१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई कृत्रिम नागरिकता दिनुपर्छः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई कृत्रिम नागरिकता दिनुपर्ने बताएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गर्ने विदेशी महिला अथवा पुरुषलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने बताए।

उनले कृत्रिम नागरिकता लिनको लागि पनि नेपालको संस्कृति बारेमा लिखित परीक्षा उत्तिर्ण हुनुपर्ने व्यवस्था गर्नुपर्ने उनले बताए। उनले नेपालको नागरिकता सम्बन्धी समस्या समाधान गर्न खुला सीमालाई बन्द गर्नुपर्ने बताए। सांसद सुवालले नेपालको भूराजनीतिक अवस्था अनुसार नेपालीले विदेशीसँग विवाह गर्नु नहुने बताए।

उनले भने ‘सबै नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र पाउनुपर्छ। यसको अर्थ नागरिकताको प्रमाणपत्र बसको टिकट र सिनेमाको टिकट जस्तै बाँड्ने होइन। नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नैपर्छ। यो सबै नेपाली जनतालाई थाहा भएको कुरा हो। भर्खरै नेपाली सेनाले पनि खुला सीमा बन्द गर्नुपर्ने विषय उठाएको छ। आकाशको सीमा पनि अध्ययन गर्नुपर्छ भनेर नेपाली सेनाले उठाएको छ। नेपाली सेनाको भनाई अनुसार असल छिमेकीको सम्बन्ध बलियो बनाउन खुला सीमा बन्द गर्नुपर्छ। यो सबै नेपालीले उठाउँदै आएको कुरा हो। खुला सीमा बन्द गर्नका लागि जम्मा ४७ अर्ब रुपैयाँ लाग्ने रहेछ। आमा र बुबा दुवै वंशजका नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्छ। र निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारका लागि वंशजको नेपाली नागरिकता आवश्यक हुन्छ। नेपालीले विदेशीसँग विवाह नगर्ने बन्दोवस्त गरौँ। नेपालको भुराजनीतिक अवस्था अनुसार। हामीले सकेसम्म रोक्नुपर्छ। र नेपालीसँग विवाह गरेका विदेशी, महिला वा पुरुषलाई नेपालको कृत्रिम नागरिकता दिन सकिन्छ। कहिले दिने, त्यो २० वर्षपछि। कृत्रिम नागरिकता लिनेले नेपालको संस्कृतिबारे लिखित परीक्षामा उत्तिर्ण गर्नुपर्छ।’

उनले संघ र प्रदेश दुवै तहको नागरिकता बनाउनुपर्ने बताए। उनले महिला र पुरुष बाहेकका लिङ्गको नागरिकता दिनका लागि चिकित्सा विज्ञानले प्रमाणित गर्नुपर्ने बताए।

प्रकाशित: २४ असार २०७९ १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App