१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

फोहोरको व्यवस्थापन नभएसम्म सेलिब्रेसन गर्दैनाैँ

जोजलप ! जी बालेन शाह ..

जोजलपा! जी बालेन शाह...भन्दै काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा नेपाल भाषामा समेत सपथ लिँदा हलमा तालीको गडगडाहट सुनियो। चुनावमा रैथाने नेवार समुदायको समेत उल्लेख्य मत पाएका शाहले नेपाली भाषासँगै नेपाल भाषाको पनि सम्मान गर्दै सपथ लिँदा उक्त समुदायको मतसँगै मन पनि जिते।

‘सुनमा सुगन्ध, सपथ होउन त बालेन को जस्तो। महानगर पालिका को मत मात्र जितेनन् मन पनि जितिहाले,’ बालेनको सपथपछि सुरेश थापा श्रेष्ठ सामाजिक सञ्जालमा लेख्छन्,‘ यको यको सफलता या भिन्तुना दे छाय्। शुभाय्।’

काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नेपालीमा सथप गराएलगत्तै शाहले उपप्रमुख पदमा निर्वाचित सुनिता डंगोललाई पनि सपथ ग्रहण गराएका थिए। नेपाली भाषामा बालेनले सपथ गराउँदै गर्दा डंगोलले पनि नेपाल भाषामै सपथ ग्रहण गरेको दृश्य पनि निकै रोचक देखिन्थ्यो।

काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले आगामी ५ वर्षको कार्यकाल काठमाडौं वासिन्दाको हकहित, अधिकार र सहज जीवनयापनको लागि काम गर्ने प्रतिबद्धता जनाइन्। व्यक्तिको सफलता र असफलताको पछि भन्दा पनि संस्थालाई विकास गर्नेमा लक्ष्य राख्ने उनले बताइन्। सपथ सकिएलगत्तै बालेनले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुसीयाली नमनाउने बताए। मेयर साहले काठमाडौंवासीले गरेको पापको भोगी सिसडोबासी भइरहेको भन्दै उनीहरू स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चार माध्यमहरूमा अन्तर्वार्ता र खुसीयाली नमनाउने घोषणा गरेका हुन्। ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तर्वार्ता, खादा माला लगाएर सेलिब्रेसन गर्दैनौं, ’ उनले भने, ‘हामीले गरेको पापको भोगी सिसडोलवासीहरू भइरहनुभएको छ। विभिन्न रोगबाट ग्रसित हुनुभएको छ।’

सिसडोलवासीप्रति नवमेयरले देखाएको सद्भावले ककनी गाउँपालिका समेत खुसी भएको छ। ‘हामीले भोगेको समस्याप्रति उहाँले देखाउनु भएको तदारुकताले गाउँवासीको मन जितेको छ,’ ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भने, ‘समस्या चाँडै समाधान हुने आशा लिएका छौं। पदभार ग्रहण गरेलगत्तै शाहले फोहोर व्यवस्थापनको लागि छलफल गर्न सोमबार साझै आफूलाई बोलाएको उनले जानकारी दिए।

बैठकको प्रत्यक्ष प्रसारण

काठमाडौं महानगरपालिकाले पहिलो पटक कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरेर नयाँ अभ्यासको थालनी गरेको छ। नवनिर्वाचित मेयर बालेन शाहले मयेर बन्नुअघि नै कार्यपालिकामा हुने छलफलहरू आमनागरिकले हेर्न र सुन्न पाउने गरी पारदर्शी रूपमा खुला गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यही प्रतिबद्धता अनुसार मेयर, उपमेयरलगायत सबै वडाध्यक्षहरूको सपथ ग्रहणपछि सोमबार साँझबाट गरिएको पहिलो कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरिएको हो। यो बैठक काठमाडौं मेयरको कार्यालय रहेको राजधानीको बागदरबारस्थित जेडिए कम्प्लेक्समा भएको थियो। शाहले सोमबार बसेको पहिलो बैठकमा फोहोरमैला व्यवस्थापनको लगायत भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन, रेष्टुरेन्टहरूमा निःशुल्क शौचालय प्रयोग गर्न दिनेलगायतका विभिन्न प्रस्ताव नगर कार्यपालिकामा राखेका छन्।

हलबाट प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रममा साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन्। ‘कल सेन्टरमा सडकमा भएका समस्या बारे खवर आएपछि तत्काल पुगिन्छ,’ उनले भने, ‘स–साना समस्या तत्काल समाधान होस् भन्ने हामीले चाहेका हाैँ।’ आवश्यकता अनुसार यस्ता एम्बुलेन्सको संख्या बढाइने उनले बताए।

त्यस्तै सर्वसाधरणले भोग्दै आएको शौचालयको समस्याको समाधानको लागि तत्कालका लागि रेष्टुरेन्टहरूमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि अघि सारेका छन्। यसका लागि केही चेन रेष्टुरेन्टहरूसँग कुराकानीसमेत भएको शाहले सुनाए। बैठकमा कतिपय नवनिर्वाचित वडा अध्यक्षहरूले आ–आफ्नो क्षेत्रको समस्या राख्नुको साथै महानगरको हितमा मिलेर अगाडी जाने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रधानसेनापतिसँग बालेनको भेट  

मेयरका रूपमा सपथ लिएलगत्त बालेन्द्र शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन्। भद्रकालीस्थित सैन्य मुख्यालय पुगेका शाहले प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन्। शाहले काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच सम्भावित सहकार्यबारे पनि छलफल गरेका थिए। प्रधानसेनापति शर्माले शाहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

प्रकाशित: १७ जेष्ठ २०७९ ०१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App