८ वैशाख २०८१ शनिबार
राजनीति

संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादी रणनीति

स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको छ।

वर्तमान सत्ता गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिएर संघीय संसद्को निर्वाचनमा एमालेभन्दा ठूलो शक्तिको रूपमा उदाउने दाउपेचमा माओवादी लागेको हो। स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका आन्तरिक बैठक र छलफलमा प्रदेशसभा र संघीय प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेससँग मिलेर जानुपर्ने भएकाले एमालेभन्दा ठूलो दलको रूपमा शक्ति आर्जन गर्नेगरी योजना बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिइसकेका छन्। दाहालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई खुमलटारमा भेट्ने क्रममा पनि अहिलेको सत्ता गठबन्धन सफल भएको बताएका छन्।

त्यतिमात्र होइन, सार्वजनिक कार्यक्रममा पनि उनले वर्तमान सत्ता गठबन्धन सफल भएको बताउँदै कांग्रेसको साथ नछाड्ने संकेत गरेका छन्। ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो।

मूलभूत रूपमा सत्ता गठबन्धन सफल भएको छ। यो गठबन्धनलाई प्रदेशसभा र संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन तथा त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि अघि बढाउने संकल्प हो। यसमा हामी गठबन्धन दल दृढ छौँ,’ जनप्रतिनिधिसँगको भेटमा दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो। उनले शनिबारदेखि निरन्तर यही कुरा दोहोर्‍याउँदै आएका छन्।

‘खासगरी सहरी क्षेत्र नजिक रहेका पालिकामा पनि माओवादीले स्थानीय तहमा सफलता हासिल गरेको छ। यसलाई उपयोग गरेर कांग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा जानुपर्छ भन्ने अध्यक्ष दाहालको लाइन छ। माओवादी यसै लाइनमा अघि बढ्नेछ,’ माओवादी एक नेताले भने। माओवादीले काठमाडौं आसपासका नुवाकोट, काभ्रे, मकवानपुरमा पनि केही स्थानीय तहमा सफलता हासिल गरेको छ। त्यसैगरी एमालेको गढ मानिएको लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये माओवादी केन्द्रले एमालेकै हाराहारीमा स्थानीय तह जितेको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा लुम्बिनीका ३३ पालिका  

प्रमुख जितेको कांग्रेसले यसपटक ४६

वटामा प्रमुख जितेको छ। लुम्बिनीमा अघिल्लोपटक ४३ स्थानीय तहको प्रमुख जितेको एमालेले यसपटक २६ प्रमुख जितेको छ। त्यस्तै माओवादीले २५ पालिकाको प्रमुख जितेको छ। यसबाट माओवादी निकै उत्साही भएको छ।

कांग्रेससँग मिलेर माओवादीले सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो पकड देखाएको छ। यसअघि सुदूरपश्चिममा माओवादी निकै कमजोर थियो।

पहिला एमालेको पकड रहेको सुदूरपश्चिममा अहिले कांग्रेसले ४० र माओवादीले १४ पालिका प्रमुख जितेको अवस्था छ। एमालेले २५ पालिका प्रमुख जितेको छ। यसबाट हौसिएको माओवादीले पुनः कांग्रेसको साथ लिएर सुदूरपश्चिममा पनि आफूलाई सकेसम्म एमालेभन्दा ठूलो दल बनाउने तयारी गरेको छ।

‘अहिले सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) सँग धेरै नेता–कार्यकर्ता र जनमत नभएको तर आगामी निर्वाचनमा उसलाई सिट धेरै दिनुपर्ने अवस्था आउने भएपछि माओवादीका लागि कांग्रेससँगको सहकार्य नै बढी फाइदाजनक हुनेछ,’ माओवादी एक नेताले भने। ती नेताका अनुसार जनमत थोरै भएको नेकपा एससँग सहकार्य गर्दा माओवादीलाई जित निकाल्न कठिन हुन्छ। यसकारण पनि कांग्रेससँगको सहकार्य टुटाउनु हुँदैन। ‘नेकपा एससँग माओवादीलाई जित निकाल्न पुग्ने जनमत छैन, कांग्रेसलाई माओवादीको थोरै मत दिए पुग्छ, माओवादीलाई पनि कांग्रेसको मत आधा आए पुग्छ। त्यसैले नेकपा एससँगभन्दा कांग्रेससँगको सहकार्य बढी उपयोगी हुन्छ,’ माओवादी स्थायी समितिका सदस्य रहेका ती नेताले भने।

सुदूरपश्चिममा एमालेको मात्र होइन, एमालेबाट विभाजन भएर बनेको नेकपा एसको पनि उपस्थिति राम्रो छ। तर, स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी मिलेर नेकपा एसलाई त्यहाँ कमजोर पारिदिए। कर्णाली प्रदेशमा पनि कांग्रेस र माओवादी मिलेर नेकपा एसलाई पाखा लगाएका छन्। आगामी निर्वाचनमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा कांग्रेस र माओवादीले यसैगरी नेकपा एसलाई कमजोर बनाएर अघि बढ्ने रणनीत लिने देखिन्छ।

माओवादी अध्यक्ष दाहालले केही दिनअघि पार्टीको आन्तरिक छलफलमा नेकपा एसले लिएका मन्त्रालय पनि धेरै भएको भन्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने बताएको जानकारी एक नेताले दिए। नेकपा एसलाई राजदूतलगायत सरकारी नियुक्तिमा पनि बढी स्थान दिन नहुने पक्षमा दाहाल उभिएको स्रोतको दाबी छ। स्थानीय तह चुनावको परिणाम आएपछि नेकपा एसका नेताहरूले पनि कांग्रेस र माओवादी मिलेर आफूलाई पाखा लगाएको भन्ने आशयका अभिव्यक्ति दिइरहेका छन्।

माओवादी केन्द्रले आगामी निर्वाचनमा सफलता हासिल गर्न विगतमा पार्टी छाडेर गएका नेता–कार्यकतालाई पार्टीमा ल्याएर उचित जिम्मेवारी दिने रणानीति पनि बनाएको छ। प्रदेश संघीय संसद् निर्वाचनसम्म वाम गठबन्धनको नारा दिएर एमालेलाई अल्मलाउने र अन्तिममा सहकार्यचाहिँ कांग्रेससँगै गर्ने माओवादी रणनीति छ। ‘एमाले अध्यक्ष केपी ओलीले सहकार्य गरौं भने पनि अनुकूल परिस्थिति छैन, कांग्रेसभन्दा एमालेबाट धोका हुने अवस्था छ। त्यसकारण पनि आवश्यकता कांग्रेससँगको सहकार्यलाई नै निरन्तरता हो,’ माओवादी स्थायी समितिका एक सदस्यले भने। ती सदस्यका अनुसार एमालेसँग समदुरीमा रहने नीति माओवादीले लिनेछ।

प्रकाशित: १४ जेष्ठ २०७९ ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App