१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेविरुद्ध गठबन्धन बन्नु नै एमाले बलियो शक्ति भएको प्रमाण हो: सचिव भट्टराई

इलामको प्रशिक्षण कार्यक्रममा एमाले सचिव योगेश भट्टराई। तस्बिर: नागरिक

नेकपा (एमाले) सचिव योगेश भट्टराईले एमालेविरुद्ध सबै शक्ति एक हुन खोज्नुले नै यो पार्टी सबैभन्दा बलियो सावित गरेको बताएका छन्। उनले एक्लाएक्लै चुनाव लड्दा एमाले नै पहिलो दल हुनेमा देखेर अन्य दलले गठबन्धन बनाइरहेको पनि बताए।  

इलाम सदरमुकाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा सचिव भट्टराईले एमालेविरुद्ध दृश्य/अदृश्य शक्तिसमेत लागिरहेको बताए। ‘एमालेलाई एक्लै जित्न सकिँदैन भनेरै अरू दल गठबन्धन बनाउँदै छन्,’ उनले भने, ‘एमालेविरुद्धको गठबन्धन बनाउन ती दलमात्रै लागेका होइनन्, दृश्य/अदृश्य शक्तिसमेत हामीविरुद्ध लागेका छन्।’  

भट्टराईले आउँदो प्रदेश र स्थानीय तह निर्वाचनमा गठबन्धन तोडेरै एमाले देशको पहिलो शक्ति हुने दाबीसमेत गरे। उनले त्यो निर्वाचन एमालेका लागि अवसरसमेत भएको बताए। ‘एमाले बलियो भएको प्रमाण त अन्य दलसमेतले दिएकै छन्,’ उनले भने, ‘एमालेलाई पहिलो दल हुन कसैले छेक्ने अवस्था अब छैन।’

उनले एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) शेरबहादुर देउवाजस्तो ‘अक्षम’ व्यक्तिको पछि लागिरहेको आरोप लगाए। ‘समाजवादको यात्रामा हिँडेको बताउने ती दल (समाजवादी र माओवादी) शेरबहादुरजस्तो अक्षम व्यक्तिको पछि लागेर कहाँ पुग्ने हुन् थाहा छैन,’ उनले भने, ‘उनीहरूले त्यही बाटो अवलम्बन गरिरहे ठूलो दुर्घटना खेप्नुपर्ने निश्चित नै छ।’ भट्टराईले कांग्रेससँगको यात्रा छाडेर एमालेतिर सहकार्यमा आउन समाजवादी र माओवादीलाई एमालेले हात फैलाएको पनि बताए।

प्रकाशित: २३ श्रावण २०७९ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App