१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

‘भक्तपुरको अर्काे परिचय भ्रष्टाचारमुक्त नगर’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको एउटा परिचय भ्रष्टाचारमुक्त नगरपालिका हुने बताएका छन्।

भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले काम गरेको एक सय दिन पुगेको अवसरमा गरेको कार्यक्रममा यसलाई बचाइराख्नु सबैको कर्तव्य भएको बताए। नगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिकाको रुपमा कायम राख्न जनप्रतिनिधि र कर्मचारीहरुले प्रतिबद्ध भएर काम गर्नुपर्ने उनले बताए।

उनले समय सापेक्षित ढंगले कर्मचारीहरुलाई तालिम र प्रशिक्षणहरुको आवश्यकता रहेको औंल्याए। नगरका पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न क्षेत्र र पेशाका नगरबासीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुले आफ्नो एक सय दिनको कार्य प्रगति र उपलब्धीहरुबारे चर्चा गरेका थिए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले एक सय दिनमा गरेका गतिविधिहरुबारे जानकारी दिँदै भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा नगरपालिकासँगै यहाँका जनताको निरन्तर साथ र सहयोगको आवश्यकता औंल्याए।

ख्वप अस्पताल १०० शैय्या स्तरोन्नति, ख्वप विश्वविद्यालय सञ्चालनको निम्ति प्रयास, दैनिक संकलन भएका कुहिने फोहरबाट सीएनबिएम प्रविधिबाट कम्पोष्ट मल बनाइ बिक्री वितरण, विभिन्न वैकल्पिक स्रोतहरुमार्फत् केयुकेएलसँगको समन्वयमा भक्तपुरमा खानेपानी वितरण, पर्यटन क्षेत्रमा गत वर्षको तुलनामा उल्लेख्य सुधार, अनलाइनमार्फत कर भुक्तानी प्रक्रिया सुरु गर्ने योजना, हनुमानघाटमा सुधारिएको शवदाह गृह सञ्चालन, ख्वप टेलिभिजन सञ्चालनको तयारी आदि सय दिनको उपलव्धी भएको उनको भनाइ थियो।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशीले संघ, प्रदेश र स्थानीय तहको व्यवस्था भएपछि भक्तपुर नगरपालिकाले स्थानीय तहको रुपमा विभिन्न कानुन, नीति र नियमावलीहरुको व्यवस्था गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताइन्।

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले निर्वाचनमा हुने आर्थिक चलखेलबाट जनता सचेत हुनुपर्ने बताउँदै भक्तपुरको विकासको मोडल देशका अन्य स्थानीय तहहरुले पनि साथ र सहयोगको अपेक्षा गरेको बताए।

यस्तै भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले भक्तपुर क्यान्सर अस्पताल क्यान्सरका सम्पूर्ण उपचार उपलब्ध भएको देशकै व्यवस्थित सरकारी अस्पताल भएको बताए। वडावडामा पाठेघर शिविर गरी भक्तपुरका महिलाहरुलाई क्यान्सरबारे सचेत बनाउन भक्तपुर नपाले विशेष पहल गर्नुपर्नेमा डा. पौडलले नगर प्रमुख प्रजापतिको ध्यानाकर्षण गराए।

इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर नपाको हरेक काममा भक्तपुरबासी जनताको साथ र सहयोग रहेकै कारण भक्तपुर नपाले सम्पूर्ण काम सहजताका साथ सफलतापूर्वक सम्पन्न गर्न सकेको बताए। भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सय दिनकै अवसरमा भक्तपुर नपा वडा नं. ५ स्थित भिमसेन सत्तल निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेँका माहिला छोरा प्रयागमान बिजुक्छेँमार्फत नगर प्रमुख प्रजापतिलाई भीमसेन सत्तल हस्तान्तरण गरे।

प्रकाशित: ११ भाद्र २०७९ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App