रौतहट र सर्लाहीमा शीतलहरले जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसोका कारण यातायात, कृषि, शिक्षा र व्यापार क्षेत्र ठप्प भएका छन्।
दुई दिनदेखि घाम नलागेको र चिसो स्याँठ चलिरहेको कारण सार्वजनिक यातायात प्रायः खाली देखिएका छन्। कार्यालयमा कामको सिलसिलामा जानेबाहेकका यात्रुहरू यात्रामा देखिएका छैनन्। अधिकांश सार्वजनिक यातायात सेवा ठप्प छन्।
चिसोले कृषकहरूलाई पनि ठुलो चुनौती दिएको छ। समनपुरका किसान मेघु सहनीले अत्यधिक जाडोमा बाख्रालाई जोगाउन गाह्रो भएको बताए। उनका अनुसार बाख्रा चराउन बाहिर लैजान नसकिने र घाँस ल्याउन खेतमा जान कठिन भइरहेको छ।
रौतहट र सर्लाहीका ग्रामीण क्षेत्रका किसानहरूले घरमै दुई चार बाख्रा पाल्ने गरे पनि वनक्षेत्र नजिकका किसानहरूले दर्जनौँ बाख्रा पालिरहेका छन्। चिसोले यी पशुधनको हेरचाहमा थप समस्या निम्त्याएको छ।
शीतलहरले व्यापार व्यवसाय पनि ठप्प भएको छ। कटहरियाका व्यापारी नसरुदीन अन्सारीले मानिस घरबाट बाहिर निस्किन नसक्दा व्यापारमा गिरावट आएको बताए।
गौरका किराना व्यवसायी विकेश साहले होटल तथा किराना व्यवसायमा समेत गिरावट आएको जनाए।
चिसोले शिक्षा क्षेत्र झन् बढी प्रभावित भएको छ। सर्लाहीका विद्यालयहरू माघ २ गतेसम्मका लागि बन्द गरिएका छन् भने रौतहटका अधिकांश विद्यालय पनि बुधबारदेखि बन्द गरिएका छन्। गौर, ईशनाथ, बौद्धिमाई, गरुडा, कटहरिया, वृन्दावन लगायतका नगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न आदेश दिएका छन्। गढीमाई नगरपालिकाले पनि विहीबार र शुक्रबार बिदाको घोषणा गरेको छ।
रौतहटका सयौँ विद्यालय र क्याम्पसहरू बन्द भएका छन्। विद्यालय बन्द भएपछि हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। यद्यपि, केही बोर्डिङ स्कूलमा पढाइ जारी रहे पनि विद्यार्थी उपस्थिति न्यून रहेको छ। बुधबार बिहान खुलेका सरकारी विद्यालयमा पनि विद्यार्थी संख्या कम देखिएको छ।
दिनभरि घाम नलाग्नु र पश्चिमी हावाले जनजीवनलाई थप कठिन बनाएको छ। अत्यधिक जाडोले बालबालिका, वृद्धवृद्धा, किसान र व्यापारी सबैलाई प्रभावित पारिरहेको छ। शीतलहरले अझै केही दिनसम्म असर गर्ने अनुमान गरिएको छ।
प्रकाशित: २४ पुस २०८१ १४:४८ बुधबार