१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘विद्रोही धरान’ मा साम्पाङको उदय

बिहानै उठेर घर नजिकैको ग्रीन टी पसलमा साथीभाइसँग भेट गर्ने र आफ्नो मिसनमा हिँड्ने उनको दैनिकी थियो। आफ्ना केही समर्थक र फेसबुक पेजमा फलो गरेकाबाहेकले उनलाई त्यति महत्त्व दिएका थिएनन्। कहिले उनी एक्लै हिँडेर बस्तीमा छिर्थे, कहिले आफ्नै टेम्पो चढेर घुम्थे। उनी कताकता पुग्छन् भनेर परिवारका सदस्य र साथीभाइले पनि भेउ पाउँदैनथे।

गुमनामझैं रहेका यी पात्र एकसाता भयो, राष्ट्रिय चर्चाको केन्द्रमा छन्। अहिले मूलधारका सञ्चारमाध्यमका रिपोर्टर अन्तर्वार्ता लिन उनलाई खोज्दै आइपुग्छन्। उनको सर्बत्र चर्चा छ। जताततै छाएका छन् उनी।

धरानमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम नआउँदै सबैको ध्यान उनीतिर सोझियो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतअन्तरले पराजित गरेपछि उनको व्यक्तित्व बढेको छ। उनको जितलाई धरानवासीको ‘मौन विद्रोह’ का रूपमा पनि हेरिएको छ। त्यसो त उनले सामाजिक अभियन्ताका रूपमा जनताका पक्षमा गरेको संघर्षको कथा पनि लामो छ।

यी पात्र हुन्, स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित ४० वर्षीय हर्कराज राई (साम्पाङ)। राजनीतिक दल र नेताले जनताको विश्वासप्रति गरेको कुठाराघातबाट निराश बनेका धरानवासीका लागि मात्र होइन, सिंगो नेपालीका लागि पनि आशाको दियो बनेका छन् उनी। कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तै उनी नेपाली समाज र राजनीतिमा एक ‘आइडल पर्सन’ का रूपमा जबर्जस्त उदाएका छन्। उनको न कुनै संगठन छ न राजनीतिक दलका नेताको अघिपछि हिँड्ने जस्ता कार्यकर्ता वा समर्थक छन्। नेताले बिर्सिएका जनताका सानासाना मुद्दा बोकेर निरन्तर संघर्ष गरिरहने एक आममान्छे हर्कराज अहिले उपमहानगरपालिकाको प्रमुख पदमा पुगेका छन्।

ब्रिटिश लाहुरे तिलविक्रम र जसमायाको कोखबाट २०३९ सालमा खोटाङको खार्तम्छा चोखानेमा जन्मिएका हुन् हर्कराज। बुबा धरानको घोपास्थित ब्रिटिश क्याम्पमा जागिरे हुँदा उनी सानैमा परिवारसँगै जन्मठाउँबाट धरान झरेका थिए। ब्रिटिश क्याम्प पोखरा सरेपछि उनी बुवाआमासँग कहिले खोटाङ त कहिले धरान आउजाउ गरिरहे। तीन दाजुभाइमा हर्कराज कान्छा हुन्।

हर्कराजको धरान–१८, बुद्धचोकमा पक्की घर छ। यही चोकमा उनको परिवार लामो समय डेरामा बसेको थियो। आमा जसमायाका अनुसार हर्कराज सानैदेखि अलि एकोहोरो (जिद्दी) र अनौठो स्वभावका थिए। समयअनुसार छोरामा परिवर्तन आएको उनले देखेकी छन्। उनी भन्छिन्, ‘सानोमा पनि यस्तै थियो। एकोहोरो, अनौठो स्वाभाव नै थियो। समयअनुसार परिवर्तन पनि भयो।’

हर्कराज खोटाङको शुक्रबारे माविबाट एसएसली पास गरेपछि २०५५ सालतिर उच्चशिक्षाका लागि धरान झरेका थिए। महेन्द्र बहुमुखी क्याम्पस धरानबाट उनले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन्। उनले ‘पर्फेक्ट इङ्लिस ल्याङवेज एन्ड कम्युटर सेन्टर’ मा लामो समय अंग्रेजी भाषा र कम्युटर पनि सिकाए। सन् २००९ तिर भने उनी सेन्टर छाडेर युद्धग्रस्त मुलुक इराक पुगे। इराकमा १८ महिना बसेर फर्किएपछि उनी पुनः अफगानिस्तान गएर ५ वर्ष बसे। ‘म मध्यमवर्गीय परिवारको मान्छे हुँ। खानलाउन समस्या थिएन। पैतृक सम्पत्ति छ, सेन्टरमा कमाइ ठिकै थियो। तर पनि विदेशी भूमीको अनुभव लिन गएँ,’ हर्कराज भन्छन्।

अफगानिस्तानबाट फर्किएपछि हर्कराजले बुद्धचोकमा घर बनाएका हुन्। विदेशमा हुँदा नै इन्टरनेटबाट नजिकिएकी धरानकी निर्मला लिम्बुसँग उनले विवाह गरेका छन्। निर्मला पनि इजरायलमा हुँदा दुवै इन्टरनेटबाट भावनात्मकरूपमा नजिकिएका थिए।

घर बनाएपछि हर्कराजले पाँचवटा टेम्पो किने। टेम्पो व्यवसायीहरूलाई जुटाएर उनी ‘एकता यातायात प्रालि’ को अध्यक्ष पनि बने। संस्थागतरूपमा नेतृत्व लिने यो उनको सुरुवाती अभ्यास थियो। अहिले पनि उनका ५ वटा टेम्पो छन् र उक्त प्रालिको अध्यक्ष पनि उनै छन्।

२०७२ सालतिर धनकुटे रोड विस्तार गरेर मदन भण्डारी सहायक राजमार्ग बन्ने भएपछि सयौं परिवार विस्थापित हुने अवस्था आयो। धरान उपमहानगरपालिकाले धरान–चतरा सडकको जिरो प्वाइन्ट धनकुटे रोड भएको पत्र सडक विभागमा पठायो। यसले धनकुटे रोड किनारका बस्तीमा चरम असन्तुष्टि र आक्रोश चुलियो। त्यसविरुद्ध धनकुटे रोड किनार र आसपास बस्ने मानिसले संघर्ष समिति बनाएर आन्दोलन गरे। आन्दोलनको सहसंयोजक थिए, हर्कराज। यो आन्दोलन नै उनको सामाजिक जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो।

विदेश हानिएका उनी स्वदेशमै केही गर्छु भनेर फर्किएका थिए। तर सडक आन्दोलनले उनीभित्र दबिएर रहेको विद्रोहको ज्वारभाटालाई बाहिर निकाल्यो। विकासे योजनाका नाममा जनतालाई घरबारविहीन बनाउने राज्यसंयन्त्रको कदमविरुद्ध स्थानीयवासीलाई सडकमा उतारेका उनी कहिले सडक विभाग त कहिले मन्त्रालय पुगिरहे।

सबैको संघर्ष र पहलकदमीपछि अन्ततः मदन भण्डारी सहायक राजमार्गको ‘एलाइन्मेन्ट’ परिवर्तन भयो। धनकुटे रोड किनार र आसपासका बासिन्दा घरबारविहीन हुनबाट जोगिए। ‘मेरो मनमा देशलाई केही गरौं भन्ने भावना थियो। धनकुटे रोड संघर्ष समिति बनेपछि मात्र म बाहिर प्रकट भएँ,’ हर्कराज भन्छन्, ‘त्यसपछि नै हो, मैले नगरपालिका, खानेपानी आयोजना, बिपी अस्पतालको बेथितिविरुद्ध आवाज उठाउन थालेको। जनजीविकाको सवालमा लड्न थालेको।’

मेयरमा निर्वाचित भएपछि हर्कराजले फेसबुकमा पोस्ट गरे, ‘यो पल स्वर्गीय कृष्णनारायण पालिखेलाई सम्झन चाहन्छु।’ पालिखे भौतिकरूपमा अहिले छैनन्। तर कतिपयले हर्कराजलाई पालिखेसँग तुलना पनि गर्छन्। पालिखे २०५४ सालमा धरानको उपमेयर निर्वाचित भएका थिए। तत्कालीन मेयर मनोजकुमार मेन्याङ्बोसँग पालिखेको तालमेल मिलेन। उनले राजीनामा दिए।

खरो स्वभावका पालिखेले जीवनभर भ्रष्टाचार, अनियमितता र बेथितिविरुद्ध सडक संघर्ष गरिरहे। तीनकुने सुन्दरबस्ती विकास आयोजनाको अनियमितता, सर्दु जलाधार प्रकरण, करवृद्धि र खानेपानी आयोजनामा बेथितिबारे पालिखेले अग्रपंक्तिमा रहेर सडक संघर्ष गरे। उनलाई राजनीतिक दलहरूले विकास विरोधीको ‘ट्याग’ पनि लगाइदिए।

पालिखेसँग राईको तुलना हुनुको कारण पनि यही हो। ‘उहाँ (पालिखे) भ्रष्टाचारविरुद्ध निरन्तर लडिरहने योद्धा हो। धरानमा राम्रो काम होस् भन्नुहुन्थ्यो। भएको पद पनि छाडेर जनताका मुद्दालाई बोकिरहने विद्रोही अग्रज व्यक्ति हुनुहुन्थ्यो। त्यसैले मैले उहाँलाई सम्झिएको हुँ,’ हर्कराजले भने। धनकुटे रोड आन्दोलनपछि हर्कराज पनलिखेसँग नजिकिएका थिए।

त्यसबेला पनलिखेले ‘जनसरोकार मञ्च नेपाल’ संस्था बनाएर खानेपानी आयोजनामा भएका बेथिति र सर्दु जलाधार क्षेत्र अतिक्रमणविरुद्ध आन्दोलन गरिरहेका थिए। खानेपानी आयोजनाका नाममा धरानमा भएको खानेपानी संस्थानलाई मर्ज गर्न र करोडौं रूपैयाँ ऋणको भार जनतालाई बोकाउन हुँदैन भनेर लागेका थिए।

खानेपानी धरानवासीको सबैभन्दा ठूलो समस्या हो। खानेपानी संस्थानले सर्दु जलाधार क्षेत्रबाट सर्दु र खुर्द खोलाको पानी संकलन गरेर वितरण गथ्र्यो भने चारकोसे जंगलबाट बोरिङ गरेर पनि पानी नगरवासीलाई खुवाउथ्यो। जनघनत्व बढ्दै गएपछि पानीको स्रोतले थेग्न सकेन। संस्थानले कोसीबाट पानी ल्याउने योजना अघि सारे पनि बजेट भएन। पनलिखेको टोलीले आयोजनाको विकल्प कोसीको पानी ल्याउनुपर्छ र सर्दु जलाधार क्षेत्रको संरक्षण गर्नुपर्छ भनेर आवाज उठायो। त्यो पंक्तिमा हर्कराज पनि थपिए।

दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समिति बनाएर आन्दोलनको नेतृत्व गरेका पनलिखेको मृत्युपछि यसको नेतृत्व हर्कराजले लिए। एसियाली विकास बैंकको २२ मिलिमयन डलर ऋण र अनुदानमा सञ्चालित आयोजनाको म्याद पटकपटक थपिएर सकियो तर धरानवासीले न पानी पिउन पाए न यो आयोजनाको कामले पूर्णता नै पायो। आयोजनामा १ अर्ब ७० करोड रूपैयाँभन्दा बढी खर्च भएको छ।

आयोजना असफल र बजेटमा भ्रष्टाचार भएको भन्दै हर्कराजले निरन्तर आवाज उठाइरहे। उनी कहिले नगरपालिका घेराउ गर्न पुग्थे त कहिले महंगो शुल्क लिएको भन्दै खानेपानी संस्थान र बिल काउन्टरमा धर्ना दिन पुग्थे। खानेपानी नपाएर सास्ती भोगेका नगरसासीले पनि बिस्तारै उनलाई साथ दिन थाले। संस्थान खानेपानी व्यवस्थापन बोर्डमा गाभिएपछि पानी नआएको धाराको बिल भने चौगुना बढी आउन थाल्यो। नगरवासीमा यसले झन् असन्तुष्टि चुलियो। हर्कराजले नगरवासीको असन्तुष्टि गोलबद्ध गर्दै धरान–१६ स्थित खानेपानी बिल काउन्टरमा तालाबन्दी गर्दै निरन्तर धर्ना र खबरदारी सभा गरिरहे।

२०७४ सालमा निर्वाचित एमालेको बहुमतको स्थानीय सरकार र २०७६ मंसिरको उपनिर्वाचनबाट निर्वाचित कांग्रेसका मेयरले पनि जनतालाई पानी खुवाउन सकेनन्। आफैंले भोट दिएर जिताएका जनप्रतिनिधिबाट निराश भएका जनताको आशा एक्ला अभियन्ता हर्कराजतिर सोझियो। धरानवासीले आफ्नो टोलमा पानी नआउँदा नजिकका जनप्रतिनिधिलाई भन्दा हर्कराजलाई गुनासो गर्न थाले। उनले पनि आयोजना प्रमुखलाई फोन गरेर तत्काल पानी खुवाउन दबाब दिन्थे। यसो गर्दा उनले फेसबुक पेजबाटै लाइभ पनि गर्थे। पानी नपाएर सास्ती भोगिरहेका धरानवासी बिस्तारै उनीप्रति आकर्षित हुन थाले।

करिब २ वर्षअघि खानेपानी संस्थानको पाइपबाट जबर्जस्ती आइयुडिपी आयोजनाले पाइप जोडेर पानी लगेको भन्दै हर्कराज र संस्थानका प्रमुख रामकुमार श्रेष्ठले विरोध गरे। विरोध प्रदर्शनका क्रममा पाइपमा क्षति पुग्यो। उनी र संस्थान प्रमुखलाई सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा मुद्दा चलाइयो। हर्कराजलाई १५ दिन प्रहरी हिरासतमा राखियो। अदालतको आदेशमा ५० हजार रूपैयाँ धरौटी बुझाएर छुटेका उनलाई पछि अदालतले सफाइ दियो। ‘त्यो बेला जनताकै आवाज लिएर हिँड्दा झुटो मुद्दामा थुनामा पनि पर्नुभयो, पछि अदालतबाट सफाइ पनि पाउनुभयो,’ २२ वर्षदेखि हर्कराजका छिमेकी रहेका परमेश्वर मोटरसाइकल वर्कसपका परमेश्वर साह भन्छन्, ‘सर्दु खोला ठेक्का लगाएर जथाभावी गरिएको भन्दै विरोध गर्दा पनि उहाँलाई मुद्दा चलाइयो।’

तत्कालीन धरान नगरपालिकाले सर्दु, सेउती र सेहरा खोला ठेक्का लगाएको थियो। ठेकेदारले सम्झौताविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै सर्दु क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका थिए। हर्कराज पनि समर्थकका साथ विरोध गर्न पुग्थे। ठेकेदार पक्षलाई तत्काल उत्खनन रोक्न लगाएर फर्कंदा धरान–११, मंगलबारे चोकमा उनलाई प्रहरीले रोक्यो। कोभिड महामारी भएकाले धेरैको संख्यामा हिँडेको भन्दै प्रहरीले उनको मोटरसाइकलको चाबी खोस्नेक्रममा विवाद भयो। एक महिला प्रहरीले आफूमाथि हर्कराजले हातपात गरेको निवेदन दिएपछि उनी भूमिगत हुनुपरेको थियो। यो घटनाको भोलिपल्ट उनका समर्थक पुनः सर्दुमा विरोध गर्न जाँदा ठेकेदारले गुण्डा लगाएर आक्रमण गरे। प्रहरीले हर्कराजका समर्थकलाई पक्राउ ग¥यो। यो घटनाले उनलाई सकारात्मक चर्चामा ल्यायो।

त्यसो त उनले २०७६ सालको उपनिर्वाचनमा पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यसबेला उनले ४२२ भोट मात्र पाए। सधैं कम्युनिस्ट उम्मेदवारलाई जिताइरहेका धरानवासीले त्यो उपनिर्वाचनमा भने कांग्रेस उम्मेदवारलाई जिताइदिए। ३० वर्ष कम्युनिस्टलाई जिताइरहेको धरानमा त्यसबेला परिवर्तनको पक्षमा भन्ने लहर चलेको थियो। परिणाम पनि त्यस्तै आयो। खानेपानी समस्या समाधान गर्ने, कर घटाउने र खानेपानी आयोजनाको भ्रष्टाचार  छानबिन गर्ने अजेन्डा बोकेका कांग्रेस उम्मेदवारले जिते तर जनअपेक्षा पूरा हुन सकेन।

हर्कराज भने उपनिर्वाचनको हारबाट निराश भएनन्। ‘त्यो चुनाव मैले अनुभवका लागि लडेको थिएँ, हार भए पनि निराश भइनँ,’ उनले स्मरण गरे। उनले आफ्नो अभियानलाई सूक्ष्म ढंगले विस्तार गर्न थाले। जनताका असन्तुष्टि, गुनासा र आवाजलाई आफूमा समाहित गर्न थाले।

बेलाबेलामा आफ्ना सीमित समर्थक लिएर उनी चोकचोकमा भ्रष्टाचार र बेथितीविरुद्ध भाषण गर्थे। जनतालाई जगाउनुपर्छ भन्ने उनको मान्यता छ। उनलाई सुन्ने धेरै थिएनन्। तर उनले आफ्ना काम आफ्नो ‘फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसन’ बाट प्रत्यक्ष प्रसारण गर्थे। यसले उनको अभियान बिस्तारमा सघाउ पुर्‍याइरहेको थियो। मूलधारका मिडियाले नसमेटे पनि उनले वैकल्पिक मिडियामार्फत आफ्ना धारणा, भावनालाई हजारौं मानिससम्म पुर्‍याए।

खानेपानी आयोजना र नगरपालिकाको बेथिति, भ्रष्टाचारसँगै उनले बिपी प्रतिष्ठानमा सुधारका लागि सशक्तरूपमा आवाज उठाएका छन्। प्रतिष्ठान नेपालकै प्रतिष्ठित स्वास्थ्य संस्था हो। धरानवासीको प्रत्यक्ष स्वास्थ्य र जीवनसँग गाँसिएको प्रतिष्ठानमा बिरामीले न राम्रो उपचार सेवा पाउँछन् न निःशुल्क औषधि नै। कोभिड महामारीको बेला उपचारमा भएको लापरवाहीविरुद्ध पनि उनले खबरदारी गरिरहे। धराने जनताले उनको अभियानमा प्रत्यक्ष सरिक भएनन्। तर पनि उनीहरूले उनको अभियानलाई नियालिरहेका थिए।

महँगी बढ्दा भानुचोकमा प्ले कार्डसहित विरोध गर्न पुग्थे उनी। उनी एउटा साउन्ड बक्स र माइक लिएर विरोधसभा गर्थे। भाषण सुनाउन उनलाई भिड चाहिँदैनथ्यो। सडकमा खाल्डाखुल्डीले एम्बुलेन्स हिँड्न असहज हुँदा उनले विरोध जनाए। दलका नेताहरूले २०७२ सालपछि बस्ती बसेको सर्दु किनारको सुकुमबासी बस्ती हटाउने निर्णय गर्दा त्यसको पनि उनले विरोध गरे। यस्ता कैयन कामले उनले जनताको मन जित्दै थिए।

भारतले सीमा अतिक्रमण गर्दा कालो ब्यानरसहित विरोधमा उत्रिए उनी। भारतीय ज्यादतीविरुद्ध चर्को भाषण गरे। सीमा अतिक्रमण हुँदा उनले इटहरीस्थित नेपाली सेनाको पूर्वी हेडक्वार्टरमा गएर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाउन माग गरे। एमसिसीको विरोधमा पनि उनी दलहरूभन्दा पहिला कालो ब्यानर लिएर सडकमा निस्केका थिए।

सीमा अतिक्रमण र एमसिसिविरुद्धको अभियानले उनलाई देशविदेशमा रहेका नेपालीमाझ परिचित गरायो। ‘मैले निरन्तर सीमा अतिक्रमण र एमसिसीविरुद्ध आन्दोलन गरें, फेसबुक पेजबाट लाइभ गरे। एमसिसी प्रकरण विदेशमा रहेका नेपालीसँग पनि जोडिने कडी बन्यो,’ हर्कराज भन्छन्।

मेयर हुनुअघि हर्कराज बिहानै उठ्थे, र घरनजिकैको ग्रिन टी पसलमा साथीभाइसँग भेटघाट गर्थे। खानाको टुंगो हुँदैनथ्यो। उनलाई घरपरिवारले पनि स्वतन्त्र छोडिदिएका थिए। कहिले राति ७, ८ बजे त कहिले १०, ११ बजे घर पुग्थे।

सामाजिक काममा लागेपछि उनले घर नै बिर्सन्थे। ‘हामीले सम्झाउँदा पनि नभएपछि उहाँलाई स्वतन्त्र छोडिदियौं। के गर्नुहुन्छ, कहाँ जानुहुन्छ, त्यसरी नहिँड्नुस भनेर भन्न छोड्यौं,’ पत्नी निर्मला भन्छिन्, ‘परिवार छोड्छु, तर समाजसेवा छोड्न सक्दिन भन्नुहुन्छ।’

जीवनशैली पनि उनको सरल छ। उनी प्रायः सर्ट र पाइन्टमा हुन्छन्। सकेसम्म चप्पलमा हिँड्न रुचाउँछन्। पत्नी राईले भनिन्, ‘उहाँ अन्याय नसहने मान्छे हो। गोजीमा १ रूपैयाँ छ भने पनि अरूलाई नै दिएर हिँड्नुहुन्छ।’

उनकी आमा ७९ वर्षमा हिँड्दैछिन्। घरमा सामान्य किराना पसल छ। पत्नी दिनभरि पसलमा बस्छिन्। टेम्पो र आमाको पेन्सनले घर खर्च धानेको छ। किराना पसल छोड्नेभन्दा पनि पतिले नमानेको निर्मलाले बताइन्। ‘मैले ४ वर्षअघि नै पसल गर्दिनँ भने तर व्यापार गर्न सिक्नुपर्छ भनेर उहाँले छोड्न दिनुभएन,’ उनले भनिन्, ‘अब मेयर हुनुभयो, धेरै साथीभाइ आउँछन्, ठाउँ सानो हुन्छभन्दा पनि छोड्नु हुँदैन भन्नुहुन्छ।’

स्वभाव विद्रोही भए पनि हर्कराजको रुचि साहित्यमा पनि छ। उनी आफैं गीत लेख्छन्, गाउँछन् पनि। एक दशकअघि ‘मिसिङ हर्ट’ नामक एल्बम पनि उनले निकालेका थिए। अहिले पनि आफैं गितार बजाएर विकृति, विसंगतिविरुद्ध विद्रोहका गीत गाउँछन् उनी।

कम्युनिस्ट गढकारूपमा रहेको धरानमा वैशाख २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्दै २०७६ सालमा गुमेको विरासत फिर्ता हुने दाबी गरेका थिए। भोलिपल्ट त्यही स्टेजबाट स्वतन्त्र उम्मेदवार हर्कराजले अब धरान पार्टीहरूको दासत्वबाट मुक्त भएर स्वतन्त्र हुने उद्घोष गरे। चुनावी मतपरिणामले पनि उनले भनेजस्तै देखायो। धरान न कम्युनिस्ट गढ रह्यो न कांग्रेस गढ। धरानका मतदाताले कांग्रेस र कम्युनिस्ट दुवैका उम्मेदवारलाई छाडेर हर्कराजलाई रुचाए।

धरानको स्वभावै विद्रोही छ। त्यही विद्रोही धरानेको प्रतिबिम्ब हुन्, हर्कराज। उनको जित पनि यसैको प्रतिबिम्ब हो। यसपटक धरानका जनताले गुपचुपमा विद्रोह गरेर एक विद्रोहीलाई सत्तामा पुर्‍याइदिए। मूलधारको राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवार हर्कराजलाई नगरको बागडोर धराने जनताले सुम्पिदिए। मुलधारविरुद्धको धरानको विद्रोही स्वभाव राणाकालदेखिकै हो भन्छन् बुढापाका।

नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टी गठन हुनुभन्दा अघि नै धरानमा नक्सलाइड आन्दोलनको प्रभाव थियो। त्यो बेला हाल धरानको पानवारीमा पर्ने ठिंगाबारीमा स्थानीयस्तरको सम्मेलन पनि भइसकेको विश्लेषक एवं सहप्रध्यापक डा. राजेन्द्र शर्मा बताउँछन्। नेपालमा २००७ सालमा राणा शासन ढल्नुअघि नै कम्युनिस्टको विद्रोह गर्ने शैलीसँग धरान परिचित भएको उनको भनाइ छ। उनी भन्छन्, ‘धरान सधैं मूलधारभन्दा पृथक रह्यो। राणाकाल, पञ्चायत, प्रजातन्त्र र गणतन्त्रकालमा पनि धरानले आफ्नो विद्रोही चरित्र देखाइरहेको छ।’ धरानमा पूर्वका १६ जिल्लाबाट फरकफरक संस्कृति बोकेर आएका मानिसको बसोबास छ।

धरानले २००८ सालमा राजा त्रिभुवन आउँदा पनि विजयपुरमा कालो झण्डा देखाएर विद्रोही रूप देखाएको थियो। राजा त्रिुभवन हेलिकोप्टरबाट आएका बेला सूर्यप्रसाद उपाध्यायले कालो झण्डा देखाउनेको नेतृत्व गरेका थिए। उपाध्याय पछि धरानको प्रधानपञ्च पनि भए। पञ्चायतकालमा धरानले कम्युनिस्ट पृष्ठभूमीका उम्मेदवारहरू उपाध्याय, कृष्ण पाख्रिन, बम देवान, कृष्णकुमार राईलाई जिताएको डा. शर्माको भनाइ छ। ‘धरान सधैं मूलधारभन्दा पृथक रह्यो। राणाकाल थियो, धरान फरक रह्यो। पञ्चायतकालमा पनि फरक रह्यो,’ उनले भने, ‘केन्द्रमा कांग्रेसको सरकार हुँदा कम्युनिस्टलाई जिताइरह्यो। केपी ओलीको सरकार हुँदा कांग्रेसलाई जिताइदियो। यसपाली कांग्रेस र कम्युनिस्टको सरकार छ, धरानले मूलधारका उम्मेदवारलाई छाडेर स्वतन्त्रलाई जिताइदियो।’

धरानेहरू ‘एक्सन ओरिएन्टेड’ पनि छन्। उनीहरू तुरुन्त काम भएको मन पराउँछन्। राजनीतिक दलहरूले आश्वासन दिएर जनता झुलाउने काम गरेकाले धरानेले स्वतन्त्र हर्कराजलाई जिताएको शर्माको भनाइ छ। ‘धराने जनता हाताहाती काम मन पराउँछन्, तुरुन्त एक्सन होस् भन्ने रुचाउँछन्,’ उनले भने, ‘मतदाताले हाताहाती काम गर्ने सामाजिक अभियन्तालाई यसपटक छाने।’

कोसीबाट भए पनि पानी ल्याएर धरानवासीको तिर्खा मेटाउने प्रतिबद्धता गरेका हर्कराजका सामु चुनौतीका चाङ छन्। पानी आपूर्ति र वितरणलाई व्यवस्थित गर्नु, पानीको स्रोत र उत्पादन बढाउनु उनको प्राथमिकता हो। उपमहानगरपालिकाभित्रका बेथिति, सेवा प्रवाहमा ढिलासुस्ती, विकास निर्माणमा हुने कमिसन र अनियमितता रोकेर सुशासन र पारदर्शिताको अनुभूति दिलाउन सक्नु पनि उनको चुनौती हो।

उनी स्वतन्त्रबाट निर्वाचित मेयर हुन्। त्यसैले कार्यपालिकामा राजनीतिक दलका बहुमत सदस्य उनीविरुद्ध उभिन सक्छन्। अन्य दलबाट निर्वाचितहरूलाई विश्वासमा लिएर अघि बढ्नु पनि उनको चुनौती हो। आफ्नो भूमिका अब अभिभावको हुने र सबैलाई मिलाएर धरानको विकास र सुशासनमा अघि बढ्ने मेयर हर्कराजले बताएका छन्। ‘जुनसुकै पार्टीबाट भए पनि जनताले विकास र सुशासनका लागि जिताएको हो। त्यसैले यो पार्टी, त्यो पार्टी भनेर झगडा गर्नु हुँदैन। मिलेर नै काम गर्नुपर्छ। म सबैसँग समन्वय र सहकार्य गर्नेछु,’ मेयर हर्कराज भन्छन्, ‘जनताको जनजीविकासँग जोडिएको विषयलाई सम्बोधन गर्ने प्रयास गर्नेछु।’

प्रकाशित: १४ जेष्ठ २०७९ ००:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App