coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एकल अध्यक्ष बनाउन विधान संशोधन

बाबुरामसहित नौ जनालाई कारबाही

वीरगन्जमा बुधबारदेखि सुरु जनता समाजवादी पार्टी (जसपा) को बैठक बिहीबार रातिसम्म जारी छ। विधान संशोधनदेखि पार्टीको संगठनात्मक संरचनामा राजनीतिक समिति (पोलिटब्युरो) थप्नेसम्मका १४ प्रस्तावमाथि छलफल भइरहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए।  

जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा वीरगन्जमा जारी केन्द्रीय समिति बैठकले गर्ने निर्णय ऐतिहासिक महत्वको हुने केन्द्रीय सदस्य फिरोज मन्सुरले दाबी गरे। पार्टीलाई आगामी दिनमा झन् बलियो बनाउन विभिन्न प्रस्तावमाथि छलफल भइरहेको उनले बताए।

उनका अनुसार स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनका लागि संसदीय समिति गठन, निर्वाचनको तयारी, केन्द्रीय कार्यकारिणी समितिको पुनःसंरचना तथा विस्तारजस्ता विषय छलफलमा छन्।

‘अहिले पार्टीको संगठनात्मक संरचनामा पहिलेदेखि नभएको राजनीतिक समिति बनाउने विषय पनि प्रस्तावित छ,’ मन्सुरले नागरिकलाई भने, ‘त्यसैगरी पहिला दुई अध्यक्ष रहने विधानमा भएको व्यवस्था संशोधन गरेर एक मात्र अध्यक्षको व्यवस्था गर्न लागिएको छ।’

बिहीबार रातिसम्म प्रस्तावित विषयको निर्णय आउनेछ। आगामी निर्वाचनमा गठबन्धनका विषयमा निर्णय, विगतमा अन्तरघात गर्नेहरूउपर कारबाही, पार्टीका जनवर्गीय संगठनको सुदृढीकरण तथा परिचालनजस्ता विषयमा यस बैठकले निर्णय लिने उनले जनाए।  

बाबुरामसहित नौ जनालाई कारबाही

पार्टीको विधानविपरीत काठमाडौंमा बेग्लै बैठक आयोजना गरेका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ जना उपर कारबाहीको प्रस्ताव पनि जसपाको वीरगन्ज बैठकमा प्रस्तावित छ।

‘परिषद् अध्यक्ष भट्टराई र उनलाई काठमाडौंमा जारी बैठकमा विशेष रूपमा साथ दिने आठजना गरी जम्मा नौजनालाई कारबाहीको प्रस्ताव भएको छ,’ मन्सुरले भने, ‘प्रस्तावहरूउपर निर्णय हुन बाँकी रहेको छ। क्रमशः प्रस्तावित विषयहरूको निर्णय भइरहेको छ, एकसाथ पार्टीले सार्वजनिक गर्नेछ।’  

पार्टीका अर्का केन्द्रीय सदस्य हरिनारायण रौनियारका अनुसार बहुमत सदस्यहरू र सांसद वीरगन्ज बैठकमा सहभागी भएको हुनाले विधिसम्मत विभाजनका लागि भट्टराईसँग संख्या पुग्दैन। पार्टीका ४ सय ९९ केन्द्रीय सदस्यमध्ये ३ सय बढी वीरगन्ज आइपुगेका र केही केन्द्रीय सदस्य लिखित कारण पठाएर पार्टीको जानकारीमै अनुपस्थित भएको बैठकका सहभागीले बताए।

दुइटै सदनका गरी २२ जना सांसदमध्ये डा. भट्टराई र महेन्द्र रायले काठमाडौंमा बैठक गरेको, राजकिशोर यादव कुनै पनि बैठकमा सहभागी नभएका र बाँकी सांसदले वीरगन्ज बैठकमा भाग लिइरहेको मंसुरले दाबी गरे।

यसअघि बुधबार भएको बैठकको उद्घाटन सत्रमा पार्टी अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको समूहले गरेको बैठक अवैधानिक भएको बताएका थिए। पार्टीको विधानले संघीय परिषद् अध्यक्षलाई केन्द्रीय समिति बैठक बोलाउने अधिकार नदिएको उनले जिकिर गरे।

प्रकाशित: ३१ असार २०७९ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App