१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विकासका काममा राजनीति नगर्न नेता नेपालको आग्रह

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विकासको मामिलामा कुनै प्रकारको राजनीति र झगडा नगर्न आग्रह गरेका छन्।  

गृहनगर गौरमा सोमबार सिटी हलको शिलान्यास गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन्। बजेटको राम्ररी सदुपयोग गरी काम गर्न सके विकास हुन्छ, तर जनप्रतिनिधिको चाहना र भावना विकास गर्ने हुनुपर्‍यो भन्दै उनले विकास जसले गरे पनि प्रोत्साहित गर्नुपर्ने र सहयोगको भावना राख्नुपर्ने बताए।

गौर लगायतका केही स्थानमा हुन गइरहेको विकास कार्यलाई देखेर कतिपय राजनीतिक दलका नेताहरुलाई इर्ष्या हुन थालेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष नेपालले आफ्नो गृहजिल्ला रौतहटको चौतर्फी विकासप्रति आफू प्रतिवद्ध रहेको बताए। उनले आफूलाई कसैले रौतहटबाट धपाउने सपना देखेको छ भने त्यो दिवास्वप्न मात्र हुने उल्लेख गरे।

वागमती नदीमा पुल निर्माण पूरा नभएको र सञ्चालन हुन नसकेकोमा दुःख व्यक्त गर्दै पूर्वप्रधानमन्त्री नेपालले त्यसको शीघ्र सञ्चालन र पुलसम्म पुग्ने बाटो निर्माण कार्य तत्काल थालनी गरिने बताए। यस्तै गौरमै रामजानकी विवाहमण्डप निर्माण भएपछि सबैलाई सहज हुने उनले बताए। मुस्लिम समुदायका लागि मुसाफिरखाना, सुकदेव चौक–गंगापिपरा सडक कालोपत्रेसहित विभिन्न विकास निर्माण कार्यले गति लिने उनले बताए। 

सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास कार्यलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै निर्माण हुने सिटी हल र विवाहमण्डपले स्थानीय समुदायलाई सहज हुने बताए। त्यस क्रममा सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले कुल चार कठ्ठा क्षेत्रफलमा निर्माण हुने अत्याधुनिक एवं वातानुकूलित सिटी हलको निर्माण लागत ३० करोड रुपैयाँ रहेको बताए । आधुनिक वास्तुकला र अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार निर्माण हुने पाँचसय सिट क्षमताको भूकम्प प्रतिरोधी हलमा पानीको फोहोरा, सवारी पार्किङ लगायत विभिन्न आकर्षक डिजाइनको हुने उनले जानकारी दिए।

सिटी हलको यथाशीघ्र बोलपत्र आह्वान गरी दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै गौर नगरक्षेत्रमा निर्माण हुने रामजानकी विवाहमण्डपको कुल लागत आठ करोड रुपैयाँ रहेको बताइएको छ।

प्रकाशित: १६ श्रावण २०७९ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App