५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्री नआएपछि संसदमा होहल्ला

काठमाडौं- 'माननीय उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बोल्नका लागि समय माग्नुभएको छ, अब म परराष्ट्रमन्त्री कमल थापालाई बोल्नका लागि समय दिन्छु,' आइतबार संसद बैठक सुरु हुनासाथ सभामुख ओनसरी घर्तीले विपक्षी बेन्चमा उभिएका सांसदलाई बस्न आग्रह गर्दै यसो भनेपछि मधेसी मोर्चामा आबद्ध दलका सांसद नाराबाजी गर्दै वेलमा प्रवेश गरिहाले।

बाँकी सांसदले मन्त्रीहरु बस्ने बेन्चतर्फ हेरे तर उपप्रधान तथा परराष्ट्रमन्त्री थापालाई देखेनन्।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध राजनीतिक दलका सांसद वेलमा नाराबाजी गर्न थाले भने कांग्रेसका सांसद 'मन्त्री खोई' भन्दै चिच्याउन थाले। नेकपा एमालेका केही सांसद नेपालको समस्याबारे भारतीय संसदमा छलफल हुन्छ भने नेपालको संसदमा पनि छलफल गर्न पाउनुपर्ने भन्दै जर्याएकजुरुक उभिए।

सभामुख घर्तीले सबैलाई पालैपालो बोल्न दिने भन्दै आशनग्रहणका लागि आग्रह गरिन्। सबै सांसद बसिसकेपछि उनले थापालाई बोल्नका लागि समय दिएकी थिइन् तर थापा आइतबार संसद बैठकमै देखिएनन्।

थापा नदेखिएपछि केहीबेर सभामुख पनि अलमलमा परिन्। उनले सँगै रहेका संसद सचिवालयका कर्मचारीलाई इसारा गरिन् र फेरि मन्त्री थापाले समय मागेको भन्दै बोल्नका लागि आग्रह गरिन्। तर, मन्त्री थापा नदेखिएपछि कांग्रेसका सांसद रामहरि खतिवडासहितका केही सांसद उभिएर संसदीय व्यवस्था र संसदको अपमान गरेको भन्दै हलमा मन्त्री देखाइदिन सभामुखलाई हाँक दिए।

'यो संसदीय व्यवस्था र संसदको अपमान हो,' सांसद खतिवडाले संसदको बैठकमा उभिएर भने, 'यो घोर आपत्तिजनक हो। खोई मन्त्री? मन्त्री नै नदेखी किन समय दिइयो?'

कानुनमन्त्री अग्नि खरेलबाहेक अधिकांश मन्त्री आइतबारको बैठकमा देखिएनन्। वेलमा नाराबाजी गर्दै मोर्चाआवद्ध दलका सांसदले माग पूरा गर्नुपर्ने, सरकारी दमन अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी गरिरहे।

कांग्रेस, एमाले, मधेसी मोर्चामा आबद्ध दलका सांसद मात्रै होइन, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र अनुराधा थापाले पनि आफ्नै स्थानमा उभिएर भारतविरोधी नाराबाजी गरे।

यत्तिकैमा फेरि सभामुख घर्तीले सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले महŒवपूर्ण विषयमा सदनलाई जानकारी दिन चाहेको बताउँदै बोल्ने समय दिइन्। अझै पनि थापा देखिएनन्। संसदको बैठकमा लगातारको अवरोध र मन्त्री अनुपस्थित भएपछि सोमबार बिहानसम्मका लागि सभामुख घर्तीले बैठक स्थगित गरिन्।

आइतबार कानुनमन्त्री खरेलले नेपालको संविधान (पहिलो संशोधन) २०७२ प्रस्तुत गर्ने कार्यसूची भए पनि मोर्चाका नेताको अवरोधका कारण पेस हुन सकेन।

त्यसबाहेक सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदबाट प्राप्त पत्र पढेर सुनाउने र महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिकी सभापति सन्जु झाले 'महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको वार्षिक प्रतिवेदन' पेस गर्ने कार्यसूची थियो। त्यसबीच बैठकको सुरुमै भारत भ्रमण सकेर फिर्ता भएका मन्त्री थापाले भ्रमणबारे जानकारी गराउन सभामुखसँग समय मागेका थिए।

उनले समय मागेर पनि संसदमा नआएकाले विरोध गरेको कांग्रेस सांसद खतिवडाले जानकारी दिए।

प्रकाशित: २० मंसिर २०७२ १९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App