नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बामपन्थी शक्तिहरुले एक अर्कालाई कमजोर पार्ने र सिध्याउने नीति प्रयत्नलाई नै निरन्तरता दिने हो भने बामपन्थी आन्दोलन नै धराशायी हुने खतरा रहेको बताएका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त्त बन्ने खतरा बढाउने भएकाले बामपन्थी शक्तिहरु बीचको तालमेल , मोर्चा र एकताको आवश्यकता रहेको औंल्याएका छन्।
श्रेष्ठले लेखेका छन्, ‘राजनीतिलाई ब्यक्ति वा समूह स्वार्थ केन्दृत धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज बाम तालमेल र एकता नै हो। त्यसका निम्ति सम्बन्धित सबैले गंभीर अत्म-आलोचक भावसहित इमान्दार अग्रसरता देखाउनुपर्छ।'
हिजो काठमाडाैंमा आयोजित एक कार्यक्रममा उनले वामपन्थी शक्तिहरु बीचको तालमेल, मोर्चा र एकताको आवश्यकतामा जोड दिएका थिए। कार्यक्रममा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको पनि श्रेष्ठले आलोचना गरेका छन्।
श्रेष्ठले लेखेका छन्, ‘ क.ओलीले प्रम हुँदा संविधानको प्रावधान विरुद्ध प्रतिनिधि सभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वशनीयता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन। यसले अहं त तुष्टी गर्ला तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्याउने छैन।’
उनले थप लेखेका छन्, 'ओलीले अहँकारको प्रदर्शन गर्दै बामएकतामा ठेस पुग्ने गरी बोल्दा पुन: अझ जोडले ताली बजाउनु भयो। यसले बाम तालमेल र एकतालाई सहयोग पुर्याँउछ त? पुर्याउँदैन। हामी कहिले सच्चिने होला? गंभीरतापूर्वक सोचौं।'
प्रकाशित: १ श्रावण २०७९ ०६:३७ आइतबार