१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नागरिक उन्मुक्ति कैलालीमा दोस्रो ठूलो दल

जिल्ला समन्वय समितिको संयोजकमा दावी

स्थानीयतहको निर्वाचनपश्चात् नागरिक उन्मुक्ति पार्टी कैलालीमा दोस्रो ठूलो दलका रुपमा स्थापित भएको छ। यो पार्टी चारवटा पालिकामा जित हात पार्दै दोस्रो ठूलो दलका रुपमा स्थापित भएको हो।  

कैलालीको पूर्वी भेगका दुई नगरपालिका र दुई गाउँपालिकामा नागरिक उन्मुक्तिले जितेको छ। उसले टीकापुर नगरपालिकाको मेयर, भजनी नगरपालिकाको मेयर/उपमेयर, जानकी र जोशीपुर गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष दुवै पद जितेको छ। टीकापुरमा मात्रै गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खड्कबहादुर शाहले नागरिक उन्मुक्तिका उल्कादेवी विश्वकर्मालाई पराजित गरेका छन्।  

चारवटा पालिकाको सात वटा मुख्य पद जितेसँगै नागरिक उन्मुक्तिले कैलाली जिल्ला समन्वय समिति चयनमा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ। नागरिक उन्मुक्तिभन्दा धेरै मत नेपाली काँग्रेससँग मात्रै छ। काँग्रेससँग आठ मत रहेको छ।  

जिल्लाका १३ स्थानीय पालिकामध्ये गठबन्धन दलहरुको १३ र अन्य नागरिक उन्मुक्ति, नेकपा एमाले र एक स्वतन्त्र गरी १३ मत छ। गठबन्धनले आफ्नो तर्फ जोडेका कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरीले पार्टीले गरेको कारवाही फुकुवा भएमात्रै मतदान गर्ने भन्दै आएका छन्। उनलाई स्थानीयतह निर्वाचनको क्रममा पार्टीले कारबाही गरेको छ।  

त्यस्तै स्वतन्त्र जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले निर्वाचन प्रकृयामा सहभागिता जनाउने बारे स्पष्ट छैन। उनले यस बारेमा कुनै प्रतिक्रिया दिन नसक्ने बताए।  

दुवै जनाले निर्वाचन प्रकृयामा सहभागिता नजनाउने हो भने गठबन्धनसँग र अन्यसँग १२/१२ मत रहन्छ। यति बेला नागरिक उन्मुक्ति काँग्रेससँगको हाराहारीमा पुग्छ। दुवै पार्टीसँग सात/सात मत रहन्छ।

आफूहरु गठबन्धन कायम राख्ने पक्षमा रहेको नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले बताए। उनले कैलारी गाउँपालिकाका अध्यक्षको हकमा कारवाही फुकुवाका लागि प्रयास भैरहेको जानकारी दिए। स्रोतका अनुसार काँग्रेसले स्वतन्त्र हमाललाई समेत आफ्नो पक्षमा पार्न कसरत गरिराखेको छ। तर उनले पाँच वर्षसम्म पूर्ण रुपमा स्वतन्त्र रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाले कुनै एक पक्षलाई भोट हाल्ने सम्भावना नरहेको स्रोतको दावी छ।  

स्थानीय निर्वाचनका क्रममा जिल्लाका विभिन्न पालिकामा गठबन्धन दलहरुबीच तिक्तता बढेका कारण जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति नहुने सम्भावना बढेको देखिन्छ। उनीहरुले सहयोग नगरेको भन्दै एकअर्का प्रति आरोपप्रत्यारोप समेत लगाउने गरेको पाइएको छ।  

टीकापुर नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमेयर जित्दै गर्दा काँग्रेसका मेयर पराजित भएका छन्। त्यस्तै लम्कीचुहामा काँग्रेसले मेयर जितेको छ भने माओवादी केन्द्रले उपमेयरले हार्नु परेको छ। गोदावरीमा काँग्रेसका मेयरले जिते भने नेकपा एकीकृत समाजवादीका उपमेयरले हारे। बर्दगोरीया गाउँपालिकामा माओवादी केन्द्रका उपाध्यक्ष जिते भने गठबन्धनका तर्फबाट काँग्रेसलाई हराउँदै अध्यक्षमा नेकपा एमालेले बाजी मार्‍यो।  

स्थानीयतहको निर्वाचन परिणामपछि गठबन्धन दलहरुबीच बढेको तिक्तता कुनैकुनै पालिकामा देखिन थालेको छ। टीकापुर नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचनमा काँग्रेस र नागरिक उन्मुक्तिबीच सहमति जुटेको बताइएको छ। कुल ८ सदस्यमध्ये ५ नागरिक उन्मुक्ति र ३ काँग्रेसले लिने सहमति भएको स्रोतको दावी छ।  

गठबन्धन दलहरुबीच सहमति जुट्न नसके नागरिक उन्मुक्ति झन सशक्त रुपमा बलियो हुने देखिन्छ। उसले काँग्रेस एक्लैसँग मिले स्पष्ट बहुमत पुग्नेछ भने अन्य दलहरुसँग मिले सबैभन्दा ठूलो दलको हैसियतले काँग्रेससँग प्रतिस्पर्धा गर्नेछ।  

नागरिक उन्मुक्तिले जिल्ला समन्वय समितिको निर्वाचनलाई लक्षित गरेर सबै दलहरुसँग छलफल भैरहेको जनाएको छ। प्रवक्ता दामोदर पण्डितले अहिले नै ठोस निर्णय गर्ने अवस्थामा नपुगेको बताए। उनले संयोजकको दावी गरेर अन्य पार्टीहरुसँग छलफल अघि बढेको जानकारी दिए।

‘संयोजकमा हाम्रो स्वभाविक दावी हो,’ उनले भने, ‘जसले संयोजक दिन्छ उसैसँग सहकार्य हुन्छ।’

यो दल पाँच महिना अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको हो। निलम्बित सांसद रेशमलाल चौधरीको रिहाईको मुद्दालाई अघि सारेर दर्ता भएको पार्टीको अध्यक्ष चौधरीकै श्रीमती रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन्। उनले नै स्थानीयतह निर्वाचनमा पार्टीको कमाण्ड सम्हालेकी थिइन्।  

यो पार्टीसँग थारु र दलित समुदायको संलग्नता रहेको छ। स्थानीयतह निर्वाचनमा दुई समुदायको मत प्राप्त गरेपछि चारवटा पालिकामा अस्वभाविक जित हात पार्न सफल भएको थियो।

प्रकाशित: १६ जेष्ठ २०७९ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App