१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली गुटले नागरिकता विधेयक विरोध गर्नु राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न खोज्नु होः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रघाती नभएको बताएका छन्।  

बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले विधेयकको गलत तरिकाले प्रचार गरिएको दाबी गरे। उनले भने ‘आमा बुबा नेपालको नागरिक भएको छोरा छोरीले नागरिकता पाउने नै अहिलेको विधेयकको सार तत्व हो।’ नागरिकता नपाउँदा ६, ७ लाख मान्छे विभिन्न अवसरबाट वञ्चित भएको दाहालको भनाइ छ।

विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक अरु केही नहुने बताए। दाहालले नेकपा (एमाले)  अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पालामा नागरिकता विधेयक अध्यादेशको रुपमा संसदमा ल्याएको दाबी गरे। ‘नागरिकता विधेयक ओलीकै पालामा संसदमा लगिएको र अहिले लैजादा ओली गुटले विरोध गर्नु  भनेको राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न खोज्नु मात्र भएको दाहालको भनाइ छ।

यस्तै अध्यक्ष दाहालले चितवनको माडीमा पुगेर हुलाकी सडक अन्तर्गतको रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पूरा नभएको बताएका छन्। उनले विकासको सपना देखेर एमालेसँग पार्टी एकता गरेको र ओलीलाई आफ्नै प्रस्तावमा मन्त्री बनाएको बताए।

‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ। केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ। त्यो सपना चकनाचुर भयो।’ उनले माडीमा आएर केपी ओलीले मणि बनाउँछु भनेपनि विकास निर्माणमा अवरोध सिर्जना गरिरहेको दाबी समेत गरे।

उनले सोचेजस्तो माडीको विकास नभएपनि विकासले गति लिएको दाबी गरे। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा माडीले फड्को मारेको बताए। दुई मन्त्रीसहित माडी पुगेका दाहालले एक पटक माडीबासीलाई साथ दिन समेत उनले अनुरोध गरे।

‘माडी बासीले मौका दिनु भयो भने बाँकी रहेका कामलाई अर्को दिनमा अझतिब्रताका साथ अलिकति गुणात्मक प्रतिफल आउने गरी काम गर्ने मेरो सपना मरेको छैन,’ उनले भने,  ‘म तपाईंहरु सँगै बसेर विकास मोडल खडा होस भन्ने चाहन्छु।’ उनले विकास निर्माणमा एकताबद्ध भएर अगाडि बढ्ने बताए। उनले माडीमा देखिएको सुकुम्बासीको समस्या समाधान गर्ने गरि छिट्टै काम गर्ने उनले प्रतिबद्धता जनाए।

यस्तै वन तथा वातावरण मन्त्री प्रदिप यादवले माडी नगरपालिका अन्तगर्त पर्ने रोकिएको हुलाकी सडक विस्तारको कामलाई तुरुन्त अगाडि बढ्ने बताएका छन्। कार्यक्रममा बोल्दै मन्त्री यादवले देवेन्द्रपुलदेखि बबईसम्मको साढे सात किलोमिटरको सडक विस्तारको काम एक साता भित्रै सुचारु गर्न हुलाकी सडकलाई निर्देशन दिएका छन्।

यहाँ ईआईए नगरी सडक विस्तारको काम अगाडि बढेको थियो। सर्वोच्च अदालतमा रिट परेपछि काम स्थगित भएको थियो। एक साताभित्र इआईएको प्रकृया सक्ने प्रतिबद्धता जनाउँदै उनले काम गर्न अनुरोध गरेका हुन्। उनले माडीमा हुने विद्युतको समस्यालाई पनि तुरुन्तै समाधान गर्ने बताए।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्द इश्यिाक राईले चितवनमा विकासले फड्को मारेको बताए। उनले आफू नै सहरी विकास मन्त्री हुँदा धेरै पूर्वाधारहरुको शिल्यान्स भएको दाबी गर्दै अहिले सम्पन्नको चरणमा रहेको दाबी गरे। उनले नारायणी नदीमा नयाँ बन्ने पुलको शिल्यान्स समेत छिट्टै हुने बताए।

यसैबीच चुनाव घोषणापछि पहिलोपटक माडी पुगेका प्रचण्डले करिब ३० करोडमा बन्न लागेका सडक तथा तटबन्धनको शिल्यान्स गरेका छन्। रणनीतिक सडक अन्तरगतको बरुवा बजारदेखि गंगटेसम्मको सडकको शिल्यान्स गरेका छन्। यो सडक बरुवा बजार हुँदै भैरवपुर, सिद्रेनी, सहिदपुर, गंगटेसम्मको १२ किलोमिटर सडक कालोपत्रे हुनेछ।

यस सडक निर्माणका लागि १९ करोड ९८ लाख ५१ हजार रुपैयाँमा ठेक्का लागिसकेको सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर विजय दराईले जानकारी दिए। अबको एक वर्ष भित्रसक्ने गरि शिवशक्ति शिभम्ले ठेक्का पाएको छ। यस सडकको चौँडाई साढे ५ मिटर हुनेछ।

यस्तै हुलाकी सडक अन्तरगतको बनकट्टामा सडक स्तरउन्नतीका लागि पाँच करोड विनियोजन भएको छ। त्यसको पनि दाहालले आज शिलान्यास गरेका छन्। कल्बडसहित नाला बनाउने योजनासहित बजेट विनियोजन भएको हो। यसको ४१६ मिटर लम्बाइ रहेको छ। यस्तै दाहालले माडीका छ वटा खोलामा बन्न लागेको तटबन्धनको शिलान्यास पनि गरेका छन्।

जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तगर्त पर्ने योजनाको शिलान्यास दाहालले माडीको टम्टा खोलामा गरेका थिए। माडीमा ६ करोड ५० लाख ४ हजार रुपैँयाको लगानीमा ६ वटा खोलामा तटबन्धन बन्दै छ। असोजबाट काम सुरु गर्ने गरी ठेक्का सम्झौता भैसकेको नारायणी नदी व्यवस्थापन आयोजनाका इञ्जिनियर शंकर बुढाथोकीले जानकारी दिए।

उनका अनुसार माडीका बगई, टम्टा, परुई, मगुई, रिऊ, र चितई खोलामा तटबन्धन हुनेछ। दाहालले रतनी खोलामा बनेको पुलको उद्घाटन समेत गरेका छन्। ६ करोड ६८ लाख ४ हजार रुपैँयामा लागतमा असार ३२ गते सम्पन्न भएको पुलको आज उद्घाटन गरिएको हो। २०७६ भदौ २७ गतेदेखि निर्माण थालिएको पुलको क्षेत्रफल २१ दशमलव २० मिटर रहेको छ।

प्रकाशित: ८ भाद्र २०७९ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App