coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिदेखि सभामुखसम्मका पद पनि बाँड्न प्रस्ताव

फाइल तस्बिर

सत्तारुढ पाँचदलीय गठबन्धनभित्र संघीय संसद्को निर्वाचनपछि राष्ट्रपतिदेखि सभामुखसम्मका तहगत पद बाँडफाँट गरेर जानुपर्ने प्रस्ताव अघि सारिएको छ। नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले संघीय संसद् र प्रदेशसभाको सिट मात्र नभई निर्वाचनपछि गठन हुने सरकार, राष्ट्रपति, संघीय संसद्को सभामुखलगायतका पद अहिले नै बाँडफाँट गरेर जानुपर्ने प्रस्ताव अघि सारेको हो। नेकपा एसका सम्मानित नेता झलनाथ खनालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो प्रस्ताव गरेका हुन्।  

नेता खनालले २०७४ सालको निर्वाचन र गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत र परिणामका आधारमा सिट बाँडफाँट गरी अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन्। ‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिट वितरण प्रमुख विषय हो तर त्यसपछि हुने सरकार गठन, राष्ट्रपति निर्वाचन, सभामुख चयनजस्ता प्रमुख विषयलाई पनि अहिले नै टुंग्याएर जानुपर्छ’, खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो। माओवादी केन्द्रले यस्तो प्रस्ताव राख्नुअगावै खनालले प्रधानमन्त्रीलाई भेटेर प्रस्ताव गरेका हुन्।  

स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र मिलेर नेकपा एसलाई अपेक्षित सहयोग नगरेको बताउँदै आएका नेता खनालले स्पष्ट रूपमा निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनुपर्ने र त्यसमा निर्वाचनपछिका प्रमुख पद पनि बाँडफाँट हुनुपर्ने प्रस्ताव गरेका छन्। खासगरी माओवादीले राष्ट्रपति र सभामुख ताकेर सरकार नेतृत्व आधा–आधा कार्यकाल गर्नुपर्ने भन्दै प्रधानमन्त्रीमा समेत बार्गेनिङ गरेका बेला खनालले राखेको यस्तो प्रस्तावबाट नेकपा एसले पनि राष्ट्रपतिको दाबी गर्न खोजेको देखिन्छ। खनाल स्वयं यसअघि राष्ट्रपतिको आकांक्षी थिए।  

सत्ता गठबन्धन दलले निर्वाचनमा सिट बाँडफाँटको ढाँचा तय गर्न ११ सदस्यीय कार्यदल बनाएका छन्। जसमा कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला संयोजक छन्। कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, नेकपा एसबाट प्रमेश हमाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल र हिमलाल पुरी सदस्य छन्।  

नेकपा एसका महासचिव वेदुराम भुसालले कार्यदलको बैठकमा सिट बाँडफाँट मोडालिटीबारे सामान्य छलफल मात्रै भएको तर कस्तो मापदण्ड बनाउने भन्नेबारेमा छलफल नभएको बताए। ‘अहिले केही छलफल भएको छैन, कसले कहाँ र के प्रस्ताव राख्यो भन्नेले महत्व राख्दैन। कार्यदलले मापदण्ड निर्धारण गरेपछि मात्रै सिट बाँडफाँट हुन्छ’, भुसालले भने।  

नेकपा एसका सम्मानित नेता खनालले प्रधानमन्त्री देउवासँग सबै विषय प्याकेजमा टुंग्याउनेगरी मापदण्ड बनाएर चाँडोभन्दा चाँडो सिट बाँडफाँट गर्नुपर्ने बताएका थिए। ‘कार्यदलको बैठक भन्दै अन्य दललाई अल्मल्याउने मात्रै काम नहोस्, चाडै नै सिट बाँफाँट गर्ने र सिट बाँडफाँट गर्दा निर्वाचनपछि बन्ने सरकारलाई पनि ध्यान दिनुपर्छ’, खनाललाई उद्धृत गर्दै नेकपा एस सचिवालयका एक सदस्यले भने।  

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता खनाल दुवै नेता निकट केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले पार्टीले निर्वाचनमा सिट बाँडफाँट र निर्वाचनपछि बन्ने संरचनामा प्रतिनिधित्वका लागि प्याकेजमै सहमति गर्नुपर्छ भनेर प्रस्ताव राख्नु स्वाभाविक रहेको बताए। उनले निर्वाचनपछि लोकतान्त्रिक–वामगठबन्धनको नेतृत्वमा सरकार बने पनि वा कांग्रेससहितको अहिलेको गठबन्धनबाटै सरकार बने पनि राष्ट्रपतिमा खनालको दाबी लाग्ने बताए।  

‘कांग्रेसले कार्यकारी पद लिने भएकाले उसलाई राष्ट्रपति लिने हक लाग्दैन, माओवादी पनि सभामुख वा प्रधानमन्त्रीतिर लागेको छ, माधव नेपाल राष्ट्रपतिमा जान उपयुक्त हुने देखिँदैन। त्यसकारण अबको राष्ट्रपतिमा खनालको दाबी हुन्छ। यसअघि नवौं महाधिवेशनका बेला एमाले अध्यक्ष केपी ओलीले खनाललाई राष्ट्रपति बनाउँछु भनेका थिए। त्यतिबेला ओलीले सहमति उल्लंघन गरेका हुन्। अहिले देउवासँग यसबारे कुराकानी हुनु स्वाभाविक हो,’ श्रेष्ठले भने।  

अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जापान भ्रमण छन्। उनले आफू अझै एकपटक प्रधानमन्त्री हुने र देशका लागि केही गर्ने भन्दै आएका छन्। माओवादीले निर्वाचनमा सिट बाँडफाँट ६०/४० को अनुपातका आधारमा गर्नु उपयुक्त हुने बताउँदै आएको छ। तर कांग्रेसभित्र कम्तीमा ९९ सिट आफूलाई राखेर मात्रै गठबन्धन गर्नु उपयुक्त हुने बहस चलेको छ। कांग्रेस शीर्ष नेताहरूले पार्टी सभापति देउवालाई यस्तो सुझाव दिइसकेका छन्।  

नेकपा एसले गठबन्धन गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४० सिट दाबी गर्ने तयारी गरेको छ। ‘हाम्रो पार्टीका महासचिव वेदुराम भुसालले ४० सिटको सूची बनाउनु भएको छ। काठमाडौंबाट २ सिट, उदयपुर, धादिङ, मकवानपुर, रौतहट, डोटी, सिन्धुपाल्चोक, इलाम, धनुषा, बारा, कैलाली, अछाम, डोल्पालगायत जिल्लाबाट पार्टीले सिट पाउनुपर्छ’, स्रोतले भन्यो। स्रोतका अनुसार प्रचिनिधिसभा निर्वाचन सदस्यका लागि २५ सिटचाहिँ नछाड्ने गरी प्रस्तुत हुन भुसाललाई नेतृत्वले निर्देशन दिएको छ। २५ सिट भए पार्टी अध्यक्ष नेपाल, सम्मानित खनालसहित पदाधिकारीका लागि स्थान सुरक्षित हुने सोच नेकपा एसको छ।

प्रकाशित: २५ श्रावण २०७९ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App