१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेससँग बार्गेनिङ गर्न बहसमा समाजवादी केन्द्र

क्याप्शन

एमालेबाहेक सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूले समाजवादी केन्द्र निर्माणको प्रयास थालेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा यस्तो प्रयास अघि बढाइएको हो। माओवादी केन्द्र, एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टीबाट अलग्गिने तयारीमा रहेको बाबुराम भट्टराई समूह, एमालेबाटै अलग भएर बसेका राष्ट्रियसभा सदस्य वामदेव गौतम अट्नेगरी समाजवादी केन्द्र निर्माणको प्रयास गरिएको छ।  

माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, सांसद गौतम र भट्टराईबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको छ। यो छलफललाई निरन्तरता दिने सहमति भएको छ। ती पार्टीका दोस्रो तहमा पनि यस किसिमको छलफल चलाउने सहमति भए पनि यसले मूर्त रूप लिन भने समय लाग्ने बताइएको छ। माओवादी अध्यक्ष दाहाल भारत भ्रमणबाट फर्केलगत्तै समाजवादी केन्द्र बनाउन छलफल थालिएको हो। साउन २ गतेदेखि सुरु यो बहस दोस्रो तहका नेतासम्म पनि पुगेको छ। माओवादी नेताहरूले समाजवादी केन्द्र निर्माणमा जोड दिइरहेका छन्। ‘विचार मिल्नेहरूबीच एकता, सिद्धान्तमा सहमत हुनेहरूसँग मोर्चा र सहकार्य गर्न चाहने शक्तिसँग गठबन्धन बनाएर अघि बढ्ने र त्यसलाई समाजवादी केन्द्र भन्ने छलफल भएको हो’, माओवादी केन्द्रका नेता वर्षमान पुनले भने। पाँच वर्ष स्थिर सरकार बनाउन निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने र एउटै निर्वाचन चिह्नमा भाग लिनेसम्मको विषय भएकाले यसले मूर्त रूप लिन केही समय लाग्ने उनले बताए।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी केन्द्र निर्माणको बहस शीर्ष तहमा भए पनि त्यो तलसम्म नपुगेको बताए। ‘अहिले शीर्ष तहमा छलफल चलिरहेको छ भन्ने सुनेको छु। यसका लागि पर्याप्त बहस गर्नुपर्छ। संवाद गर्ने समय बाँकी भएकाले यसबारे हतार गरिहाल्नुपर्ने आवश्यकता छैन’, खतिवडाले भने, ‘वाम एकता पक्षधरले यसलाई छलफलमा ल्याएजस्तो लाग्छ तर अहिले टुंगोमा पुग्ने अवस्था छैन।’  

यो विषयमा माओवादी अध्यक्ष दाहालको राजनीतिक भविष्य जोडिएको बताइएको छ। गठबन्धन सरकार बनाउने बेलामा सुरुमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व दाहालले गर्ने भद्र सहमति भएको बताइन्छ। परिस्थितिले त्यो सहमति कार्यान्वयन नभएपछि आगामी संघीय संसद्को निर्वाचनमा कांग्रेससँग धेरैभन्दा धेरै सिट बार्गेनिङ गर्न समाजवादी केन्द्र बनाउने बहस दाहालको इच्छामा थालिएको स्रोत बताउँछ। ‘अहिले सत्तामै रहेका वामपन्थी शक्तिहरूले समाजवादी केन्द्र बनाउने भन्नेल विषय माओवादी अध्यक्ष दाहालको राजनीति भविष्यसँग जोडिएको देखिन्छ, उनकै पहलमा यो विषय उठ्नुले त्यहाँ शंकाको लाभ रहेको छ’, नेकपा एस स्थायी कमिटीका एक सदस्यले भने।

ती सदस्यका अनुसार कांग्रेस केन्द्रीय समितिको निर्णय आएपछि माओवादी अध्यक्ष दाहालले यस्तो बहसको आरम्भ गरेका हुन्। ‘कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको नेतृत्वमा चुनावी गठबन्धन गर्ने र आफू तल नपर्नेगरी गठबन्धन गर्ने निर्णय गरेको छ। यसबाट माओवादीको बार्गेनिङ तह कमजोर हुने भएपछि दाहालले आफू नेता हुनेगरी यो बहस ल्याएका हुन्’, ती सदस्यको दाबी छ। माओवादी केन्द्रका नेता पुन भने माओवादी केन्द्र, नेकपा एस, जसपाभित्र भट्टराई समूह र सांसद गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताउँछन्। ‘समाजवादी केन्द्र निर्माण गरी आगामी निर्वाचनमा संयुक्त मोर्चा बनाएरै जान्छौं, १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने तयारी हुन्छ, कांग्रेससँग आवश्यकताका आधारमा केही स्थानमा गठबन्धन हुन्छ’, पुनले भने।  

पाँचदलीय गठबन्धन बनाएर निर्वाचनमा जाँदा माओवादी केन्द्र, नेकपा एस र मधेसवादी दललाई कांग्रेसले सिट विभाजन गर्दा माओवादीको भागमा कम सिट पर्ने भएकाले दाहालले समाजवादी केन्द्र गठनको बहस चलाएर कांग्रेसलाई गलाउन खोजेको नेकपा एसका नेताहरूले बताएका छन्। ‘स्थानीय तह निर्वाचनमा माओवादीले कांग्रेससँग मिलेर नेकपा एसलाई धोका दिएको थियो। अहिले पनि सिधै कांग्रेससँग साँठगाँठ नगरी समाजवादी केन्द्रको माध्यमबाट हँसिया हथौडा चिह्नमा उम्मेदवारी दिन लगाएर अन्य दललाई कमजोर बनाउने प्रयास माओवादीले थालेको छ’, नेकपा एसका एक नेताले भने। ती नेताका अनुसार समाजवादी केन्द्र निर्माणमा नेकपा एसको रुचि छैन।  

‘यो खास रुचिको विषय होइन, विगतमा पनि माओवादीले पेलेको थियो, अहिले पनि त्यही अवस्था सिर्जना गर्न खोजिँदैछ’, ती नेताले भने।  

नेकपा एसका प्रवक्ता खतिवडाले पनि यस्तो विषयमा औपचारिक छलफल नभएको बताएका छन्। ‘शीर्ष तहमा छलफल भएको होला तर पार्टीको कुनै पनि बैठक र औपचारिक कार्यक्रममा यसबारे कुनै छलफल भएको छैन,’ उनले भने। माओवादीका केही नेताले एमालेसहितको केन्द्र बनाउनुपर्ने धारणा राखे पनि अध्यक्ष दाहाल त्यति इच्छुक देखिएका छैनन्। जसपाबाट विभाजनको तयारीमा रहेका भट्टराईले माओवादीले नाम परिवर्तन गरेमा सो पार्टीमा जान सकिने संकेत गरेका कारण दाहाल अहिले समाजवादी केन्द्र बनाउने र पछि पार्टीको नाम बदल्ने सोचसम्म पुगेको आशंका माओवादीका केही नेताको छ।

प्रकाशित: ११ श्रावण २०७९ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App