४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: मन्त्री फेरबदल कति सहज?

सत्तारुढ गठबन्धनका दलहरुबीच भएको भद्र भनिएको सहमति कार्यान्वयन भएको भए कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता बिरेन्द्र कुमार कनौडीया अहिलेसम्म मुख्यमन्त्री भैसकेका हुन्थे। गत फागुनसम्म मात्रै माओवादीले सत्ता चलाउने र त्यसयताको बाँकी अवधि कांग्रेसले चलाउने भन्ने सहमति कार्यान्वयन भएन।  

तर, कांग्रेस संसदीय दलका नेता कनौडीयालाई सत्ता नेतृत्वको ‘स्वाद’ चाख्ने लालसाले भने छोडेको छैन। फलतः यो माहोल निर्माण गरिदिन उनी कांग्रेस शिर्ष नेताहरु अहिले काठमाडौँमा हारगुहार गरिरहेका छन्। उनका दुई बिकल्प छन्। एउटा सत्ताको नेतृत्व परिवर्तन, अनि अर्को सत्ताको नेतृत्व परिवर्तन नभए मन्त्री फेरबदल।  

तर कनौडीयाका यी दुबै कदम सफल हुने सम्भावना भने देखिन्न। जसैगरि पनि नेतृत्व वा मन्त्री फेरबदल गर्न लागिपरेका कनौडीकै दल कांग्रेसका हालका मन्त्रीहरु उनकै कदमको बिपक्षमा छन्। ‘अहिले भैरहेका मन्त्रीहरु मुख्यमन्त्री वा मन्त्री हेरफेर गरिनु हुन्न भन्नेमा हुनुहुन्छ,’ कांग्रेसका एक सांसदले भने ‘तर संसदीय दलका नेता भने अहिले लागिरहनु भएको छ, तर यो बिषयमा शिर्ष नेताहरुको कस्तो निर्णय आउँछ भन्ने प्रमुख कुरा हो।’ 

कांग्रेसका संसदीय दलका नेता र केहि सांसदहरुले पनि मन्त्री फेरबदलको बिषयमा मुख्यमन्त्री कुलप्रसाद केसीसंग संवाद समेत गरिरहेका छन्। मुख्यमन्त्री केसी सकारात्मक जस्तै देखिएका पनि छन्। प्रदेशका एक कांग्रेस सांसदका अनुसार मुख्यमन्त्री केसीले मन्त्री हेरफेरको निर्णयमा आफू सकारात्मक रहेको र आगामी १५ गते सम्म शिर्ष नेतृत्वबाट सहमती जुराएर नयाँ मन्त्रीको नाम दिन समेत समय दिएका छन्।  

कांग्रेसका तर्फबाट सरकारमा रहेका मन्त्री मात्रै हैनन्, माओवादीका मन्त्रीहरु झनै मन्त्री हेरफेरको कदमका बिरुद्ध अडिग देखिएका छन्। उनीहरुले अहिले सरकार वा मन्त्री फेरबदल गर्दा राम्रो सन्देश नजाने र यसले आसन्न निर्वाचनलाई समेत असर गर्न सक्ने तर्फ नेतृत्वको ध्यानाकर्षण गराईरहेका छन्। अनि उनीहरु अहिलेको सरकारको नेतृत्व  मन्त्रीहरु परिवर्तन नहुनेमा ढुक्क बनेका छन्। 

एक माओवादी मन्त्रीका अनुसार मन्त्री फेरबदलका बिषयमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालकोबीचमा सहमति हुनै नसक्ने दाबी गरिएको छ। ‘अहिले मुख्यमन्त्री परिवर्तन र मन्त्री हेरफेरको कुनै सम्भावा नै छैन,’ माओवादीका एक मन्त्रीले भने ‘तर कांग्रेसका केही साथीहरु यसमा लागिरहनु भएको छ, तर हामीहरुले पनि शिर्ष नेताहरुका बिचमा सहमती हुन्छ भने मन्त्री छोड्छौँ भनेका पनि छौँ।’  

तर माओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाबीच अहिले सरकार वा मन्त्री परिवर्तनको सहमति हुनै नसक्ने ति मन्त्रीले दाबी गरे। बागमती प्रदेश सरकारका विषयमा दाहाल र देउवाले गरेको निर्णयले पनि लुम्बिनी प्रदेश सरकारलाई कुनै हलचल नपुग्नेमा माओवादी मन्त्रीहरु ढुक्क जस्तै छन्। 

बागमती प्रदेश मुख्यमन्त्री फेरबदल गर्ने भन्दै गरिएको सहमती पनि उनै देउवा र दाहालको सहमतीमा कार्यान्वयन नगरिएको ति मन्त्रीले जानकारी दिए। ‘बागमतीमा पनि सरकार परिवर्तन गर्ने सहमति थियो, तर त्यहाँ अहिले सरकार परिवर्तन नगर्ने भन्ने शिर्ष नेताबिच सहमति भएपछि त्यहाँ रोकियो,’ति मन्त्रीले भने ‘त्यहाँको शिर्ष नेताहरुले गरेको निर्णय जस्तै हाम्रो प्रदेशमा पनि त्यही हुन्छ, फलतः अहिले सरकार वा मन्त्री फेरबदलको कुनै सम्भावना नै छैन।’  

यो प्रदेशमा मन्त्री फेरबदल हुने भनेको कांग्रेस र माओवादीका मन्त्रीहरु मात्रै हुन्। यो प्रदेशमा मुख्यमन्त्रीसहित माओवादीका ४, कांग्रेसका ४ मन्त्री छन्। यसैगरी जनता समाजवादी पार्टीका ३ मन्त्री छन्। यी जसपाका यी तीन जना मात्रै प्रदेश सांसद रहेकाले जसपाबाट मन्त्री फेरबदल हुने छैनन्। यसैगरि एकजना मात्रै सांसद संख्या रहेको नेकपा एकीकृत समाजवादीका ति एक सांसद पनि मन्त्री छन्, उनको स्थानमा आउनका लागि यो पार्टीबाट अर्का सांसद छैनन्। यसैगरि एक जना स्वतन्त्र सांसद मन्त्री बनेका छन्। यसैगरि माओवादीबाट २ र कांग्रेसबाट २ गरि ४ जना राज्यमन्त्री छन्।

प्रकाशित: १३ श्रावण २०७९ १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App