१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महाभियोग समितिको बैठक बोलाइयो

फाइल तस्बिर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि महाभियोग सिफारिस समितिमा बुधबारदेखि छलफल सुरु हुने भएको छ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजेका लागि बोलाइएको छ। महाभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले बुधबारको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका अजेन्डामा छलफल हुने बताए। उनले बुधबारदेखि तीन महिनासम्मको कार्यवधि सुरु हुने बताए।  

महाभियोग सिफारिस समितिको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्यबाट गरिने भएकाले कांग्रेसका रामबहादुर विष्टलाई बैठकको अध्यक्षता गर्ने जिम्मा दिइकोछ। समितिको पहिलो बैठक बसेको ७ दिनभित्र महाभियोग लागेका प्रधानन्याधीश जबराविरुद्ध सफाइ प्रस्तुत गर्न बोलाउनुपर्ने व्यवस्था छ।जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते ९८ सांसदको हस्ताक्षर सहित प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए। महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका छन्। प्रधानन्यायाधीश जबरामाथि सर्वोच्च अदालत र न्यायालयभित्रै अतिशय विकृति-विसंगति तथा भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाइएको छ।  

गत साउन २२ गतेको प्रतिनिधिसभा बैठकले जबराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो। महाभियोग सिफारिस समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल गरी चार सदस्य छन्। कांग्रेसबाट मीनबहादुर विक र रामबहादुर विष्ट सदस्य छन्। माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा सदस्य छन्। एकीकृत समाजवादीकी कल्याणी खड्का, लोकतान्त्रिक समाजवादीका एकवाल मियाँ र जनता समाजवादीका प्रमोद साह सदस्य छन्।

प्रकाशित: १ भाद्र २०७९ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App