१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा (बहुमत) द्वारा १५ दिने जागरण अभियान

 नेपाल कम्युनिस्ट पार्टी बहुमत (नेकपा बहुमत) ले बिहीबारदेखि १५ दिने जनजागरण अभियान सुरु गरेको छ।

वाग्मती ब्युरोको आयोजनामा सुरु भएको सोे अभियानको केन्द्रीय कार्यालय सदस्य दीपक चलाउनेले उद्घाटन गरेका हुन्। उनी सरकारसँग वार्ताका लागि पार्टीबाट बनाइएको टोलीका सदस्य पनि हुन्।  

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा विभाजित भएपछि नेकपा (बहुमत) गठन भएको थियो। आगामी फागुनमा महाधिवेशन गर्न नेता धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको नेकपा (बहुमत) ले वर्तमान संसदीय व्यवस्थाविरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएको छ।

सोही क्रममा पार्टीले १५ दिने अभियान सुरु गरेको अखिल क्रान्तिकारी काठमाडौं जिल्ला सदस्य तथा केन्द्रीय सदस्य मिमबहादुर ऐडीले जानकारी दिए। काठमाडौंको माछापोखरीबाट सुरु भएकोे अभियान नयाँ गोंगबुको बिजी मलनजिक पुगेर समापन भएको थियो। पहिलो दिन पार्टीका नेता तथा कार्यकर्ताले मिटरब्याजीलाई तुरुन्त कारबाही गर, प्रत्यक्ष निर्वाचित न्यायपालिकाको व्यवस्था गर, राष्ट्रिय स्वाधीन संयुक्त सरकार गठन गरलगायत लेखिएका ब्यानर बोेकेका थिए।

सो पार्टीले स्वास्थ्य, शिक्षा र रोेजगार सुनिश्चित गर्नुपर्ने, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि सरकारले सहमति गर्नुपर्ने, सार्वजनिक सम्पत्तिको दुरूपयोग तथा निजीकरण रोक्नुपर्नेलगायत माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ।

काठमाडौंको फोहोर व्यवस्थापनमा राजनीति भएको र जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारमाथि कुठाराघात भएको भन्दै सो पार्टीले आपत्ति जनाएको छ।

जनताले अहिलेको संसदीय व्यवस्थाको विकल्प खोजिरहेका र हर्क साङपाङ, बालेन साहजस्ता व्यक्ति सत्तामा आए पनि वर्तमान व्यवस्थामा सुधार नआएसम्म कुनै पनि समस्याको समाधान हुन नसक्ने ठहर पार्टीले गरेको छ।

अभियानमा पार्टीका विभिन्न भ्रातृ संगठन, काठमाडौं जिल्ला इन्चार्ज, ललितपुर जिल्ला इन्चार्जलगायतको उपस्थिति थियो।

प्रकाशित: ३ भाद्र २०७९ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App