१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘निर्वाचनमा तालमेल हुन्छ’

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल गरी अघि बढ्ने स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका देउवाले आगामी निर्वाचनमा तालमेलको विकल्प नभएको स्पष्ट पारेका हुन्। केन्द्रीय समितिको बैठक सोमबारदेखि जारी छ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई साथमा लिएर आगामी निर्वाचनमा जानुपर्ने धारणा राख्दै देउवाले भने, ‘निर्वाचनमा तालमेल गरेर जाने हो, त्यसैअनुसार लाग्नुहोला।’ विगतमा कांग्रेसले एक्लै पनि निर्वाचनमा प्रतिस्पर्धा गरेको स्मरण गराउँदै सभापति देउवाले त्यसको परिणाम सबैको सामु रहेको बताएका थिए। अहिले माओवादीलाई मात्र नभएर चुनावी तालमेल गर्नुपर्ने बाध्यता कांग्रेसलाई पनि रहेको धारणा राखेका देउवाले दलहरूबीचको एकता र सहमतिमै अघि बढ्नुपर्ने बताए।

आगामी निर्वाचनबाट कांग्रेसलाई पहिलो दलका रूपमा स्थापित गर्ने र मुलुकको आर्थिक विकास गर्नेबाहेक आफ्नो कुनै स्वार्थ नभएको जिकिर देउवाले गरेका थिए। पार्टीभित्र बृहत् एकता र सहकार्यका लागि आफू तयार रहेको भन्दै उनले आन्तरिक छलफल र भेला पार्टीको फोरमभन्दा बाहिर नगर्न पनि नेताहरूलाई आग्रह गरे। लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको आफ्नो निष्ठाप्रति शंका नगर्न आग्रह गर्दै देउवाले भने, ‘डेमोक्रेसीप्रतिको मेरो निष्ठामाथि कसैले प्रश्न उठाउँछ भने मलाई त्यो सह्य छैन। मैले पनि अरूका विषयमा बोल्नुपर्ने हुन्छ।’ उनले सबै मिलेर पार्टीलाई राम्रो र बलियो बनाउनुपर्ने धारणा राखेका थिए।  

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धन बनेदेखिका घटनाक्रममा आफू नजिकबाट सहभागी भएको भन्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धनबीच तालमेल गरेर अघि बढ्नुपर्ने धारणा राखे। गठबन्धन गरेर अहिलेसम्म राम्रो भएको र आगामी दिनमा अझै राम्रो हुने खड्काको दाबी छ।  

अर्का उपसभापति धनराज गुरुङले पार्टी सभापतिलाई बलियो बनाउन आफू तयार रहेको धारणा राखेका थिए। उनले सभापतिको हात बलियो बनाउन तेल घसेर नहुने भएकाले त्यसका लागि ‘प्रोग्रेसिभ’ कार्यक्रम ल्याउनुपर्ने बताए। उनले भने, ‘तर अहिलेसम्म त्यस्तो कार्यक्रम आएन।’

बैठकमा महामन्त्री गगनकुमार थापाले सभापतिले विधानअनुसार काम नगर्दा आफूहरूमाथि पनि प्रश्न उठेको धारणा राखे। महाधिवेशनबाट आफू पनि निर्वाचित भएर आएको धारणा राख्दै थापाले सभापतिले आफूहरूसँग परामर्श र छलफल नगरेको गुनासो गरेका थिए।  

सभापति बलियो भए मात्रै पार्टी बलियो हुने भन्दै थापाले भने, ‘हाम्रो पार्टी कस्तो बनाउने? कसरी चलाउने? भन्ने कुरामा महामन्त्रीको भूमिका के हुन्छ? सभापतिको भूमिका के हुन्छ? त्यो विधानले प्रस्ट बोलेको छ। तर सभापतिले हामीसँग सामान्य सल्लाहसमेत नगरी निर्णय गर्ने अभ्यास गरिरहनुभएको छ।’ लगत्तै जवाफ फर्काएका सभापति देउवाले ‘सल्लाह गर्न फोन गर्दा महामन्त्रीले उठाउनुप¥यो नि !’ भनेका थिए।

महामन्त्रीहरू गुट बैठकमा सहभागी भएको र मिडिया खपतका लागि मात्र बोल्ने गरेको आरोपको खण्डन गर्दै थापाले आफू अहिले मात्रै नभएर पहिलेदेखि नै समूहको छलफलमा सहभागी हुने गरेको बताए। ‘म बुढानीलकण्ठ जान्थें, चाक्सीबारी पनि जान्थें, बोहोराटार पनि गएको हुँ,’ थापाले भने, ‘पहिलेदेखि सबै जाने अभ्यास हुँदै हो, अहिले हामी गएकोमा किन विरोध भएको हो?’ उनले ठुला घर हुनेले घरमै भेला गरेको नहुनेले पार्टी प्यालेसमा गरेको बताए।  

अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार विभागहरू गठन गर्दै कार्यक्रम लिएर जनतामाझ जानुपर्छ भन्ने कुरा कसरी गलत भयो भन्ने प्रश्न गरेका थिए। बैठकमा सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारले भ्रातृ संगठनका तदर्थ समिति गठन गर्दा सभापति देउवाले नेता शेखर कोइरालासँग छलफल नगरेको भन्दै असन्तुष्टि जनाए।  

गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पनि गठबन्धनको आवश्यकता रहेको औंल्याउँदै भने, ‘राष्ट्रियसभामा हाम्रो अवस्था कमजोर छ। गठबन्धन नभएसम्म त्यहाँबाट बिल पास हुने अवस्था छैन।’ बैठकमा फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, सीता गुरुङ, आमन्त्रित गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पनि आआफ्ना धारणा राखेका थिए।

केन्द्रीय समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ। पदाधिकारीको आइतबार दिउँसो २ बजे बस्ने बैठकले निर्णयको मस्यौदा तयार गर्नेछ। त्यसलाई सोमबार ३ बजे बस्ने केन्द्रीय समितिबाट अनुमोदन गर्ने तयारी छ।  

प्रकाशित: १ श्रावण २०७९ ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App