८ वैशाख २०८१ शनिबार
राजनीति

प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्योः वामदेव गौतम

पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन्।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि फलस्वरुप ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताएका हुन्।

उनले एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव, त्यसको जवाफमा प्रधानमन्त्रीले संसद नै विघटन गर्नु कुनै हिसाबमा उचित नभएको बताए। उनले पहिलो चरणमा अध्यक्ष दाहालको दोषका कारण नेकपा विभाजित भएकोप्रति लक्षित गर्दै फलस्वरुप ओलीले संसद बन्द गरेको बताए।

सदस्य गौतमले कम्युनिष्ट एकताकै लागि आफू कुनै समूहमा नलागेको पनि बताए। उनले वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेकोले आत्मलोचना गरेको बताए। उनले त्यो बेला अध्यक्ष दाहालको समूहमा नगइ बीचमा बसेर मध्यस्थता गर्न सकेको खण्डमा कुनै हालतमा पार्टी विभाजन नहुने बताए।

राष्ट्रिय सभा सदस्य गौतमले तत्कालीन अध्यक्ष दाहालले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको तर्क गरे। उनले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि प्रचण्डले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताए। उनले अन्तिम बैठकमा अध्यक्ष दाहालले आफूलाई नै सबै दोष दिएपछि आफू मौज बसेको बताए।

यस्तै राष्ट्रिय सभा सदस्य गौतमले नेपाली काँग्रेस पार्टी दलाल, नोकरशाही, पुँजीपति वर्गको पार्टी नभएको पछिल्ला घटनाक्रमले देखाएको बताए। उनले काँग्रेस पुँजीवादी, सुधारवादी पार्टी हो भन्ने प्रमाणित भइसकेको तर काँग्रेसलाई सरकारको नेतृत्व दिँदा एमसिसीजस्ता सबैकुरा भित्रिने आरोप लगाए। उनले एमसिसीलाई संसदबाट अनुमोदन गर्नपनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य पारेको बताए।

राष्ट्रिय सभा सदस्य गौतमले स्थानीय निर्वाचनको नतिजालाई हेर्दा नेपाली काँग्रेस आउँदो निर्वाचनमा पनि पहिलो पार्टी बन्ने देखिएको बताए। काँग्रेसलाई नेतृत्व सुम्पिँदा एमसिसीजस्ता कुराले स्थान पाउने भन्दै कम्युनिष्टहरु मिलेर काँग्रेसलाई सँगै लैजानुपर्ने तर काँग्रेसको नेतृत्वमा सरकार बन्न दिनु नहुने बताए। उनले काँग्रेसको नेतृत्वमा देश विकास हुन नसक्ने पनि दाबी गरे।

प्रकाशित: ११ असार २०७९ ०६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App