२२ मंसिर २०७९ बिहीबार
राजनीति

गुट–उपगुटको दुष्चक्रमा कांग्रेस: पुराना भत्कँदै, नयाँ झाँगिँदै

‘हामी भागबन्डाको राजनीति, गुटबन्दीको राजनीतिमा लाग्दैनौं। काम गर्दै जान्छौं। राम्रो काम गर्दै गए पक्कै पनि उहाँहरूलाई सोच्न बाध्य बनाउँछौं।’ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मंसिर २९ गते १४औं महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई आयोजना गरिएको धन्यवाद कार्यक्रममा व्यक्त गरेको धारणा हो यो।

सभापतिमा पराजयपछि आयोजना गरिएको धन्यवाद कार्यक्रममा नेता शेखरले नेतृत्वका लागि भएको प्रतिस्पर्धा आन्तरिक लोकतन्त्र भएको जनाउँदै आफूमा कुनै कुण्ठा नभएको धारणा राखेका थिए। महाधिवेशनपछि निरन्तर निकटहरूको बैठक गर्दै आएको शेखर पक्षले असार १६ र १७ गते काठमाडौंमा भेला गरेर सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको ठहर गरेको छ।

पार्टीभित्र ४० प्रतिशत मत ल्याउने पक्षलाई बेवास्ता गरिएको भन्दै शेखर पक्षले निर्णय प्रक्रियादेखि सबै विषयमा सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। पार्टीको विधिविधानअनुसार सभापति देउवा अघि बढ्न नसकेको र उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई न्याय गर्न नसकेको भन्दै पार्टीभित्र ‘रचनात्मक विद्रोह’ गर्ने उद्घोष भन्दै कोइराला पक्षले गरेको छ।

कोइराला पक्षको यो निष्कर्षसँगै कांग्रेसभित्रको गुट राजनीति थप सशक्त हुने देखिएको छ। कोइराला पक्षले पार्टीका सबै निकायमा भाग खोज्ने र लिने निष्कर्ष निकाल्दै उपसभापति र महामन्त्रीका प्रत्यासी चन्द्र भण्डारी र मीनेन्द्र रिजाललाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत नगरेकोमा पनि असन्तुष्टि जनाएको छ। सभापति देउवाले सभापतिका सबै प्रत्यासीसहित उपसभापति र महामन्त्रीका अधिकांश उम्मेदवारलाई केन्द्रीय सदस्यमा मनोनीत गरिसकेका छन्।

मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट परम्परागत गुटहरू भत्किएर नयाँ निर्माण भएका छन्। सभापति देउवाले नेतृत्व गरेको परम्परागत गुटमा केही क्षयीकरण भएको छ। महाधिवेशनबाट इतर पक्षका गुट पनि तितरबितर बन्न पुगेका छन्। त्यससँगै कांग्रेसभित्र दर्जन बढी समूह अहिले सक्रिय छन्।

देउवा नेतृत्वको गुटमा रहेका तत्कालीन उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका थिए। दोस्रो चरणमा भएको निर्वाचनमा निधिले देउवालाई नै समर्थन गरे। तर इतर पक्षबाट सभापतिको प्रत्यासीमा सहमति जुट्न नसक्दा १३औं महाधिवेशनपछि गुटको नेतृत्व गर्दै आएका रामचन्द्र पौडेल रुष्ट मात्र बनेनन्, प्रक्रियामै सहभागी भएनन्।

तत्कालीन महामन्त्री शशांक कोइराला पनि सभापतिका कुनै पनि उम्मेदवारको पक्षमा खुलेनन्। शेखर र पूर्वमहामन्त्री प्रकाशमान सिंह दुईजना इतर समूहबाट प्रतिस्पर्धामा उत्रिए। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नपाउँदा दोस्रो चरणमा भएको निर्वाचनमा सिंह पनि देउवातिरै खुल्दा शेखर एक्लै परे।

सिंह र निधि मात्र होइन, सभापतिको प्रत्यासी बनेका कल्याण गुरुङ पनि दोस्रो चरणमा देउवाको पक्षमा उभिए। देउवाइतर समूहका सिंह र गुरुङ उनकै पक्षमा खुल्नु र पौडेल तथा शशांकको मौनताले कांग्रेसभित्रको देउवाइतर समूह टुटफुट हुँदा कांग्रेसमा गुटगत राजनीति केही समय सुस्ताएजस्तो देखिएको थियो। वडा तहसम्म गुटगत रूपमा विभाजित कांग्रेसमा स्थानीय तहको निर्वाचनसँगै गुटहरू फेरि सक्रिय हुने र नयाँनयाँ समूह, उपसमूह निर्माण हुन थालेका छन्।

देउवा समूहबाट अलग भएर १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका निधिले आफ्नै समूह बनाएका छन्। सभापति देउवा समूहभित्र पनि उपसमूहहरू सक्रिय भएका छन्। १३औं महाधिवेशनमा उदाएको कृष्णप्रसाद सिटौला पक्ष अहिले देउवा गुटको सशक्त उपसमूहका रूपमा सक्रिय छ। देउवा समूहमै उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विजयकुमार गच्छदार, देउवा पत्नी आरजु राणासहितका उपसमूहहरू कांग्रेसमा अहिले  सक्रिय छन्।

पार्टीभित्र उपसभापति खड्का निकै हाबी देखिएका छन्। कुनैबेला तत्कालीन सभापति विमलेन्द्र निधिकै जस्तो अहिले कांग्रेसमा खड्काको पकड बढेको निकटहरूको दाबी छ। खड्कालाई महामन्त्री विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणको पनि साथ र समर्थन छ। शर्मा र खाण पनि अहिले आआफ्नो समूह बनाउन लागिपरेका छन्। नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै गृहमन्त्रीको जिम्मेवारीमा पुगेका खाण आगामी पार्टी महाधिवेशनमा नेतृत्वका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेगरी तयारीमा जुटेका छन्।

पार्टीका दुई शक्तिशाली समूहको समर्थनबिनै महामन्त्रीमा निर्वाचित शर्मा पनि आफ्नो अवस्था थप मजबुत बनाउने रणनीतिमा छन्। सभापति देउवाले शर्मालाई खासै विश्वास नगर्दा महामन्त्रीका रूपमा उनको भूमिका भने प्रभावकारी देखिएको छैन।

देउवा समूहभित्रै आरजु नेतृत्वमा खड्काजस्तै अर्को शक्तिशाली समूह सक्रिय छ। पार्टी प्रवक्ता प्रकाशशरण महतसहितका नेताहरू रहेको उक्त समूह सरकार र पार्टी सञ्चालनमा हाबी छ। देउवा नेतृत्वको संस्थापनभित्र पनि उपसभापति खड्का र नेत्री आरजु समूहबीच पार्टी र सरकार सञ्चालनमा टकराव रहेको निकट स्रोतको दाबी छ।

त्यस्तै देउवा समूहभित्र विजयकुमार गच्छदार नेतृत्वमा अर्को उपसमूह सक्रिय छ। १४औं महाधिवेशन अघिसम्म देउवा इतर समूहको नेतृत्व गर्दै आएको रामचन्द्र पौडेलले पनि आफ्नो समूहलाई सक्रिय बनाउँदै आएका छन्। पूर्वमहामन्त्री शशांक कोइराला नेतृत्वमा पनि कांग्रेसमा छुट्टै उपसमूह सक्रिय छ।

पौडेल र शशांक नेतृत्वको समूहलाई शेखर कोइराला पक्षले देउवाकै सहयोगी समूहका रूपमा लिएको छ। तर पौडेल र शशांकसँग निकट अधिकांश नेता तथा कार्यकर्ता शेखर समूहको बैठकमा र भेलामा जाने गरेका छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा पनि कांग्रेसमा अर्को गुट सक्रिय छ। तर सिंहलाई उनकै समूहबाट महाधिवेशनमा उपसभापति र महामन्त्रीको प्रत्यासी बनेका सुजाता कोइराला र विश्वप्रकाश शर्माको पनि साथ छैन। सुजाता पनि आफ्नै गुट बनाउन लागिपरेकी छन्।

शेखर समूहभित्रै पनि विभिन्न उपसमूह सक्रिय छन्। शेखर समूहबाट उपसभापति निर्वाचित धनराज गुरुङ र महामन्त्रीमा निर्वाचित गगनकुमार थापा दुवै आआफ्नो समूह निर्माणमा सक्रिय छन्। गुटभन्दा आफू निकटहरूको मात्र संरक्षण गर्न गुरुङ र थापा सक्रिय भएको भन्दै शेखर समूहको दुईदिने भेलामा उनीहरूमाथि प्रश्न उठाइएको थियो। आफ्ना लागि अबको १०/१५ वर्ष मात्र समय रहेको बताउँदै आएका थापाले आगामी निर्वाचनपछि आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन्।

पार्टीका सबै नेताको ध्यान आफ्नो गुट-उपगुटका मान्छेको व्यवस्थापनमा मात्र केन्द्रित हुँदा सांगठनिक संरचनाहरू निकम्माप्रायः बन्न पुगेका छन्। १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा कोषाध्यक्षसहित २० सदस्य मनोनीत गर्न बाँकी छ। पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा प्रशिक्षण प्रतिष्ठान गठन भए पनि अन्य विभाग गठन हुन सकेका छैनन्।

निर्वाचनमा उम्मेदवार छनोट गर्ने संसदीय समिति पनि गठन भएको छैन। संसदीय समिति गठनबिनै स्थानीय तह निर्वाचनमा महानगरपालिकाहरूको उम्मेदवार छनोट गरेको कांग्रेस आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको छैन। उम्मेदवार छनोट गर्ने समिति गठनमा नेताहरूले चासो नदेखाएको भन्दै एक पदाधिकारीले भन्ने, ‘प्रतिनिधिसभा चुनावको तयारीमा जुट्नुपर्ने बेलामा बल्ल स्थानीय तह निर्वाचन समीक्षामा जुटेर अन्य दलसँग कसरी प्रतिस्पर्धा गर्ने? सबैको ध्यान गुटनिर्माणमा केन्द्रित भयो, पार्टी बनाउन कसैको ध्यान गएन।’

विधानको व्यवस्थाअनुसार कांग्रेसले उम्मेदवार टुंगो लगाउन संसदीय समिति गठन गर्नुपर्छ। स्थानीय तह निर्वाचनअघि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका थिए। तर कार्यसम्पादन समितिमा अझै १० जना थप्न बाँकी छ। विधानतः महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै संरचना निर्माण गरिसक्नुपर्ने व्यवस्था छ।

प्रकाशित: २५ असार २०७९ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App