नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले फोहोर व्यवस्थापन गर्ने कुरामा बञ्चरे डाँडाको विकल्प खोज्नुपर्ने बताएका छन्।
शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा प्रवक्ता महतले सधैँ राज्यले बञ्चरे डाँडामा फोहोर विसर्जन गर्छु भन्ने मानसिकताबाट मुक्त भइ त्यसको विकल्प खोज्नुपर्ने बताएका हुन्।
उनले सधैँ बञ्चरे डाँडा, ओखरपौवा र सिसडोल नै फोहोर व्यवस्थापनको लागि पर्याप्त भइ नरहने भन्दै त्यसको विकल्पको रुपमा आधुनिक प्रविधियुक्त मेसिनको आवश्यक रहेको बताए। प्रवक्ता महतले बञ्चरे डाँडाका बासिन्दालाई दुर्गन्धबाट टाढा राख्न र रोगव्याधीको समस्या, दुर्घटनाबाट टाढा राखि रोजगारी व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने बताए। उनले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुनुपर्ने भन्दै दुर्गन्धबाट टाढा बस्न पाउनुपर्ने माग बञ्चरे डाँडावासीको जायज माग भएको बताए।
प्रवक्ता महतले भन्नुभयो, ‘मुल समस्या यो दुर्गन्धको छ। त्यसबाट निस्किने रोगव्याधीको समस्या छ। दुर्घटना, रोजगारीको समस्या र जीवनयापनको समस्या यी कुराहरुमा ध्यान दिन र सरकार गम्भीर बन्न जरुरी छ। अब फोहोरको व्यवस्थापन हुनुपर्छ। त्यसको दीर्घकालीन समाधान हुनुपर्छ। त्यसको विकल्प पनि खोज्नुपर्छ।
प्रवक्ता महतले अहिलेको काठमाडौंको बेहाललाई ध्यानमा राखेर स्थानीयवासीसँग सहजता प्रदान गर्न पनि आग्रह गरे। उनले स्थानीयको माग, फोहोरको दुर्गन्ध न्यून गर्ने तात्कालीक उपायहरु, तत्काल लागू गर्नपर्ने भन्दै वातावरणीय प्रतिवेदनका आधारमा प्रभावित क्षेत्रलाई वर्गीकरण गरेर क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे।
प्रकाशित: २७ जेष्ठ २०७९ ०९:४७ शुक्रबार