११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

पहिलो संविधान सभा विघटनको त्यो रात

१४ जेठ २०६९ मा प्रधानमन्त्री निवास बालुवाटारमा बिहानैदेखि चहल पहल थियो। प्रधामन्त्री बाबुराम भट्टराई लगायत प्रमुख दलका नेता र सचिवालयका सदस्यहरु निकै ब्यस्त देखिन्थे। सायद कसैले सोचेका थिएनन्, संविधान आउँदैन भनेर। अन्तिमसम्मका घटनाक्रमहरु संविधानको नजिक थिए। तर एकाएक माहोल विग्रियो।

संविधान सभामा के हुने हो भनेर कसैले आँकलन गर्न सक्ने स्थिति थिएन। सबै एक किसिमको अन्यौल र तनावमा थिए।
बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भइरहेका थिए। विदेशी कुटनीतिकज्ञहरुले फोनबाट नयाँ आउने संविधानको शुभकामना दिइरहेका थिए। करिव ९ बजे मोरो मोबाइलको घन्टी बज्यो। उनले पनि अरुले जस्तै प्रधानमन्त्रीलाई आफ्नो शुभकामना सुनाइदिन भने। त्यो फोन नेपालबाट आफ्नो कार्यकाल सकेर फर्किन लागेका अमेरिकी राजदुत स्कटएच डेलिसीको थियो।

'तपाइँको सन्देश म प्रधानमन्त्री समक्ष पुर्‍याउनेछु', मैले जवाफ दिएँ।

बालुवाटरका क्याविनेट कोठा, निलो बैठक, गोप्य बैठक कोठा र कम्प्युटर कोठामा शीर्ष नेताहरु पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा चहल पहल थियो। बिहान ९ बजेतिर क्याविनेट बस्ने कोठामा दलका शीर्ष नेताहरुको बैठक बस्यो। शीर्ष नेताको आफ्नै समूह थियो भने त्यो भन्दा मुनीका नेताको पनि छुट्टाछुट्टै बैठक बसिरहेका थिए। दृष्यहरु रोचक थिए। तर सबैको अनुहारमा एक किसिमको अन्यौल थियो– अब के हुने हो?

'के हुँदै छ ?' बाहिरबाट मिडिया र कुटनीतिक नियोगका अधिकारीहरुले फोनको घन्टी बजाइरहे। यो सवाल सोध्नेहरु धेरै पार्टी कार्यकता समेत थिए। प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट छिर्ने वित्तिकै हेलिप्याड आउँछ। त्यहाँ अघिपछि भन्दा ठूलो संख्यामा सञ्चारकर्मी जम्मा भएका थिए। बैठकको निष्कर्ष कुर्दै सञ्चारकर्मी साथीहरु फुटबल खेलिरहेका थिए। अपरान्ह तीन बजेसम्म बालुवाटारमा यसरी नै बालुवाटरमा बैठक चल्यो। त्यो बैठक दलहरुलाई कहीँ कतै मिलाउन भने सकेन। बैठक पुन सिंहदरबारमा स¥यो।

बालुवाटार बैठक सकिएपछि एमाओवादी नेता तथा तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ मिडिया समक्ष आँसु झार्दै कुरा गरे। बिहानको सूर्योदयले दिनको संकेत गर्छ भने जस्तै त्यसले अब संविधान आउँदैन भन्ने स्पष्ट संकेत गरेको थियो ।

सिंहदरवारमा सभामुखको कार्यकक्षमा बैठक सुरु भयो। बैठकमा कांग्रेस नेता शेरबहादुर देउवाले संकटकाल लगाएर भए पनि संविधान जारी गुर्न पर्ने मत राखे। त्यसमा एमाले अध्यक्ष केपी ओली र कांग्रेसका अन्य नेताको ठाडै अस्वीकार गरिदिए। आक्कलझुक्कल मात्र बैठकमा देखिने ओलीले देउवाको प्रस्तावलाई उखानटुक्का हालेरै अस्वीकार गरिदिए।

झन्डै ६ घन्टासम्म नेताहरुबीच रस्साकस्सी चल्यो। नेताहरुको अनुहार मलिन थियो। अन्तिमसम्म सहमतिको पहल भैरहेको थियो। बैठकमा कांग्रेस महामन्त्री कृष्ण सिटौलाको भूमिका महत्वपूर्ण थियो। सिटौला केही दिनयता सबै राष्ट्रिय देखि अन्तराष्ट्रिय पक्षलाई मिलाउन चर्को दौडधुप गरिरहेका थिए।

सभामुखको च्याम्बरको बैठक सकिँदा रातको करिब १० बजेको थियो। एमाओवादी नेता पोष्टवहादुर बोगटी (अहिले उनको निधन भैसकेको छ) बाहिर निस्कनासाथ धुपीको रुखमुनी सञ्चारकर्मीहरुबाट घेरिए। मिडियालाइ प्रतिक्रिया दिँदै उनले दलहरुबीचको बैठक पूर्णरुपमा असफल भएको संकेत गरे।

सभामुखको बैठक कक्षबाट निस्केका प्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रीहरु नारायणकाजी श्रेष्ठ, विजयकुमार गच्छदार लगायत एकहुल नेताहरु संसद सचिवालयबाट करिब २०० मिटर पर रहेको प्रधानमन्त्री कार्यालय तिर सोझिए। दिनभरिदेखि अब के हुन्छ? भन्दै पछ्याइरहेका सञ्चारकर्मीहरु त्यतै लागे।

फेरि बैठक प्रधानमन्त्री कार्यालयमा सुरु भयो। यतिखेर रातको करिब ११ बजेको थियो। त्यहाँ सत्तारुढ दलका नेताहरु मात्र थिए। कांग्रेस एमालेका नेताहरु सो बैठकमा थिएनन्। विशिष्ट व्यक्तिहरु भेट्ने बैठक कोठामा एमाओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई, गृहमन्त्री विजयकुमार गच्छेदार लगायत थिए।

प्रधानमन्त्री–कार्यकक्षको दाहिने तर्फ रहेको यो कोठामा अब के गर्ने त भन्ने विषयमा नेताहरु घोत्लिन थाले। छालाले कभर गरेर बनाइएका कलात्मक कुर्सीमा बसेर नेताहरु गम्भीर छलफल गर्न थाले। नेताहरुको बैठक सकिना साथ हतारहतार मन्त्रिपरिषद बैठक बस्यो । सरकारसँग मिनेट–मिनेटको चाप थियो। मध्यरात हुनै लागेको र १२ बजेअघि नै कुनै निर्णय गर्नुपर्ने दवाबमा रहेका नेता–मन्त्रीहरु असिनपसिन थिए।

मन्त्रपरिषद बैठक बसिरहेकै समयमा एमाले नेता माधव नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल लगायतका नेताहरु प्रधानमन्त्री कार्यालाय आइपुगे। एमाओवादी अध्यक्ष दाहालले 'खै तपाइँहरुलाई त बोलाएका छैनौं त' भन्ने जवाफ दिए। त्यसपछि उनीहरु फर्किए। रामचन्द्र पौडेलले त्यति बेला दुवै हात फिजाउँदै 'यहाँ हाम्रो बैठक होइन रे बोलाका पनि छैनन् रे' दाहाल र प्रधानमन्त्री भट्टराईसँग जंगिदै बाहिरिएको दृश्य बडो रोचक देखियो।

मन्त्रिपरिषद कार्यालयमा तत्काल महान्याधिवक्ता र कानुन सचिवलाई बोलाइयो। उनीहरुले राष्ट्रपतिलाई बुझाउने कानुनी भाषाशैलीको पत्र तयार पारे। 'अब के हुनेभयो?' भन्ने सवालका एसएमएस र फोनहरु निरन्तर आइरहेका थिए। व्यस्थतताका कारण सबेलाई रेस्पोन्स गर्न सकिरहेको थिइनँ। त्यसै कारण कतिपय मित्रहरुले तितो पोखे।

यसैबीच प्रधानमन्त्री सहितको टोली सिधै सिँहदरबारबाट शितलनिवासतिर हुँइकियो। उसै त प्रधानमन्त्रीको कारगेडको आफ्नै गति हुन्छ। त्यसमा पनि त्यो दिन सिंहदरबारदेखि शितलनिवास पुग्दाको स्पिड अहिले पनि स्मरणीय छ। प्रधानमन्त्रीलाई १२ बज्नुअघि त्यहाँ पुग्नुपर्ने समयको दबाब थियो। प्रधानमन्त्री भट्टराईले संविधानसभा भंगहुन भन्दा केही मिनेट अघि नै राष्ट्रपति डा.रामवरण यादवलाई शीतल निवासमा त्यो पत्र बुझाए। पत्रको सार यस्तो थियो, 'अर्को संविधान सभाको निर्वाचन २०६९ मंसिर ७ गते बिहीबार हुनेछ।'

प्रधानमन्त्री भट्टराई बालुवाटार फर्किंदा घन्टाघरको घडीमा १२ बज्यो। कानुनअनुसार संविधान सभा बिघटन भयो।

(प्रशान्त लामिछाने प्रधानमन्त्री बाबुराम भट्टराईको सचिवालयमा कार्यरत थिए।)

प्रकाशित: ३ आश्विन २०७२ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App