१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले आज पदाधिकारी टुंग्याउने

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारीको आज (बिहीबार) बिहान टुंगो लगाउने भएको छ। पार्टीका बुधबार बसेको स्थायी समिति बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए।  

बुधबार बसेको बैठकमा केन्द्रीय समितिमा थप्नुपर्ने, पोलिटब्यूरोमा थप्नुपर्ने र स्थायी समितिमा थप्नुपर्ने सदस्य तथा पदाधीकारी टुंग्याउने विषयमा विस्तृत छलफल गरेको महराले बताए। ‘केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिमा थप्नुपर्ने सदस्यहरूको टुंगो लगाउने र पदाधिकारी चयन गर्ने कुरा करिब टुंगोमा पुगेको छ। विहीबार बिहान आठ बजे बस्ने यसको अन्तिम टुंगो लगाउने छ,’ प्रवक्ता महराले भने।  

पार्टीको आठौँ महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारीको टुंगो लगाउन नसकेको माओवादी केन्द्रले गत असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमार्फत पदाधिकारी टुंग्याउने जनाएको थियो। पदाधिकारी चयन गर्ने समयमा महासचिवका दाबेदार समेत ठानिएका अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत रूपमा विचौलिया प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि उनीमाथि बिचौलिया प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि उनीमाथि संसदीय छानबिन सुरु भएकाले तत्काल पदाधिकारीको टुंगो लगाउने निर्णय टरेको थियो। महासचिवका दाबेदारमध्य शर्मा छानबिनपछि पुनः अर्थमन्त्रीको जिम्मेवारीमा फर्किएका कारण महासचिवका अर्का दाबेदार पुनको सम्भावना बढेको नेताहरू बताउँछन्।  

असार तेस्रो साता बसेको पार्टीको बैठकले ४१ जना स्थायी समिति सदस्य बनाउने निर्णय गर्दै ३२ जनाको टुंगो लगाएको थियो। त्यस्तै पोलिटब्युरोमा पनि सबैजनालाई रिझाउने सदस्य चयन गरिएको थियो। सुरुमा एक सय २५ सदस्यीय पोलिटब्युरो बनाउने भनिएपनि पछि ३१ सदस्यीय वैकल्पिक पोलिटब्यूरो थप गरिएको थियो। उक्त बैठकबाट अध्यक्ष दाहालले आफ्ना छोरी ज्वाइँलाई केन्द्रीय सदस्य बनाएको भन्दै चर्काे आलोचना समेत भएको थियो।  

गत पुसमा सम्पन्न पार्टीको आठौं महाधिवेशनबाट अध्यक्ष दाहाल सर्वसम्मत अध्यक्षमा चयन भए पनि बाँकी पदाधिकारीको टुंगो लगाउने भनिए पनि महासचिवका दाबेदारमध्येका एक पुन उपचारका क्रममा चीनमा भएकाले तत्काल पदाधिकारी चयनको प्रक्रिया अघि बढ्न सकेको थिएन। पछि अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनपछि मात्र पदाधिकारीको टुंगो लगाउने भनेपनि उनको प्रतिबद्धता अनुसार पदाधिकारी चयन हुन सकेको थिएन।

पार्टीको पदाधिकारी चयनमा अध्यक्ष पछिको शक्तिशाली मानिने महासचिवमा दाबेदार धेरै हुँदा र सहमति नजुट्दा पदाधिकारी चयनको प्रक्रिया लम्बिएको हो। पार्टीको महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, देव गुरुङ र हरिवोल गजुरेललगायतका नेताहरूले दाबी गर्दै आएका छन्। पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरामा सहमति जुटिसकेको माओवादी नेताहरूले बताएका छन्।

प्रकाशित: २ भाद्र २०७९ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App