२७ श्रावण २०७९ शुक्रबार
राजनीति

मन्त्री आलेको आचरणविरुद्ध उजुरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरको आचरणविरुद्ध संघीय संसदको ‘आचारण अनुगमन समिति’मा उजुरी परेको छ। उजुरीमा उनको भनिएको अडिओको ल्याब परीक्षण र कारबाहीको माग गरिएको छ। आइतबार अधिवक्ताद्वय किशोर पौडेल, अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले उजुरी गरेका हुन्।

उजुरीमा डोटी जिल्लाबाट निर्वाचित सांसद आलेले विभिन्न व्यक्तिहरूसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका क्रममा अश्लील शब्द प्रयोग गरेर गाली गरेको भनेर आएका समाचारलाई उजुरीको कारण बनाइएको छ।

उजुरीमा सांस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयूक्त समाज निर्माण गर्ने जिम्मा पाएका मन्त्री आलेले २०७८ फागुन ३ गते सार्वजनिक भएको पहिलो टेलिफोन अडिओमा मुम्बईमा बस्ने एक नेपाली युवालाई अश्लील र अपशब् प्रयोग गरेर गाली गरेको र ०७९ साल असार ३ गते मिडियामा सार्वजनिक ‘सुन्नै नसक्ने’ अडिओमार्फत नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको समेत जानकारी आएको भन्दै त्यसलाई खेदजनक भनिएको छ।  

‘सांसदको आचार संहिताको विषयमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधीसभा सदस्यहरूले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचारण अनुकूलको व्यवहार गर्ने उल्लेख छ,’ उजुरीमा भनिएको छ, ‘यस्तै सोही नियमको उपनियम (२) मा आचारसंहिता प्रतिनिधि सभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने विषय समेत उल्लेख छ।’  

यसरी नियमको बर्खिलाप हुनेगरी मन्त्री आलेले अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न नमिल्ने उजुरीमा उल्लेख छ।

मन्त्री आलेको त्यो बोली र व्यवहारले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पुर्‍याएको नभई, सामाजिक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिवाटै निर्लज्ज प्रहार भएको उजुरीमा उल्लेख छ।

पहिलो टेलिफोन अडियो आलेले आफ्नो भएको स्वीकार गरेको विषय उजुरीमा उल्लेख गर्दै दोस्रोको विषयमा हालसम्म कुनै प्रतिक्रिया नआएको भनिएको छ। साथै उजुरीमा सांसदले राष्ट्रको भाषिक अस्तित्वलाई जोगाउँदै देशको साँस्कृतिक विविधतालाई विश्व मञ्चमा पहिचान र प्रदर्शन गर्नुपर्ने उल्लेख छ।  

‘तर माननीय सांसद प्रेम आलेज्यूले प्रयोग गर्नुभएका यी शब्द कदापी समाजमा बोल्न र सुन्न योग्य होईनन्। के नेपालले यस्तै जनप्रतिनिधिबाट भाषा स्थापित गर्न खोजेको हो?,’ उजुरीमा उल्लेख गरिएको छ,‘यी र यस्तै गतिविधिका कारण आमजनताबीच जनप्रतिनिधिमूलक संस्थाप्रतिको विश्वासमा संशय पैदा हुनु स्वभाविकै हो।’

साथै यस्तै घटना दोहोरिरहने र आचारसंहिताविपरीतका कार्य गर्ने सांसदलाई सम्मान गर्दै जाने हो भने आम राजनीतिक दलहरूप्रतिको वितृष्णा अझै बढ्न सक्ने भएकाले उजुरी हालिएको जनाइएको छ। ‘यो अडिओको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्नुहुन अनुरोध गर्दछौं,’ उजुरीमा भनिएको छ।  

माधवको आलटाल

पर्यटनमन्त्री आलेको यो विवादास्पद अभिव्यक्ति र व्यवहारका विषयमा नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले जवाफ दिन आलटाल गरेका छन्। आइतबार आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा सम्पादकहरूले यसविषयमा प्रश्न सोध्दा उनले आलटालवाला जवाफ दिएका छन्।  

‘जहाँसम्म पर्यटनमन्त्रीको विषयमा सोध्नु भो, मान्छेको बारेमा सोध्दा जवाफ दिन धेरै गाह्रो हुन्छ। यतिमात्रै भन्न चाहन्छु–कुनैपनि कुरा बोल्दा निकै ध्यान दिनुपर्छ,’ अध्यक्ष नेपालले भने।  

जिब्रोलाई लगाम नलाउँदा समस्या निम्तने उनले बताए। सो क्रममा एउटा हिन्दी सायरी सुनाए, ‘जीबा ऐसी भाभरी, कहगए बात बबाल, आपत तो भितर पसी मार खाए कपाल!’ यत्ती भनेर अध्यक्ष नेपालले यस विषयको प्रतिक्रिया टुंग्याए।

प्रकाशित: ६ असार २०७९ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App