नेकपा एमालेका सांसद नवराज सिलवालले नेपाल प्रहरीमाथिको राजनीतिकरण बन्द गर्न सुझाव दिएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा भएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी सुपरिवेक्षण र समन्वय ऐन संशोधन विधेयक’ माथिको छलफलमा भाग लिदै उनले नेपाल प्रहरी सरकारी हस्तक्षेपले गर्दा ध्वस्त भएको बताए।
‘सम्माननिय प्रधानमन्त्री आइजी, डीआइजी र एसपी बढुवा गर्नेमा लाग्ने होइन। मुलुकको समृद्धिका लागि लाग्ने हो’, सिलवालले भने, ‘सरकार नेपाल प्रहरीका सामान्य बिषयमा पनि छिरेको छ। यसले संगठनलाई ध्वस्त बनाएको छ।’
उनले हस्तक्षेपका कारण प्रहरीले स्वतन्त्र रुपमा काम गर्न नसकेको उल्लेख गरे। ‘प्रहरी माथि अत्याचार छ। प्रहरीलाई राम्ररी काम गर्न दिइएको छैन’, सिलवालले भने। उनले केही वर्ष पहिलेको अध्ययनको हवाला दिदै नेपाल प्रहरी अनुसन्धान गर्ने क्षमतामा सार्क मुलुकहरुमध्ये एक नम्बर रहेको उल्लेख गरे। सिलवालले आ–आफ्ना मान्छेलाई च्याप्ने र सरुवा बढुवा गर्ने प्रवृत्ति बन्द गर्न सुझाव दिए। ‘यस्तो संगठनलाई एउटा प्रणालीमा ल्याउनुपर्याे। सु–संस्कृत बनाउनुपर्याे। यसको विकासका लागि साधन स्रोत सम्पन्न बनाउनुपर्र्यो’, उनले भने।
प्रकाशित: ६ असार २०७९ १०:३० सोमबार