२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

रानीसैनमा ‘भिस्याट’ प्रविधिमार्फत टेलिफोन सेवा

नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्र स्थित रानीसैनमा भिस्याट प्रविधिमार्फत टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ। बाजुरा सदरमुकाम मार्तडीबाट गाडीमा एक दिन र यसपछि करिब चार दिन पैदल हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटबाट गाडीमा चार घण्टा र एक दिन पैदल हिँडेर यो स्थानमा पुग्न सकिने स्थानीयको भनाइ छ।

सैपाल हिमाल क्षेत्रमा रहेको सो भन्दा करिब २० किलोमिटर तल लाम्पाटा र माथि पाँच हजार पाँच सय मिटर उचाइमा पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो। नेपाल टेलिकम प्राविधिक सहायक रामबहादुर खातीले रानीसैन क्षेत्रका करिब छ सय बासिन्दाले सहज तरिकाले टेलिफोन सेवा पाउने बताए।

उनका अनुसार हुम्लाका स्थानीय सोनाम लामाले भिस्याटमार्फत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति लिएपछि सेवा सुरु भएको थियो। सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरन क्षेत्र हो। यहाँ छ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन। करिब तीन हजार छ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भएपछि त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुने प्राविधिक सहायक खातीले बताए।

भिस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानाबाट करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पुर्‍याइएको थियो। दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो। चालु आवमा दार्चुलाको तिंकर, रसुवाको गोसाइँकुण्ड, सङ्खुवासभाको किमाथाङ्कालगायत स्थानमा भिस्याटमार्फत सेवा सञ्चालन गरिएको छ। 

प्रकाशित: १८ असार २०८१ १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App