर कार्यपालिकाको आठौं बैठकमा शाहले कक्षा ७ र ८ मा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउने प्रस्ताव गरेको छ। मेयर साहले नेपाल सरकारको तर्फबाट कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई १५ रूपैयाँ दिइरहेको र काठमाडाैं महानगरले १० रूपैयाँ थप गरी दिने प्रस्ताव गरेका हुन्।

यस्तै मेयर साहले महानगरपालिकामा खाद्य निरीक्षक नियुक्त गर्ने प्रस्ताव गरेका छन्। महानगरको आठौं कार्यपालिका बैठकमा उनले यो प्रस्ताव राखेका हुन्। उनले महानगरपालिकाभित्रका रेष्टुरेन्ट, होटल, तरकारी र मासुपसलगायतको गुणस्तर निरीक्षण गर्ने उद्देश्यले नियुक्ति गर्ने प्रस्ताव अघि सारेका हुन्।  

साहले खानाको गुणस्तर निरीक्षण गर्ने उद्देश्यले खाद्य प्राविधिक नियुक्त गर्न प्रस्ताव गरेको हुन्। उनका अनुसार ४ देखि ५ जनासम्म यस्ता प्राविधिक नियुक्त गरिनेछ। ती प्राविधिकले महानगरभित्रका खानाको स्तर परीक्षण गर्नेछन।

त्यस्तै महानगरले टेकुमा रहेका फोहोर पनि सीघ्र व्यवस्थापन गर्ने, डेङगु नियन्त्रणमा टोली परिचालन गर्ने, भाडामा सवारी लिने, प्रत्येक वडामा इन्जिनियर राख्ने सफाइ कर्मचारी थप्ने लगायतका निर्णय गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।  

प्रकाशित: १३ भाद्र २०७९ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App