११ आश्विन २०७९ मंगलबार
राजनीति

शीर्ष नेतालाई अन्तिम अवसर

‘लास्ट इनिङ’मा प्रधानमन्त्रीको चाहना

पछिल्लो डेढ दशकको नेपाली राजनीतिमा चतुर खेलाडीको पहिचान बनाएका नेता हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। शान्तिप्रक्रियामा आइसकेपछि उनले चालेका ‘दाउ’हरूले लगभग सबैजसो सरकार फेरबदलमा भूमिका खेलेका छन्। आफ्नो पार्टीको निर्णायक शक्ति समीकरणको प्रयोग गरेर उनले पटकपटक सरकार बनाएका छन्, भत्काएका छन्।

यिनै दाहालले गत साता एउटा कार्यक्रममा आगामी प्रतिनिधिसभा निर्वाचन आफ्ना लागि ‘अन्तिम इनिङ’ रहेको अभिव्यक्ति दिए। पार्टीकै एक कार्यक्रममा बोल्दै उनले यसपटकको निर्वाचनमा माओवादी केन्द्रलाई देशको ‘दोस्रो’ र कम्युनिस्टतर्फको ‘पहिलो’ पार्टी बनाउने दाबी गरे। त्यो अवस्था सुनिश्चित हुनेगरी गठबन्धनलाई अगाडि बढाउने योजना आफूले बनाएको पनि उनले सुनाए। निर्वाचनमा आफ्नो योजना सफल भए ‘देशको बागडोर माओवादी केन्द्रको हातमा आउने’ दाहालको प्रक्षेपण थियो। ‘देशको दोस्रो र कम्युनिस्टको पहिलो पार्टी भइसकेपछि निश्चय नै बागडोर हाम्रै हातमा आउँछ,’ उनले भनेका थिए।

यही मौकामा आफू ‘लास्ट इनिङ’ फेरि प्रधानमन्त्री बन्न चाहेको पनि अध्यक्ष दाहालले बताएका थिए। ‘यो निर्वाचन र अवसर मेरो लास्ट इनिङ होस्, पछिसम्मको सन्ततिलाई सम्झने गरी होस् भन्ने, देशलाई केही दिने होस् भन्ने मेरो सपना छ,’ उनले भनेका थिए। उनले दुईपटक प्रधानमन्त्री भएर सरकार हाँकिसकेका छन्। तर दुवैपटक प्रधानमन्त्री हुँदा चाहेजति काम गर्न नपाएको गुनासो गर्दै उनले ‘त्यसकारण नै आफू फेरि प्रधानमन्त्री बन्न चाहेको’ भन्ने गरेका छन्।

दाहालजस्तै ‘लास्ट इनिङ’ प्रधानमन्त्रीको चाहना राख्ने शीर्ष नेताहरूको सूची लामै छ। कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादी (नेकपा एस) अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र झलनाथ खनाललगायत यो सूचीमा पर्छन्। पौडेलका दौंतरी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पाँचपटक देशको प्रधानमन्त्री हुने सौभाग्य पाइसके। तर पौडेललाई प्रधानमन्त्री बन्न भाग्यले अहिलेसम्म साथ दिएको छैन। १७ पटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरे पनि उनी सफल भएनन्। पटकपटक मन्त्री, एकपटक सभामुख मात्र नभएर उपप्रधानमन्त्रीसमेत भइसकेका पौडेलको अन्तिम चाहना प्रधानमन्त्री बन्ने नै हो। बढ्दो उमेर, पार्टीभित्र एक्लिँदै गएको अवस्थाका कारण उनका लागि यसपटकको निर्वाचन अन्तिम अवसर हो।

कांग्रेसबाट प्रधानमन्त्री रहेका देउवा प्रधानमन्त्रीमै दोहोरिन चाहन्छन् भन्ने कुरा पनि लुकेको छैन। एमाले अध्यक्ष ओलीले देउवामाथि जनताबाट निर्वाचित नभई ‘जालझेल र तिकडमबाजी’बाट प्रधानमन्त्री बनेको भन्दै कटु आलोचना गर्ने गरेका छन्। ओली र आम मानिसमा रहेका यस्ता अनेक आरोपलाई यसपटकको निर्वाचनमार्फत जवाफ दिएर फेरि प्रधानमन्त्री हुने उनको इच्छा देउवाको रहेको उनका निकटस्थहरू बताउँछन्। उनका लागि यो अन्तिम अवसर सहज पनि देखिएको छ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र शशांक कोइराला, सभापतिमा दोस्रो भएका शेखर कोइराला, वर्तमान उपसभापति पूर्णबहादुर खड्का पनि प्रधानमन्त्रीका आकांक्षीमै पर्छन्। कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाजस्ता युवा नेताहरूको पार्टीभित्र र जनस्तरमा समेत बढ्दै गएको क्रेजका कारण उनको उमेर समूहका नेताहरूको भविष्य के हुन्छ भन्न सकिने अवस्था छैन। महामन्त्री थापाले त अहिल्यै आफूले प्रधानमन्त्रीका लागि प्रयास थाल्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। उनको अभिव्यक्तिपछि अर्का महामन्त्री शर्माले थापा प्रधानमन्त्रीका लागि अग्रसर भए आफूले समर्थन गर्ने बताएका छन्।  

२०७४ सालपछि झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली आफ्नै पार्टीभित्रको समस्याका कारण पूरा कार्यकाल अर्थात् पाँच वर्ष प्रधानमन्त्रीमा टिक्न सकेनन्। दुईपटकको संसद् विघटन असफल भएपछि सर्वोच्च अदालतले उनलाई प्रतिपक्षमा पुर्‍याइदियो। त्यसको आक्रोशले उनी अझै जलिरहेकै छन्। आफूलाई पाँच वर्ष प्रधानमन्त्री चलाउन नदिएको भन्दै फेरि जनताबाट चुनिएर स्थिर सरकार चलाउने दाबी उनले गर्ने गरेका छन्।  

दुईपटक प्रधानमन्त्री भइसकेका ओलीको उमेर अहिले ७० वर्ष पुगिसकेको छ। उनले दुईपटक मिर्गौला प्रत्यारोपण गराएका छन्। यसकारण उनका लागि पनि यो अवसर अन्तिम हुन सक्छ। एमालेभित्र प्रधानमन्त्रीको चाहना राख्ने उनको उमेर समूहका अन्य नेता बाँकी पनि छैनन्। भएका पनि पार्टी फुटाएर बाहिरिइसकेका छन्। तीमध्येका एक हुन्, वामदेव गौतम। गौतमको उमेर अहिले ७४ वर्ष पुगिसकेको छ। गौतमले २०७४ सालको निर्वाचनअघि एक टेलिभिजन कार्यक्रममा आफू प्रधानमन्त्रीको उम्मेदवार भएको बताएका थिए। पछिल्लो समय सोही अभिव्यक्ति दिएका कारण आफूले निर्वाचन हार्नुपरेको समीक्षा पनि उनले गरेका छन्। देशैभर वाम गठबन्धनको लहर चलेका बेला उनी बर्दिया–१ मा कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए।

आफ्नो उमेर समूहका, आफूसँगै संघर्ष गरेका सबैजसो नेता प्रधानमन्त्री भइसकेकाले अब प्रधानमन्त्री हुने पालो आफ्नो रहेको उनी बताउने गर्छन्। तर एमालेमा रहँदा उनले त्यो सौभाग्य पाएनन्। विभाजनपछि लामो समय नेकपा एकता अभियानका नाममा कुनै पार्टीसँग आबद्ध रहेनन्। अहिले उनले ‘नेकपा एकता अभियान’ नामक पार्टी दर्ता गरेका छन्। उमेर समूह, बदलिँदो परिस्थितिको जनमत सबै दृष्टिकोणबाट उनका लागि अबको निर्वाचनले सिर्जना गर्ने अवसर नै अन्तिम हो। तर पटकपटक मन्त्री, उपप्रधानमन्त्री बनेका गौतमका लागि प्रधानमन्त्री बन्ने समीकरण अहिलेको परिस्थितिमा सहज भने देखिन्न।  

यस्तै उमेरले ७० को नजिक पुग्न लागेका नेकपा एसका अध्यक्ष नेपालमा बढ्दो उमेरमा पनि पार्टीको संगठन बनाउने नै ध्याउन्न छ। झन्डै डेढ दशक आफैंले नेतृत्व गरेको एमाले विभाजन गरेर बनाएको पार्टीको संगठन बनाउन उनी संघर्षरत छन्। त्यो आखिर केका लागि ? प्रस्ट छ, उनमा अझै प्रधानमन्त्री हुने लालसा जीवित छ।  

एकपटक प्रधानमन्त्री भइसकेका नेपालको फेरि प्रधानमन्त्री हुने चाहनामा एमाले अध्यक्ष ओलीका कारण ग्रहण लागेको थियो। उनीसँगको पौंठेजोरीमा हार खाएका उनी बाटो मोडेर नयाँ गोरेटोमार्फत यात्रा गरिरहेका छन्। तर त्यसबाट उनको आकांक्षा सम्भव हुन्छ या हुन्न, त्यसको जवाफ आगामी निर्वाचनपछि बन्ने समीकरणले नै देखाउनेछ। अध्यक्ष नेपालकै जस्तो परिस्थिति उनकै पार्टी नेकपा एसका सम्मानित नेता खनालको पनि छ। खनाल उमेरले नेपालभन्दा अझै उकालो चढिसकेका छन्। उनको उमेर ७२ वर्ष भइसकेको छ। एकपल्ट प्रधानमन्त्री भएका उनको जोरजुलुम फेरि शक्ति आर्जनकै लागि हो भन्ने लुकेको छैन। उनका लागि पनि आगामी निर्वाचन अन्तिम अवसर नै बन्न सक्छ। पूर्ववर्ती प्रधानमन्त्री ओलीको विकल्पमा एकपटक जनता समाजवादी पार्टी (जसपा) का तत्कालीन अध्यक्ष महन्थ ठाकुरका नाममा पनि चर्चा भएको थियो। उनको भित्री चाहना नभएर त्यो चर्चा हुने कुरा नै थिएन।

कांग्रेसको राजनीतिबाट पछिल्लो समय मधेसवादी राजनीतिमा अवतरण भएका ठाकुर उमेरले ७९ पुगिसके। उतिबेलाको चर्चाले उनी फेरि पनि प्रधानमन्त्रीका लागि इच्छुक रहेको कुरातर्फ इंगित गर्छ। जसपामा अध्यक्ष उपेन्द्र यादव नै हाबी हुँदा ठाकुरको समूहले पार्टी फुटाएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाएको छ। त्यसका अध्यक्ष ठाकुर हुन्। ढल्कँदै गएको उमेरका कारण आगामी निर्वाचनपछिको संसदीय समीकरणभित्र उनका लागि पनि अन्तिम अवसर नै छ।

यस्तै परम्परागत कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबाट देशको आमूल विकास सम्भव नभएको भन्दै फरक अभ्यास थालेका पूर्वप्रधानमन्त्री भट्टराई अहिले पनि दल बनाउँदै हिँडेका छन्। अहिले जसपा फुटाएर नेपाल समाजवादी पार्टी बनाएका छन्। ६८ वर्षीय भट्टराईको यसरी पार्टी बनाउँदै हिँड्नुको मक्सद प्रधानमन्त्रीकै चाहना हो। तर बेलाबेला आफूहरू परीक्षण भइसकेको भन्दै अभिभावक बन्न तयार हुनुपर्ने पनि बताइरहन्छन्। तर उनीभित्रको प्रधानमन्त्रीको मोहकै कारण पार्टीको शक्तिकेन्द्रमा बसिरहने लोभ नहटेको देखिन्छ।

‘इच्छा राख्नु स्वाभाविक’

शीर्ष नेताहरूले प्रधानमन्त्री बन्ने इच्छा राख्नु स्वाभाविक रहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्। राजनीतिमा कुनै उमेर समूहको छेकबार नलाग्ने र लगाउन नहुने उनको तर्क छ। ‘राजनीतिमा लागेको र देशका लागि संघर्ष गरेको हरकोही व्यक्ति आफ्नो जीवनकालमा प्रधानमन्त्री वा कुनै पनि राजनीतिक पदको इच्छा राख्न स्वतन्त्र छ,’ उनी भन्छन्, ‘यसमा कुनै उमेरको छेकबार लाग्दैन÷लाग्नुहुँदैन।’

उनको जस्तै धारणा अधिवक्ता एवं प्राध्यापक डा. गान्धी पण्डितको पनि छ। उनी भन्छन्, ‘नेताले मात्र होइन, हरेक नागरिकले जुनसुकै उमेर समयमा पनि प्रधानमन्त्रीको आकांक्षा राख्न सक्छन्। त्यो नाजायज भन्ने हुँदैन।’ तर प्रधानमन्त्री हुने चाहना राखेका व्यक्तिहरूका अजेन्डा र उनका गतिविधिमा भने उनको केही विमति छ। त्यसका लागि राजनीतिमा केही शुद्धीकरण र सुधार जरुरी रहेको उनको तर्क छ। ‘प्रधानमन्त्रीको चाहना राख्नेहरूसँग न कुनै अजेन्डा छन् न योजना, खाली उमेर बढी भयो, एकपल्ट प्रधानमन्त्री हुन पाऊँ भनेर रोइलो गरेर हुँदैन,’ उनी भन्छन्। नेपालका राजनीतिक दलका उम्मेदवार छनोट प्रक्रियादेखि नै सुधार गर्नुपर्ने आवश्यकता रहेको पण्डितको भनाइ छ।

प्रकाशित: २४ श्रावण २०७९ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App