८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

उदयपुरमा पहिले हारेका सबै उम्मेदवारले यसपटक जिते

त्रियुगा नवनिर्वाचित मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राई। तस्बिरः महेश्वर

अघिल्लो चुनावमा पराजित उदयपुरका सबै स्थानीयतहका उम्मेदवारहरु यसपटक विजयी भएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावमा विजयी जिल्लाका २ नगरप्रमुख, १ गाउँपालिका अध्यक्ष र ४ उपाध्यक्ष २०७४ मा पराजित उम्मेदवारहरु हुन्।  

उनीहरुमध्ये गत चुनावमा पराजित २ मेयर र २ अध्यक्ष जितेर स्थानीय सरकारको लगाम समात्न पुगेका छन् भने अध्यक्षमा पराजित ४ उम्मेदवार यसपटक उपाध्यक्ष जित्न सफल भएका छन्। जिल्लाको ठूलो र अगुवा नगरपालिका त्रियुगा र बेलका नगर तथा रौतामाई गाउँपालिकामा पहिले हारेका प्रमुखका उम्मेदवार त्यसबेला जितेकालाई हराउँदै ‘सिंह दरवार’मा ‘राज’ गर्न आइपुगेका छन्।

त्रियुगामा नेपाली काँग्रेसका बसन्तकुमार बस्नेत, बेलकामा काँग्रेसकै अशोक कार्की, रौतामाईमा नेकपा (माओवादी केन्द्र)का वीरेन्द्र मगर अघिल्लो चुनावमा अध्यक्षमा पराजित भएका थिए। त्यसबेला एमालेबाट पराजित उनीहरुले यसपटक एमालेलाई नै हराउँदै अवको ५ वर्ष सत्ता सम्हाल्ने मौका पाएका छन्। त्रियुगामा बस्नेतले आफूलाई पराजित गर्ने नेका (एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरी र एमालेका भागवत राउतलाई हराउँदै नगरको कमाण्ड सम्हाल्ने मौका पाएका छन्।

बेलकामा पनि कार्कीले पहिले आफूलाई हराउने एमालेकै दुर्गाकुमार थापालाई पराजित गरी नगर सरकार प्रमुख बन्न सफल भएका छन् भने रौतामाईमा एमालेकै भरत थापालाई हराएर माओवादी उम्मेदवार मगर सरकार सञ्चालनको जिम्मेवारीमा पुगेका छन्। त्रियुगामा चौधरी र बेलकामा थापाले अघिल्लो चुनावमा बस्नेत र कार्कीलाई हराएका थिए भने रौतामाईमा पहिलेका अध्यक्ष गजेन्द्र खड्काले मगरलाई हराएका थिए। उनको ठाउँमा यसपटक पार्टीले थापालाई टिकट दियो।  

गत चुनावमा त्रियुगाका बस्नेतलाई ७३ मतले पराजित गरेका चौधरीलाई यसपटक ४ हजार ८ सय १२ मतको फराकिलो अन्तरले पराजित गर्न पुगे। त्यसबेला चौधरीले ११ हजार ३ सय ६८ मत ल्याएर बस्नेतलाई पराजित गरेका थिए। गत चुनावमा ११ हजार २ सय ९५ मत पाएका बस्नेतले यसपटक १३ हजार ९ सय ५९ मत ल्याएर चौधरीलाई पराजित गर्न पुगे। यसपटक चौधरीले ९ हजार १ सय ४७ मतमै चित्त बुझाउनु परेको छ। बस्नेतलाई यसपटक निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतभन्दा २ हजार ८३ मत बढी परेको छ। अर्थात् राउतलाई ११ हजार ८ सय ७३ मत मात्र पर्‍यो। अघिल्लो चुनावमा एमालेबाट विजयी चौधरी यसपटक एकीकृत समाजवादीबाट उठेका थिए।

त्यसैगरी बेलका नगरप्रमुखमा कार्कीले १० हजार १ सय २० मत ल्याएर नगर सरकार हाक्ने अवसर पाउँदा यसअघिका मेयर थापालाई ६ हजार ९ सय ८० मत मात्र प्राप्त भयो। त्यस्तै रौतामाईको साँचो हात पार्न सफल मगरलाई ४ हजार ३ सय ५ मत आउँदा एमाले उम्मेदवार थापाले ३ हजार ३ सय ४६ मतमा चित्त बुझाउनु परेको छ।  

उनीहरुबाहेक अघिल्लो चुनावमा पराजय भोग्न बाध्य भएका ढुंगराज विक ताप्ली गाउँपालिका अध्यक्षको जिम्मेवारीमा पुगेका छन्। गठबन्धनतर्फबाट उठेका माओवादीका विक एमालेलाई हराउँदै यसपटक अध्यक्षमा बाजी मार्न सफल भएका हुन्। उता उदयपुरगढी र लिमचुङबुङ गाउँपालिका अध्यक्षहरु मानबहादुर केप्छाकी मगर र मेजरकुमार राई भने कार्यकाल दोहोर्‍याउन सफल भएका छन्। अघिल्लो चुनावमा एमालेबाट उठेका मगर यसपटक एकीकृत समाजवादीबाट गठबन्धन उम्मेदवार भएरै चुनाव जिते। राई माओवादीबाटै अध्यक्षमा दोहोरिन सफल भएका हुन्।  

उदयपुरगढी र लिमचुङबुङसहित रौतामाई गाउँपालिकामा यसपटक जिन्त सफल उपाध्यक्षहरु अघिल्लो चुनावमा अध्यक्षमा पराजित भएका थिए। उदयपुरगढीमा काँग्रेसबाट अध्यक्षमा पराजित जितबहादुर खड्का, रौतामाईमा काँग्रेसबाटै अध्यक्षमा पराजित भुपेन्द्र थापा र लिमचुङबुङमा काँग्रेसबाटै पराजित अध्यक्षका उम्मेदवार पुष्पकुमार राई तीनैजना यसपटक गठबन्धनबाट उठेर उपाध्यक्ष जित्न सफल भएका हुन्।  

यता कटारी र चौदण्डीगढीका मेयर तथा उपमेयर र बेलका उपमेयर भने फरक व्यक्ति चुनाव जित्न सफल भएका छन्। कटारीमा यसअघिकै नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ र चौदण्डीगढीका नगरप्रमुख खगेन्द्र राई दुवै चुनाव हार्न पुगेका छन्। कटारीमा गठबन्धनबाट काँग्रेसका राजेशचन्द्र श्रेष्ठ र चौदण्डीगढीमा एमालेका कालुमान लामा मेयर जितेका छन्। एमालेका श्रेष्ठ गठबन्धनसँग पराजित भएका हुन् नने गठबन्धन अस्वीकार गर्दै चौदण्डीगढीमा मेयर उठेका काँग्रेसका राई एमालेबाट पराजित भएका हुन्।

कटारी, त्रियुगा, चौदण्डीगढी र बेलकाका उपमेयर सबै नयाँ अनुहार हुन्। त्रियुगाकी उपमेयर महेश्वरी राई, कटारीकी गीता खड्का, चौदण्डीगढीकी मणिकादेवी दुलाल र बेलकाकी जीरा राई चारैजना एमालेबाट विजयी भएका हुन्। कटारीमा उपमेयरमा गठबन्धनका उम्मेदवार माओवादीका जिल्ला संयोजक विनोद कटुवाल, त्रियुगामा गठबन्धनकै माओवादी त्रियुगा नगर कमिटी अध्यक्ष गीता खड्का कार्की र बेलका नगर कमिटीकै अध्यक्ष मनोज तामाङ तीनैजना एमालेबाट पराजित हुन पुगेका हुन्। 

प्रकाशित: २१ जेष्ठ २०७९ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App