८ वैशाख २०८१ शनिबार
राजनीति

‘संसद् अवरोधले गैरदलीय प्रवृत्ति बढ्यो’

एकीकृत समाजवादीका नेता झलनाथ खनालले सनकको भरमा संसद् विघटन गर्ने र संसद् अवरोध भइराख्ने गरेकाले संसद् प्रभावकारी नहुँदा गैरदलीय प्रवृत्ति देखापर्न थालेको बताएका छन्।

सिंहदरबारमा बिहीबार ६४औं संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ‘स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन’ भन्दै यो सनकको भरमा संसद् विघटन गर्नु र निरन्तर संसद् अवरोध गर्नुको परिणाम भएको उनको भनाइ थियो।

उनले सनकको भरमा दुईदुई पटक संसद् भंग गरेको र पुनःस्थापित संसद्लाई पनि गतिशील बनाउन अवरोध गरेको भन्दै एमालेको आलोचना गरेका छन्। एमालेको संसद् अरोध गर्ने नीतिले जनताका कुरा राख्न नपाइएको बताए।

एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङले संसद् अवरोध विगतमा पनि भएको बताए। उनले झलनाथ खनालसमेत सामेल भएर संसद् अवरोध गरेको विगत सम्झाएका थिए। उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढेको भन्दै अघि नबढाउन खोजिएको बताए।

२०७८ फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनका ९८ सांसदले संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। हालसम्म महाअभियोग सिफारिस समितिमा महाअभियोग प्रस्ताव पठाइएको छैन। महाअभियोग प्रस्ताव दर्तापछि प्रधानन्यायाधीश जबरा निलम्बित अवस्थामा छन्। उनको कार्यकाल आगामी मंसिरको तेस्रो हप्तासम्म रहेको छ।

सोही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय व्यवस्थालाई जोगाएर मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेको बताएका छन्। यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताए। संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्थालाई जोगाएर मुलुकलाई समृद्ध बनाउन आफ्नो तर्फबाट महत्त्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो।

२०१६ साल असार १६ गते पहिलो संसद् बैठक बसेको र अहिले ६४औं दिवस मनाउन पाउनु खुसीको विषय भएको पनि उनले बताए। जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्त्वपूर्ण भएको र उपलब्धिलाई बचाएर मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व भएको उनले बताएका थिए।

प्रकाशित: १७ असार २०७९ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App