स्थानीयतहहरुको तालुक संस्थाको रुप मानिएको जिल्ला समन्वय समितिको प्रमुखमा को हुने भन्ने यकिन हुन सकेको छैन। गठबन्धन गरेर देशव्यापी स्थानीयतहको चुनाव लडेका सत्तारुढ दलहरु नेपाली काँग्रेस, नेकपा (माओबादी केन्द्र) र नेकपा (एकीकृत समाजबादी) मध्ये कसलाई प्रमुख र उपप्रमुख दिने भन्नेबारे अहिलेसम्म यकिन भईनसकेकाले कसको जिम्मामा समन्वय गर्ने भाग पर्ने यसै भन्न सक्ने अवस्था छैन।
स्थानीयतह चुनावअघिदेखि नै समन्वय प्रमुख बन्नका लागि नेपाली काँग्रेसबाट ३ जना सदस्य चुनाव लडेका थिए। त्रियुगा ११ बाट भिमचन्द्र राई, १० बाट बिनोद बस्नेत र १५ बाट कुलबहादुर खत्री सदस्य उठ्नुको तात्पर्य समन्वय प्रमुख हुनकै लागि थियो। जसमध्ये खत्री र बस्नेत पराजित भए भने राई सदस्य निर्वाचित भएका छन्।
यता गठबन्धनकै अर्को घटक माओबादीका बिमल किराती समन्वय समितिकै लागि त्रियुगा नगरकार्यपालिका सदस्य चुनाव लडे। नगरपालिकामा गठबन्धन नगरी एक्लै चुनाव लडेर जितेको काँग्रेस बहुमत प्राप्त गरेकाले उसँगको गठबन्धन हुन नसकेपछि नेकपा (एमाले)सँग मिलेर कार्यपालिका चुनाव लडेको माओबादीका निर्वाचित ३ सदस्यमध्ये किराती एक हुन्। कार्यपालिका चुनावमा एमालेसँग गठबन्धन भएपछि काँग्रेससँग झन् बढेको दुरी कम गर्न गठबन्धनमा आबद्ध दलहरु अहोरात्र खटिरहेको बताइएको छ।
यति हुँदाहुँदै पनि समन्वय प्रमुख कसले लिने भन्ने विषयको छिनोफानो गर्न आईतबार पनि विहानदेखि गठबन्धनको बैठक बस्यो। तर, काँग्रेस र माओबादी दुवैले प्रमुखमा दावी नछाडेपछि यसको अन्तिम निर्णय गर्ने जिम्मा केन्द्रीय गठबन्धनलाई सुम्पन बैठक सहमत भएको बताइएको छ। जस अनुसार गठबन्धनभित्रका दलहरुमध्येबाटै एकजनालाई प्रमुख र अन्यलाई उपप्रमुख तथा सदस्य दिएर भागबण्डा मिलाउने निश्कर्षमा पुगेको गडबन्धनमा आबद्ध दलहरुले जनाएका छन्।
स्थानीय तह चुनावमा देशव्यापी मेलमिलाप गरेको र आगामी मंसिरमा हुने प्रदेश तथा संघीय प्रतिनिधिसभा चुनावसम्म गठबन्धन कायम राख्ने टुंगोमा पुगेका दलहरु समन्वय चुनावमा पनि मिलेरै जानु पर्ने निश्कर्षबाट भने विमुख नभएको नेपाली काँग्रेस उदयपुरका सभापति हिमाल कार्कीले बताएका छन्।
उदयपुरमा ४ नगरपालिकाका मेयर, उपमेयर ८ तथा ४ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष ८ गरी ८ वटा स्थानीयतहका १६ जना मतदाताले समन्वय प्रमुख, उपप्रमुख र सदस्य चयन गर्न पाउने प्रावधान छ। १६ मध्ये नेपाली काँग्रेसका ३ नगरप्रमुख र ४ उपाध्यक्ष गरी ७ मत रहेको छ भने एमाले १ नगरप्रमुख र ४ उपप्रमुख गरी ५ जना छन्। त्यस्तै माओबादीका ३ अध्यक्ष र एकीकृत समाजबादी १ अध्यक्ष रहेको मतदाताले समन्वय समिति चयन गर्नेछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले समन्वय समितिको बैठक आउँदो ९ गतेलाई तोकेको छ। जेठ ३१ गते प्रकाशित निर्वाचन कार्यतालिका अनुसार ६ गते मतदाता नामावली प्रकाशन गर्ने, छुट नाम समावेश गर्ने, गल्ती सच्याउने, दावी बिरोध गर्ने, दावी विरोधको छानविन गरी सोही दिन दिउसो ४ देखि ५ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ। त्यसैगरी ७ गते उम्मेदवारी दर्ता, परेको उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारविरुद्ध दावी बिरोध गर्ने कार्यतालिका रहेको छ।
८ गते दावी बिरोधउपर जाँचबुझ र निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी सोही दिन साँझ ४ देखि ५ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यसपछि ९ गते विहान ११ बजेदेखि दिउसो १ः०० बजेसम्म मतदानको कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताएका छन्। मगरका अनुसार मतदान सकिएलगत्तै गणना गरी सोहीदिन नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाइएको छ।
प्रकाशित: ५ असार २०७९ १३:०० आइतबार