१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लोसपा–जसपा एकताका लागि पहल

जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्।

एकीकरणका लागि जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले लोसपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन्। कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै वार्ताका लागि लोसपाका नेताहरूलाई आह्वान गरिसकेका छन्। यादवनिकट दोस्रो तहका नेताहरूले पनि लोसपाका नेताहरूसँग छुट्टै कुराकानी गरेका छन्।  

केही दिनअघि भट्टराईले लोसपाका शीर्ष नेता राजेन्द्र महतोसँग कुराकानी गरेका थिए। उक्त कुराकानीमा पार्टी एकीकरण गर्न भट्टराईले प्रस्ताव गरेका थिए। भट्टराई र उनी पक्षीय नेता राजकिशोर यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेट गर्न समय मागेको ठाकुरका सहयोगी सतेन्द्र मिश्रले बताए। मिश्रका अनुसार आजभोलि नै भेटघाट हुने सम्भावना छ। लोसपाका नेताहरू यादव पक्षसँग भन्दा भट्टराई पक्षसँग पार्टी एकीकरण गर्न इच्छुक देखिएका छन्। ‘उपेन्द्रजी जब आफू अप्ठयारोमा पर्नुहुन्छ, पार्टी एकीकरण गर्न हामीसँग प्रस्ताव गर्नुहुन्छ। तर एकीकरण गरेपछि बिर्सनुहुन्छ,’ राजेन्द्र महतोले भने, ‘त्यसैले उहाँ (यादव) लाई विश्वास गर्न सकिन्न।’ उनले भट्टराईसँग भेट भएको पनि स्वीकार गरे।  

स्रोतका अनुसार भट्टराई पक्षसँग एकीकरण गर्न लोसपाका नेताहरूले चाहेका छन् तर यसमा लोसपाको एउटा सर्त छ। ‘पहिले उहाँ (भट्टराई) ले आफ्नो पोजिसन प्रस्ट पार्नुहोस्। त्यसपछि उहाँसँग एकीकरणका लागि प्रक्रिया अघि बढ्न सक्छ,’ लोसपाका एक नेताले भने, ‘हामीले भन्न खोजेको के हो भने पहिले जसपा फुटोस् अनि एकीकरणका लागि प्रक्रिया अघि बढ्छ।’ अहिलेकै स्थितिमा कसैसँग एकीकरण हुन नसक्ने ती नेताको भनाइ छ।

‘अहिले उहाँ (भट्टराई) सँग कसरी एकीकरण गर्न सम्भव छ? जबकि, जसपाको कार्यकारिणी अध्यक्ष उपेन्द्रजी हुनुहुन्छ।’

लोसपा स्रोतका अनुसार केही दिनअघि यादवसँग निकट मानिएका नेता तथा वन तथा वातावरणमन्त्री रामसहाय यादवले लोसपाका नेता लक्ष्मणलाल कर्णसँग भेट गरेका थिए। उक्त भेटमा पनि पार्टी एकीकरणको विषयमा कुराकानी भएको स्रोतको भनाइ छ। लोसपा र जसपाका दोस्रो तहका नेताहरूबीच कुराकानी भएको लोसपाका कार्यकारिणी समितिका सदस्य डा. सुरेन्द्र यादवले बताए। पार्टी एकीकरणका लागि अनौपचारिक किसिमबाट कुराकानी भएको तर औपचारिक रूपमा यसबारेमा छलफल र बैठक नभएको उनको भनाइ छ।  

स्रोतका अनुसार लोसपाका माथिल्लो तहका नेताहरू भट्टराई पक्षसँग एकीकरण गर्न इच्छुक छन् तर तल्लो तहका नेताहरू भने उपेन्द्र यादव पक्षसँग एकीकरण गर्न इच्छुक देखिएका छन्। तल्लो तहबाट यादव पक्षसँग एकीकरण गर्न सुझाव आएको लोसपाका दोस्रो तहका नेताहरू बताउँछन्। पहिलो तहका नेताहरू यादवबाट फेरि पनि धोका हुन सक्ने बताउँछन्। उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन समाजवादी पार्टी फुट्नै लागेका बेला २०७७ वैशाख १० गते मध्यरातमा हतारहतारमा यादव र तत्कालीन जसपाबीच एकीकरण गर्ने निर्णय गरिएको थियो। त्यस दिन राति दुई पार्टीबीच एकीकरण नभएको भए तत्कालीन समाजवादी फुट्ने अवस्थामा रहेको लोसपाका नेताहरू बताउँछन्। ‘हामीले उहाँ (यादव) लाई त्यति ठुलो गुण लगायौं। पार्टी फुट्नबाट जोगायौं। तर उहाँले गुण बिर्सुनभयो। उल्टै धोका दिनुभयो,’ लोसपाका नेताहरू भन्ने गर्छन्।  

यादव र ठाकुर छुट्टिएको एक वर्ष पनि पूरा भएको छैन। गत भदौ १ गते ठाकुर, महतो, शरतसिंह भण्डारी, अनिल झालगायत नेताहरूले जसपा विभाजन गरी लोसपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसको नौ दिनपछि आयोगले लोसपालाई पार्टीका रूपमा मान्यता दिएको थियो। ‘छुट्टिएको एक वर्ष पनि भएको छैन। त्यसैले अझैसम्म ठाकुर र यादवबीचको व्यक्तिगत इगो अझै पूर्ण रूपमा हटिसकेको छैन,’ लोसपाका दोस्रो तहका एक नेताले भने,‘तर लोसपाका तल्लो तहका कार्यकर्ताहरू भट्टराइसँग नभइ यादव पक्षसँग एकता होस भन्ने चाहेका छन्। किनभने उहाँ (यादव) र हाम्रो आधार क्षेत्र एउटै हो र अजेन्डा पनि उस्तै छन्।’ भट्टराई पक्षसँग जनाधार नै नभएको ती नेताको आरोप छ।  

लोसपाका अर्का एक कार्यकारिणी सदस्य राजीव झाले सिंगो जसपा र लोसपाबीच एकीकरण होस् भन्ने आफूले चाहेको बताए।

प्रकाशित: ११ असार २०७९ ०१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App