नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्। शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताएका हुन्।
उनले अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताए। नेता श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डपिल्ड साइटका बासिन्दाहरुलाई पनि न्याय र सफा वातावरणमा बस्नेकुराको सुनिश्चितता गर्र्नुपर्ने बताए। उनले काठमाडौंको फोहोरको समस्या राष्ट्रिय समस्याका रुपमा आइसकेकोले सबै गम्भीर र सचेत हुन आवश्यक रहेको बताए।
उनले भने, ‘अहिले काठमाडौंमा हेर्नै, बस्नै नसकिने स्थिति छ। काठमाडौंको जनस्वास्थ्यको कुरा गरिरहँदा ल्याण्डफिल्ड साइटको वरपर बस्ने स्थानीय जनसमुदायहरु हुनुहुन्छ तपाईहरुले भोग्नुभएको समस्या पनि कम छैन। यसको स्थायी समाधान नखोजिकन हुँदैन। सधैँ पटके ढंगबाट समाधान गर्ने र फेरि दोहोरिने कुराले अब हामी अघि बढ्न सक्दैनाैं।’
नेता श्रेष्ठले कानुनि रुपमा जिम्मेवारी लिएका निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण पालना गर्नुपर्ने बताए। उनले सरकारसँग भएका विभिन्न सम्झौताहरुलाई समयमै कार्यान्वयन गर्नेकुरामा गम्भीर हुनुपर्ने बताए।
प्रकाशित: २७ जेष्ठ २०७९ ०९:४६ शुक्रबार