२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको कदर हुनुपर्छः सोमप्रसाद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले आगामी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको मूल्यांकन गरेर मात्रै आगामी निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाली काँग्रेसले स्थानीय तहमा आएको निर्वाचनको परिणाम अनुसार आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने भन्ने कुरा उल्लेख गरेको सञ्चारकर्मीको प्रश्नप्रति पार्टीले देउवालाई प्रधानमन्त्री बनाउँदा खेलेको भुमिकाको पनि कदर हुनुपर्ने बताएका हुन्।

उनले एकीकृत समाजवादीले सहयोग नगरेको खण्डमा देउवा प्रधानमन्त्री बन्न नसक्ने स्थिति रहेको भन्दै सबैलाई सबै क्षेत्रको भुमिकाको कदर गरेर सिट बाँडफाँट हुने बताए। उनले सिट बाँडफाँटका बारेमा सुरुमा धेरै वहस भएपनि निष्कर्ष सहजै निस्किने दाबी गरे। उनले अब पनि राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने र राष्ट्रिय सहमतिबाट नै यो मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने आवश्यक्ता रहेको बताए।

उनले भने, ‘राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने, राष्ट्रिय सहमतिबाट नै यो मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने अहिलेको आवश्यक्ता महशुस भएको छ। आगामी निर्वाचनको सवालमा सिट बाँडफाँट गर्ने कुरा हो, त्यसमा आफ्नो आफ्नो पार्टीको जोडबल त रहन्छ नै, जुन उद्देश्य र समयको आवश्यक्तालाई पूरा गर्ने गरेर गठबन्धन गरेका थियौँ, गठबन्धन भित्र रहेका दलमा आपसी समझदारी हुन्छ। सबैले आफ्नो अडान लिएर बस्ने खालको अवस्था पनि रहँदैन। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा माधव नेपालको पार्टीले गरेको सहयोगको पनि मूल्यांकन हुनुपर्छ। गठबन्धनलाई यहाँसम्म पुर्‍याउने कुराको पनि मूल्यांकन गरेर सिट बाँडफाँट हुनुपर्छ। गठबन्धनमा धेरै छलफल गर्छौं तर निस्कर्षमा सहजै पुग्छौँ।’

उनले देशमा राजनीतिक स्थिरताका साथै आर्थिक क्रान्ति ल्याउने हिसाबले पार्टी आगामी निर्वाचनमा होमिने बताए। 

प्रकाशित: २४ श्रावण २०७९ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App