चार महिना लामो बन्द–हडताल, आन्दोलन र दुई महिनादेखिको नाकाबन्दीबीच पनि यहाँ साम्प्रदायिक द्वन्द्वका घटना भएनन्। तर, त्यसो भनेर ढुक्न हुने पनि स्थिति अब छैन। अहिले समाज नराम्ररी विभाजित भएको छ। र, विभाजन बढाउने कसरत जारी छ। विभाजित मन बेलैमा सिलाउने काम नभए त्यसले एक–अर्काबीच आशंका, अविश्वास र घृणा जन्माउन सक्छ।
०६३ र ०६४ को पहिलो र दोस्रो मधेस आन्दोलनपछि यहाँको सामाजिक अवस्थामा आएको तरलताको अंश बाँकी नै छ। यही तरलताको झिल्कोमा लाभ लिन विभिन्नखाले शक्ति र व्यक्ति मधेस आन्दोलनलाई 'क्यास' गर्न अहोरात्र खटिइरहेका छन्। यो वास्तविकता मधेसकेन्द्रित आन्दोलनरत दल र प्रमुख दलले मनन गर्ने मधेसका बुद्धिजीवी बताउँछन्।
बुद्धिजीवीले गरिरहेको राजनीतिक आँकलनभन्दा फरक छैन मधेसकेन्द्रित दलको पुर्वानुमान पनि। जारी शान्तिपूर्ण आन्दोलन कुनै कारण असफल भए अर्थात् आन्दोलनको सफल अवतरण नभए मधेसमा तीन तहको खतरा देख्छन्, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो।
पहिलो, शान्तिपूर्ण आन्दोलन हिंसा चाहने समूह–संगठनको हातमा जान्छ। दोस्रो, त्यो हिंसात्मक आन्दोलनले प्रदेश होइन, छुट्टै मधेसको माग गर्छ। तेस्रो, साम्प्रदायिक हिंसा भड्किन्छ। यी तीनवटै खतराबाट पार पाउन जारी शान्तिपूर्ण आन्दोलनको सफल अवतरण एक मात्र विकल्प भएको महतोको बुझाइ छ।
'हामी कुनै पनि हालतमा शान्तिपूर्ण आन्दोलनको मार्गबाट विचलित हुँदैनौं,' उनले भने, 'राष्ट्रिय अखण्डता र सार्वभौमसत्तालाई नमन गर्छौं।' त्यसै कारण उनले शान्तिपूर्ण आन्दोलनमार्फत स्वायत मधेस थरूहट प्रदेश मागेको जिकिर गरे। जारी आन्दोलन चार महिना पुग्दै गर्दा पनि कतै साम्प्रदायिकताको गन्धसम्म आउन नदिएको महतोको दाबी छ। 'अहिलेको प्रमुख चुनौती भनेकै मधेस आन्दोलन हाम्रो हातबाट हिंसा चाहने समूहको हातमा नजाओस् भन्ने हो,' उनले भने। चार महिना लामो आन्दोलनलाई शान्तिपूर्ण बनाइराख्नु चुनौतीपूर्ण रहेको उनले बताए। 'शान्तिपूर्ण आन्दोलनको यति लामो यात्रा पार गरेर हामी गलत बाटो अवलम्बन गर्नै सक्दैनौं,' उनले थपे।
नेता महतोले अहिलेसम्मको वार्ता, वार्ताजस्तै नभएको टिप्पणी गरे। 'तपाईंहरूले यो गरिदिनुपर्योे, त्यो गरिदिनुपर्योम भनेरै राज्यले वार्ता सकाउँछ,' उनले भने, 'मोर्चाले राखेको ११ बुँदेमाथि खास बहसै भएको छैन।' उनले राज्यले वार्तानिम्ति गम्भीर रूपमा प्रस्तुत नभएको आरोपसमेत लगाए।
मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मोर्चाले राज्यसमक्ष राखेको ११ बुँदे मागप्रतिको बेवास्ताले समाधान लम्बिँदै गएको बताउँछन्। 'हाम्रा माग प्रष्टसँग राज्यसमक्ष राखिसकेपछि अरू कुराको तुकै भएन नि, राज्य वार्तालाई फलदायी बनाउन गृहकार्यसहित प्रस्तुत हुनपर्छ,' उनी भन्छन्, 'निर्णायक वार्ताको नाममा नौटंकी भइरहेसम्म निकास निस्किँदैन।' नेता यादवले आफूहरूको माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने जनाए।
तराई–मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर भन्छन्, 'राज्यले मागप्रती गम्भीर हुनुभन्दा अविश्वास र शंकामै बढी शक्ति खर्च गरिरहेको छ।' नेता ठाकुरले आफूहरूको माग ११ बुँदामा प्रस्ट उल्लेख भएकाले मागअनुसार मधेसमा दुई प्रदेश कायम हुनुपर्ने बताए। 'शान्तिपूर्ण आन्दोलन हाम्रो एजेन्डा हो, यही हाम्रो सोच पनि हो,' उनको भनाइ छ, 'विखण्डन हाम्रो सोच नै होइन।' मोर्चाका प्रमुख नेताहरूको अभिव्यक्तिका कारण आन्दोलन गलत बाटोतर्फ नजाओस् भन्ने चिन्ता व्याप्त छ।
'मधेसका नेताहरूले मधेसको हितमा आफ्नो विवेक नलगाएको अवस्थामा उनीहरूलाई शंकास्पद आँखाले हेरिराख्नुपर्ने आवश्यकता छैन,' मधेस मामिलाका विश्लेषक विजयप्रसाद मिश्रले भने।
राष्ट्रको अखण्डता सम्पूर्ण नेपालीको साझा संकल्प हो। यो संकल्प तबमात्र पूरा हुन्छ जब मधेस, पहाड र हिमाल तिनै भू–भागमा सबै नेपाली एकसाथ हिँड्ने वातावरण हुन्छ।
प्रकाशित: २८ मंसिर २०७२ २२:०८ सोमबार





