१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

चिया निर्यात सहज बनाउन पहल गर्छु: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका इलाम र झापाका चिया व्यवसायी तथा सरोकारवाला।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली गुणस्तरीय चिया निर्यातका लागि भारतीय सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपाली चियामा गुणस्तर कायम गर्न किसान र उद्योगीलाई आग्रह गर्दै निर्यातमा सहजीकरणको काम सरकारले गर्ने आश्वासन दिए।

भारतले नेपाली तयारी चियाको निर्यात निरुत्साहित गर्नेगरी कानुन बनाउन लागेपछि त्रसित व्यवसायी र सरोकारवाला प्रधानमन्त्री देउवालाई भेट्न आज (मङ्गलबार) बालुवाटार पुगेका थिए। इलाम र झापाका व्यवसायी–सरोकारवालासँगको भेटमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले आज या भोलि नै भारतीय पक्षसँग दूतावासमार्फत् कुरा गरी नेपाली चिया निर्यात सहज बनाउन पहल गर्ने बताएको भेटमा सहभागी सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए।

‘नेपाली चियाको निर्यात रोक्ने होइन, अहिले भइरहेको सहुलियतलाई निरन्तरता दिनेगरी वातावरण मिलाउन भारतीय पक्षसँग समन्वय गर्ने प्रमले बताउनुभएको छ,’ प्रधानमन्त्रीको भनाइबारे मेयर राईले भने, ‘गुणस्तरीय नेपाली चियाको निर्यात सहज बनाउन भारतीय सरकारसँग कुरा गर्ने पनि उहाँको भनाइ रह्यो।’ प्रधानमन्त्री देउवाले नेपाली व्यवसायी र किसानलाई चियामा गुणस्तर कायम गर्न पनि आग्रह गरेका छन्। ‘सरकारले भारतीय सरकारसँग निर्यातबारे समन्वय गर्छ तर हामीले उत्पादन गर्ने चियामा गुणस्तर चाहिँ हुनुपर्छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘हाम्रो चिया गुणस्तरीय छ भनेमात्रै अरूसँग त्यसको बजारबारे कुरा गर्न सकिन्छ।’

मेयर राईसहित इलाम र झापाबाट काठमाडौं पुुगेका व्यवसायीले पूर्वप्रधानमन्त्री झलनाथ खनाल, अर्थमन्त्री जनार्दन शर्मालगायत सरोकारवालासँग पनि भेट गरेका छन्। भेटमा अर्थमन्त्री शर्माले निर्यात भइरहेका वस्तुमा पाइने सहुलियतको लाभ चिया किसानले पनि पाउनेगरी वातावरण बनाउने बताएका थिए। उनले चिया निर्यातमा देखिनसक्ने समस्या समाधानमा आफूले पनि पहल गर्ने बताएको मेयर राईले जानकारी दिए।  

नेपाली तयारी चिया आयातमा ४० प्रतिशतसम्म कर लगाउनेगरी भारतको लोकसभा र राज्यसभामा प्रस्ताव उठेको छ। नेपाली चियालाई कुनै न कुनै निहुँ बनाएर ३० सांसदले राज्यसभा र लोकसभा अध्यक्षलाई प्रतिवेदन बुुझाएपछि झस्किएका व्यवसायी र जनप्रतिनिधिले प्रधानमन्त्री देउवासहितलाई भेटेका हुन्। भारतीय व्यवसायीले नेपाली चिया गुणस्तरहीन भएको आरोप लगाइरहेका बेला त्यहाँका जनप्रतिनिधिले राज्यसभा र लोकसभामा त्यसबारे कुरा उठाएका हुन्।

प्रधानमन्त्रीसँगको भेटमा पूर्वप्रधानमन्त्री खनालसमेत सहभागी भए। चियाको राजधानीका रूपमा रहेको सूर्याेदय नगरपालिकाका मेयर राईसहित व्यवसायी उदय चापागाईं, चण्डी पराजुली र सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका प्रतिनिधिलगायतको टोली चिया निर्यातमा देखिनसक्ने समस्याबारे ध्यानाकर्षण गर्न काठमाडौं पुगेको हो। सरोकारवालाको टोलीले भारतीय सांसद्को प्रस्ताव पारित भए नेपाली चियालाई ठूलो चुनौती हुने प्रधानमन्त्री देउवालाई जानकारी गराएको छ।

भारतीय राज्यसभा र लोकसभामा उठेको प्रस्ताव पारित भए ६० हजार नेपाली चिया किसानको व्यवसाय धराप हुने व्यवसायीको गुनासो छ। ‘नेपाली चियामा बारम्बार देखिनेगरेको समस्याको तत्कालीन र दीर्घकालीन समाधान खोज्नुपर्छ,’ मेयर राईले भने, ‘यो समाधान स्थानीय सरकारबाटमात्र सम्भव छैन, प्रदेश र संघीय सरकारको पनि समन्वय हुनुपर्छ।’  

इलाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री खनालले केही समयअघि नेपाली चियाको समस्याबारे प्रतिनिधिसभामा धारणा राखेका थिए। उनले चियाको समस्या समाधानमा सरकारको ध्यानाकर्षण गरेका थिए।

सूर्याेदय नगरपालिकाले पनि २०७५ सालमै चियासम्बन्धी कार्यविधि तयार गरी लागु गरेको छ। तर, चियाको गुणस्तर कायम गर्नेबारे बेला–बेला समन्वय अभाव हुँदा कार्यविधिको कार्यान्वयन कमजोर बनेपछि नगरले पुनः अध्ययन गरी चियासम्बन्धी योजना बनाउन लागेको छ। ‘नेपाली चियामा कुनै न कुनै रूपमा सधैं देखापर्ने समस्याको दिगो समाधान खोज्न सरकारले पहल गर्नुपर्छ,’ व्यवसायी उदय चापागाईंले भने, ‘गुणस्तरीय चिया उत्पादनमा किसानदेखि व्यवसायीसम्मलाई सहुलियत दिएर सरकारले निर्यातमा सहजीकरण गर्दामात्रै अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले आफ्नो कब्जा जमाउन सक्छ।’   

पूर्वप्रधानमन्त्री झलनाथ खनालसँगको भेटमा इलाम र झापाका चिया व्यवसायी तथा सरोकारवाला।

प्रकाशित: २४ श्रावण २०७९ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App