१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओलीप्रति इंकित गर्दै नेपालले भने: हैसियत नै छैन भन्नेको घमण्डलाई आगामी निर्वाचनमा चकनाचुर पार्छौं

गठबन्धन आगामी निर्वाचनसम्म

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। पाँच दलिय गठबन्धनले मुलुकलाई विभिन्न शंकटबाट जोगाएको भन्दै उनले राष्ट्रिय आवश्यकताकै आधारमा आगामी निर्वाचनसम्म यसले निरन्तरता पाउने बताएका हुन्।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले गठबन्धनले लोकतान्त्रिक गणतन्त्र र संविधनको रक्षा गर्दै राष्ट्र जोगाउने काम गरेकाले आगामी निर्वाचनसम्म यसले निरन्तरता पाउने बताए।

संघ र प्रदेशको निर्वाचनमा गठबन्धन कायम रहने नेता नेपालले बताए। उनले स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीले आफ्नै बलमा चुनाव लडेको र सफलता प्राप्त गरेको उल्लेख गरे।  एक महानगर, उपमहानगरमा प्रमुखसहित विभिन्न स्थानीय तहमा उपप्रमुख  जितेको भन्दै उनले धेरै तहमा अत्यधिक मत पाएको उल्लेख गरे।

आगामी निर्वाचनमा थप सफलता हात पर्ने दाबी पनि नेता नेपालले गरे। मतदाता शिक्षामा कमी, घरदैलो, भेटघाट तथा वडा तहमै सहमतिमा विलम्ब जस्ता स्थानीय तह निर्वाचनका कमजोरी सुधारेर अगाडि बढ्ने बताए। यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली प्रति इंकित गर्दै उनले आफूहरुलाई हैसियत नै छैन भन्नेहरुको घमण्डलाई आगामी निर्वाचनले चकनाचुर पारेर छोड्ने दाबी गरे।

आगामी निर्वाचनका लागि बाम गठबन्धन र एमाले संगको पार्टी एकीकरणका सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै नेता नेपालले एमालेसँग वार्ता संवादको अवस्था सिर्जना नै नभएकाले सहकार्य, एकताको गुन्जायस नै नरहेको बताए।

कुनै पदका निम्ति या निर्वाचन मुखी भएर एकता गर्ने कुरामा आफूहरुको ध्यान नभएको भन्दै उनले राष्ट्रिय आवश्यकता अनुरुप यही गठबन्धनले निरन्तरता पाउने दोहोर्‍याए। काँग्रेसको बुइ चढेको आरोप लागेको भन्ने सम्बन्धमा उनले घुमाउरो पाराले आफूहरु काँग्रेसको नभइ काँग्रेस आफूहरुको बुइ चढेको उल्लेख गरे।

‘हाम्रो काँध बलियो रैछ अहिलेसम्म धानेकै छौ’ नेता नेपालले भने। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले परराष्ट्र नीतिलाई जोगाउने कुरामा पाँच दलीय गठबन्धन सरकार गम्भीर रहेको भन्दै असंलग्न परराष्ट्र नीतिलाई अंगिकार गर्ने कुरामा कहिल्यै नचुक्ने बताए। उनले नेपाल कहिल्यै कसैको सैन्य रणनीतिको हिंसा बन्न नसक्ने र सो कुरामा गठबन्धन सरकार गम्भीर रहेको पनि उल्लेख गरे।

प्रकाशित: २५ असार २०७९ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App