देशका ७५३ नगरपालिका मध्ये ७५२ पालिकामा विकास निर्माणको योजना तय गर्ने र बील भरपाइ भुक्तानी गर्न भ्याइनभ्याइ छ। किसानलाई असारे कामको व्यस्तता छ। तर बाजुराको बुढीगंगा नगरपालिकामा भने नेकपा एमाले र नेपाली काँग्रेसलाई चुनावी चटारो छ। नेताहरु यतिबेला चुनाव केन्द्रीत प्रचारमा व्यस्त देखिएका छन्।
वैशाख ३० को चुनाव निर्वाचन आयोगले रद्ध गरेपछि पुन निर्वाचन हुन लागेको हो। निर्वाचन यही असार २३ गते तोकिएको छ। निर्वाचनको मिति नजिकिएसँगै नेताहरुको चुनावी घरदैलो भ्याइ नभ्याइ छ। जिल्लाबाट केन्द्र प्रदेशमा प्रतिनिधित्व गर्ने नेताहरु बुढीगंगा नगरपालिका केन्द्रीत बनेका छन्।
चुनावी प्रचारका लागि गाउँ बस्ती पुग्ने नेताहरुले जनतालाई भेट्नै मुस्कील हुने अवस्था छ। सबै जना विहान देखि बेलुकासम्म नै खेती किसानी गर्नमै व्यस्त छन्, घरमै बसेर नेताहरुसँग भेट्ने अवस्था नै नरहेको उनीहरुको भनाई छ। तर नेताहरु खेतबारीमै पुगेर पनि भेटघाटलाई बाक्लो बनाएका छन्।
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश बहादुर शाह, सहदेव बोगटी, पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही, प्रदेश कमिटीका सदस्यहरु सबै पालिका केन्द्रीत बनेका छन्। उनीहरुले प्रत्येक मतदात भेट्ने रणनीति सहीतको चुनावी तयारीमा छन्।
यता नेपाली काँग्रेसले पनि केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे, प्रदेश समिति सदस्य, पार्टी जिल्ला समितिका पूर्व सभापति कविराज पण्डित, नेताहरु मनबहादुर रावल, पदम बहादुर शाही सहीत चुनावी प्रचारमै व्यस्त देखिएका छन्। दुबै पक्षले चुनावलाई पक्षमा पार्ने रणनीति बनाएका छन्।
चुनावीमा नेकपा एमालेबाट नगर प्रमुखमा रामबहादुर बाँनीया र उपप्रमुखमा माया कुँवर, नेपाली काँग्रेसबाट नगर प्रमुखमा रंगबहादुर खाती र उपप्रमुखमा रिता शाही उम्मेदजार छन्। नेकपा एमालेले १० वटै वडामा उम्मेदवारी दिएको छ। भने काँग्रेसले ९ वटा वडामा मात्र आफ्नो उम्मेदवार बनाएको छ। १ वटा वडामा भने नेकपा एकीकृत समाजवादीसँग सहकार्य गरेको छ।
नेपाली काँग्रेसले गठबन्धनकै तर्फबाट आफ्नो उम्मेदवारी रहेको बताएको छ। माओवादीले नगर उपप्रमुखको उम्मेदवार फिर्ता लिएको थियो। सत्ता र शक्तिको आडमा गरिएको बखेडाले निष्पक्ष मतदानमा भाग लिएका र आफ्नो निर्णयको प्रयोग गरेका नागरिकको माथि अन्याय भएको छ। नगरको विकासमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ।
सत्ता र शक्तिको दुरुपयोग गरेर चुनाव रद्ध गर्ने गरिएका सबै षड्यन्त्र जनताले पुन मतदानबाटै जवाफ दिने एमाले पक्षधरको दाबी छ। भने काँग्रेसले फेरि पनि शत्ता र शक्तिकै आडमा चुनाव जित्ने दाउ हेरेको छ।
चुनावकै कारण बुढीगंगाको विकास रोकिएको छ, प्रक्रिया भत्किएको छ, लोकतन्त्र र विधीको शासन माथि नै प्रश्न उठेको देखिन्छ। अरु पालिकामा विकास र समृद्धीका योजना बन्ने हतार मेरो पालिकामा सत्ता शक्ति र मुठे बलको भरमा चुनावको हतारो काँग्रेस एमालेका केही सचेत युवा नेताहरु भने निराश देखिएका छन्।
यता प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने असार २३ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएका छन्। सुरुमा दुबै पक्षले धाँधलीको आरोप सहीत जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुन मतदानको पत्र निर्वाचन आयोगलाई काटेका थिए।
निर्वाचन सकिएको २ घण्टा पछि सरकारका महान्यायधिवक्त खम्म खातीको दबाबमा जिल्ला स्थित सुरक्षा निकाय, निर्वाचत अधिकृत र अन्य निकायले बाध्य भएर पत्र काटेपछि मतगणना रोकिएको आरोप छ। तर महान्यायधिवक्ताको कार्यालयले विज्ञप्ती जारी गरेर कुनै संलग्नता नभएको दाबी गरेको छ।
नेकपा एमालेले विधि प्रक्रिया पुरा गरेर सम्पन्न निर्वाचनलाई कुनै व्यक्ति र आफन्त जिताउन राज्यको शक्ति प्रयोग हुन हुदैन्, भन्ने अडान सहीत गणनाको पक्षमा छ। भने नेपाली काँग्रेसले २,३,५र ९ मा पूर्ण रुपमा धाँधली भएको आरोप सहीत पुन मतदानको माग गरिरहेको छ।
निर्वाचन आयुक्त सगन समशेर जवराको नेतृत्वमा आएको छानवीन टोलीले मतगणना हुनु पर्ने र विधी पुगेर सबैस्थानमा निर्वाचन भएको प्रतिवेदन बुझाएको थियो। काँग्रेसबाट मेयरका उम्मेदवार एवं सरकारका महान्यायधिबक्ताका सहोदर दाइ रंग खातीलाई जिताउन गरिएको अनावश्यक हस्तक्षेपलाई आधार नमान्न समेत प्रतिवेदनमा उल्लेख छ। मेयरका उम्मेदराव खातीकै गृह वडामा ९९.९४ प्रतिशत मत खसेको थियो। बुढीगंगा यतिबेला देशकै एक नमुना पालिकाको रुपमा चर्चामा छ।
तयारी पुरा, सुरक्षामा कडाइ
जिल्लाको बुढीगंगा नगरपालिकामा यहि असार २३ गते हुने स्थानीय तहको निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत माधव प्रशाद घिमिरेले बताएका छन्। चुनावमा निर्वाचन अधिकृत १ जना, सहायक निर्वाचन अधिकृत १ जना, मतदान अधिकृत १९ जना सहायक मतदान अधिकृत १९ जना र अन्य ३८ जना कर्मचारीलाई निर्वाचनमा आवश्यक सामग्री दिएर पठाईसकेको छ।
नगरपालिकामा १० वटा मतदान स्थलमा १९ वटा मतदान केन्द्र छन्। मतदाताहरुलाई स्वतन्त्र रुपमा मतदान गराउन र कुनै पनि मतदातालाई असुरक्षाको महसुस हुन नदिन सो क्षेत्रमा सुरक्षामा कडाइ गरिने जिल्ला सुरक्षा निकायका प्रमुख एवम प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताएका छन्।
नगरपालिकाका सबै मतदान केन्द्रमा चार वटै सुरक्षा निकायबाट प्रयाप्त मात्रामा सुरक्षाकर्मि परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताएका छन्। निर्वाचनमा नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,अनुसन्धान गरि चार वटै सुरक्षा निकायबाट सुरक्षाकर्मी पठाइसकेको जिल्ला सुरक्षा समितिले जनाएको छ।
मतदानका लागि सुरक्षा फोर्स व्यापक पठाइएको छ। एउटै बुथमा एक जना नेपाल प्रहरी र एक जना शसस्त्र प्रहरीको प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गर्ने तयारी थालिएको छ। एउटै बुथमा मात्र कम्तीमा ८० जना बढी प्रहरी खटाउने तयारी थालिएको सुरक्षा श्रोतको दाबी छ।
प्रकाशित: २० असार २०७९ १६:०५ सोमबार