८ वैशाख २०८१ शनिबार
राजनीति

बाबुरामले जित्दै आएको गोरखा २ मा कांग्रेसले नछोड्ने

पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे लगायत।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखा क्षेत्र नम्बर २ मा आफ्नो दावी स्वभाविक रहेको बताएका छन्। 

२०७०, २०७४ को निर्वाचनमा संसदीय समितिले टिकटका लागि निर्णयगर्दापनि आफूले छाड्नुपरेको प्रशंग जोड्नेउनले भने ‘यो पटक मेरो दावी स्वभाविक हो, पार्टीले निर्णय गर्न बाँकी छ।’ नेपाल समाजवादीपार्टीका अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको क्षेत्र भएकाले चर्चामा रहेको गोरखा २ का बारेमा गठबन्धन भित्रको ठूलो दल कांग्रेसका केन्द्रीय सदस्य पाण्डेले यस्तो बताएका हुन्।  

नेपाल प्रेस युनियन गोरखाले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले गठबन्धन हुँदापनि कांग्रेसले गोरखा २ दावी गर्ने बताए। ‘२०७४ को निर्वाचनमा कांग्रेसको मतले बाबुराम भट्टराईले चुनाव जित्नुभयो, त्यसपछि उहाँको अभिब्यक्ति र व्यवहारले कांग्रेस कार्यकर्ता, सुभेच्छुक, मतदाता असन्तुष्ट छन्’ उनले भने। रुख चिन्न बाहेक अन्यमा मतदान नगर्ने कार्यकर्ताको दबाव रहेकाले यस पटक गोरखा २ कांग्रेसले लिनुपर्ने उनले बताए।  

गठबन्धनमा रहेका दुई दल कांग्रेस र माओवादीबिच गोरखामा बराबर सिट बाँडफाँड हुने उनको दावी छ। ‘यहाँको मतान्तर हेर्न हो भने कांग्रेस र माओवादी उस्तै छ’ उनले भने ‘गठबन्धनका अन्य दलको कमजोर उपस्थिती भएकाले यहाँ दुई पार्टीबीच बरावर क्षेत्र बाँडफाँड हुन्छ।’ जिल्ला र केन्द्र स्तरका नेताहरुसँग पनि यसै अनुसार छलफल भईरहेको उनले बताए।  

गोरखामा दुईवटा संघिय निर्वाचन क्षेत्र र चारवटा प्रदेश क्षेत्र छ। गोरखा क्षेत्र नम्बर २ कांग्रेसले लिने र १ माओवादीलाई दिने गरी सहमती हुन सक्ने उनले बताए । ‘फेरी कांग्रेस बाहेकलाई गठबन्धनबाट टिकट दिँदा त्यहाँका कार्यकर्ताले बिद्रोह गर्न सक्छन्, हामीले अपेक्षा गरे अनुसार परिणाम नआउने खतरा पनि हुन सक्छ’ केन्द्रिय सदस्य पाण्डेले भने।  

दुई क्षेत्रमा एक÷एक वटा लिएर र प्रदेश पनि बरावरी बाँडेर कांग्रेस माओवादी गठबन्धन सहित जाँदा चुनाव जित्ने दावी उनको छ।

गठबन्धन दलले उम्मेदवार चयन गर्दा भने एक अर्को पार्टीका कार्यकर्ताले भोट हाल्ने खालका चयन गर्नुपर्नेमा उनले जोड दिए। राष्ट्रिय राजनीतिको आवस्यकता अनुसार गठबन्धन दलहरुले आफ्ना उम्मेदवारलाई बिजयी गराउन नसकेको खण्डमा गठबन्धनको औचित्य नहुने केन्द्रिय सदस्य पाण्डेले बताए।  

पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रिय सदस्य अब्दुल सतारले गठबन्धनको निर्णय अनुसार अघि बढ्ने बताउँदै भने ‘गठबन्धन हुँदा गोरखा क्षेत्र नम्बर २ यो पटक कांग्रेसले नै पाउनुपर्छ।’ साथै उनले उम्मेदवार बन्ने चाहना र दावी स्वभाविक भएको बताए । ‘पार्टीको निर्णय मानेर अघि बढ्छौँ’ उनले भने।  

कांग्रेस केन्द्रले भदौ २ गतेबाट देशभर कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ। चुनाव केन्द्रित कार्यक्रम सुरु गरिसकेको गोरखा कांग्रेसले अग्रजहरुसँग अन्तरक्रिया, वडादेखि पालिका र जिल्लास्तरमा रहेकाहरुसँग छलफल सुरु गरिसकेको जनाएको छ। उनी यीनै कार्यक्रममा सहभागी हुन गोरखा आएका हुन्।

प्रकाशित: २६ श्रावण २०७९ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App