२० असार २०८१ बिहीबार
image/svg+xml
कला

‘कल्की २८९८ एडी’ ले आम्दानीको सबै रेकर्ड तोड्दै

भारतको दक्षिण सिने जगतका स्टार प्रभाश र बलिवुड अभिनेत्री दिपीका पादुकोण अभिनित चलचित्र ‘कल्की २८९८ एडी’ ले आम्दानीको मामिलामा सबै रेकर्ड तोडेको छ।

गत बिहीवार रिलिज भएको यस चलचित्रले दर्शकको निकै साथ र माया पाउँदै विभिन्न चलचित्रहरूको आम्दानीको रेकर्ड तोडेको हो।

इन्डियन माइथोलोजीसँग सम्बन्धित साइन्स फिक्शनमा आधारित ‘कल्की २८९८ एडी’ ले मात्र ४ दिनमा विश्वव्यापी रुपमा ५५५ करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ।

भारतमा चलचित्रको नेट कलेक्शन ३०९ करोड रुपैयाँ भइसकेको छ। जसमा हिन्दी भाषाको कमाई १११.५ करोड भारतीय रुपैयाँ रहेको छ। तर, ‘कल्की २८९८ एडी’ ले भारतमा मात्रै नभई विदेशमा पनि कीर्तिमानी आम्दानी गरेको छ।

‘कल्की २८९८ एडी’ बाट प्रभाशले तहल्का मच्चाइदिएका छन्। ‘कल्की २८९८ एडी’ ले सबैभन्दा ठूलो ओभरसिज कलेक्शन गर्ने भारतीय चलचित्र फाइटरको पहिलो तीन दिनमा नै पछि पारेको थियो। अब विकेन्डमा ‘कल्की २८९८ एडी’ ले ओभरसिज मार्केटमा शाहरुख खानको चलचित्रलाई पनि पछि पारिदिएको छ।

२०२४ को सुरुमा आएको ऋतिक रोशनको ‘फाइटर’ ले १२ मिलियन डलर अर्थात् सय करोडभन्दा बढी भारतीय रुपैयाँको ओभरसिज कलेक्शन गरेको थियो। जसलाई ‘कल्की २८९८ एडी’ ले ३ दिनमै तोड्दै १३ मिलियन डलर अर्थात् १०८ करोडभन्दा बढी भारतीय रुपैयाँको आम्दानी गरेको छ।

विकेन्ड कलेक्शनबाट ‘कल्की २८९८ एडी’ ले नयाँ ओभरसिज रेकर्ड बनाएको छ। रिलिज पछि हालसम्म प्रभाशको चलचित्रले १७.१७ मिलियन डलर अर्थात् १४७.७ करोड भारतीय रुपैयाँको कलेक्शन गरेको छ। जसमा अमेरिका र क्यानडामा चलचित्रको विकेन्ड कलेक्शन ११.२ मिलियन डलर अर्थात् ९२.६३ करोड भारतीय रुपैयाँ रहेको छ। यसअघि भारत र अमेरिकामा सबैभन्दा धेरै विकेन्ड कलेक्शन गर्नेमा ‘बाहुबली २’ रहेको थियो।

‘कल्की २८९८ एडी’ ले गत वर्ष आएको शाहरुख खानको ‘पठान’ र ‘जवान’ लाई पनि आम्दानीको मामिलामा पछि पारेको छ।

‘कल्की २८९८ एडी’ ले जसरी आम्दानी गरिरहेको छ त्यसले अबको केही दिनमै यो चलचित्र हजार करोड कमाउने भारतको चलचित्र बन्ने देखिन्छ।

‘कल्की २८९८ एडी’ मा प्रभाश र दिपीका बाहेक बलिवुडका महानायक अमिताभ बच्चन र साउथ चलचित्रका युनिभर्सल स्टार कमल हसन लगायतले अभिनय गरेका छन्।

प्रकाशित: १८ असार २०८१ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App