१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्व प्रदेश प्रमुखलाई वडाध्यक्षको चिठी

मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजलाई काठमाडौं महानगरपालिका १० नम्बर वडाध्यक्ष रामकुमार केसीले १५ दिनभित्र जवाफ पठाउन भन्दै चिठी पठाएका छन्। त्यो पनि सार्वजनिक जग्गा मिचेको विषयमा यथार्थ बुभ्mन भन्दै चिठी पठाएका हुन्।

कामनपा १० अन्तर्गत देवीनगरस्थित धोबीखोला करिडोरको सिट नम्बर १०२–११४६–०२ को कित्ता नम्बर ४३१, ४३२, ७३८ र ७३९ को सरकारी सार्वजनिक जग्गा अतिक्रमण गरी घर–टहरा, कम्पाउन्डसमेत निर्माण गरेको भनी उजुरी आएको भन्दै सोही विषयमा बुझ्न पत्राचार गरेको वडाध्यक्ष केसीले जनाएका छन्।

‘काठमाडौं महानगरपालिका १० देवीनगरस्थित सिट नम्बर १०२–११४६–०२ को कित्ता नम्बर ४३१, ४३२, ७३८ र ७३९ को सरकारी÷सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा र कम्पाउन्डसमेत निर्माण गरेको भन्ने उजुरी परी यथार्थ विवरण पेस गर्न पत्राचार भएकाले उल्लिखित कित्ता नम्बरका जग्गा सरकारी÷सार्वजनिक हो÷होइन, साथै तपाईंले अतिक्रमण गरी घर, टहरा र कम्पाउन्ड निर्माण गर्नुभएको छ÷छैन ?’ चिठीमा भनिएको छ, ‘सो सम्बन्धमा बुझ्नुपर्ने भएकाले तपाईंसँग जग्गासम्बन्धी भएका प्रमाणसहित १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन अनुरोध गर्दछु। त्यस उप्रान्त कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेसमेत जानकारी गर्दछु।’ यही भदौ ७ को मितिमा पठाइएको उक्त चिठीमा वडाध्यक्ष केसी आफैंले हस्ताक्षर गरेका छन्। स्रोतका अनुसार कामनपा १० देवीनगरस्थित धोबी खोला कोरिडोर बाहिर कित्ता नम्बर ४३२ रहेको जग्गामा अहिराजले घर बनाएका छन्। ४३२ कित्तासँग ७३८ कित्ता नम्बरको जग्गा जोडिएको छ। जग्गा नापी फिल्डबुकमा ७३८ नम्बर कित्तामा साबिक धोबीखोला उल्लेख भएको नापी स्रोतको भनाइ छ। यस विषयमा जिज्ञासा राख्दा १० नम्बर वडा कार्यालयबाट आफूलाई चिठी आएको अहिराजले स्विकारे। उनले भने, ‘शान्तिमाया लामा, सीता लामा तथा सुनिता कुमारीको स्वामित्वमा रहेको उक्त जग्गा २०६९ मंसिर १३ गते खरिद गरेको हुँ। उहाँहरूले पनि अरू व्यक्तिबाट जग्गा खरिद गर्नुभएको रहेछ।’

उक्त जग्गामा घर बनाउँदा नगरपालिकाका कर्मचारी फिल्डमै आएर निरीक्षण गरेको तथा नगरपालिकाबाट नक्सा पास तथा चार किल्ला पाससमेत भएको अहिराजले बताए। ‘मसँग बकाइदासाथ लालपुर्जा तथा पोत बुझाएको प्रमाण छ। हालसाबिक गरेको प्रमाण पनि छ। यी सबै कागज बोकेर तोकिएको समयभित्र वडा कार्यालयमा जाने छु’, उनले भने। वडा कार्यालयबाट यसरी जग्गा विषयमा अद्यावधिक राख्न र यथार्थ अवस्था बुझ्न खोज्नु राम्रो काम भएको उनको भनाइ छ। उनले भने, ‘जग्गा कसको हो भनी बुझ्न खोज्नु राम्रो हो।’ आफूले सरकारी तथा सार्वजनिक जग्गा नमिचेको उनको भनाइ छ।

वडाध्यक्ष केसीले सार्वजनिक जग्गा मिचेको विषयमा बुझ्न पूर्व प्रदेश प्रमुखलाई मात्र चिठी पठाएका छैनन्, अरू ६ जनालाई समेत यस्तै व्यहोराको चिठी पठाएका छन्। उनले कामनपा १० देवीनगरस्थित हेमराज घिसिङलाई पनि यस्तै व्यहोरा लेखेर चिठी पठाएका छन्। सिट नम्बर १०२–११०६–२२ को र कित्ता नम्बर ६६ र १०७ नम्बरको सरकारी जग्गा अतिक्रमण गरी घर–टहरा तथा कम्पाउन्ड निर्माण गरेको हो भन्ने उजुरी परेकाले सोही विषयमा बुझ्न भन्दै वडाध्यक्ष केसीले १५ दिनभित्र प्रमाणसहित कार्यालयमा उपस्थिति हुन अनुरोध गरेका छन्। यसैगरी वडाध्यक्ष केसीले कामनपा १० देवीनगरस्थित इन्द्रबहादुर चाम्लिङ, कामनपा १० देवीनगरस्थित क्षमारानी राई, कामनपा १० देवीनगरस्थित युवराज प्रसाई, कामनपा १० देवीनगरस्थित अष्टनारायण महर्जन, कामनपा १० देवीनगरस्थित इन्द्र चामलिङसहितलाई यस्तै व्यहोराको चिठी पठाएका छन्। सरकारी तथा सार्वजनिक जग्गा मिचेर घर, टहरा तथा कम्पाउन्ड बनाई अतिक्रमण गर्ने प्रवत्ति रोक्न तथा अतिक्रमित जग्गा खाली गर्न अभियान सुरु गरिएको १० नम्बर वडा कार्यालयले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७९ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App