१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लव उदयपुरको रौतामा

उदयपुरको रौतामा आयोजित केन्द्रीय बैठकमा महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायत। तस्विरः महेश्वर

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) उदयपुरको रौतापाखेरी पुगेका छन्। पार्टी केन्द्रीय समितिको ‘१३ औं पूर्ण बैठक’मा सहभागी हुन विप्लव उदयपुरको पहाडी रौतामाई गाउँपालिका पुगेको जिल्ला कमिटीले जनाएको छ।  

जस अनुसार रौतामाई ६ स्थित रौतापोखरी क्षेत्रमा बिहीबारदेखि सुरु केन्द्रीय समिति बैठकमा उनी सहभागी भएको पार्टीले जानकारी दिएको छ। रौतापोखरीस्थित एक होटलमा विप्लवले बैठकको अध्यक्षता गरिरहेका छन्। बैठकको पहिलो दिन महासचिव विप्लवले १३ औँ बैठकको राजनीतिक प्रस्ताव तथा आगामी ९ औँ महाधिवेशनको कार्यदिसाबारे प्रस्ताव पेश गरेका छन्।  

उनको प्रस्तावमाथि पार्टीका ५८ जना केन्द्रीय सदस्य र २ जना सल्लाहकार समिति सदस्यहरुले टिप्पणी गर्ने कार्यक्रम छ। १३ गते विहानदेखि प्रस्तावमाथि छलफल र टिप्पणी गर्ने तथा त्यसपछि सामूहिक छलफल गर्दै बैठकको कार्यदिसा र प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले बताए। महासचिव विप्लवको अध्यक्षतामा भईरहेको बैठकमा प्रवक्ता तथा सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अर्का सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिबेक कुमाललगायतको सहभागिता रहेको छ।  

बैठकमा सहभागी हुन आएका महासचिव, प्रवक्ता र सचिवालय तथा केन्द्रीय सदस्यलगायत बिभिन्न जिल्लाका प्रतिनिधिहरुलाई उदयपुर पार्टीले स्वागत गरेको पौड्यालले बताएका छन्।  

०७१ मंसिर ८ गते विप्लवले आफ्नै नेतृत्वमा खोलेको सो पार्टीले सुरुदेखि भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता र जनजीविकाको विषयलाई लिएर संगठन विस्तार गर्न थालेको थियो। खासगरी कर छली र भ्रष्टाचारविरुद्ध आफूलाई केन्द्रित गर्ने घोषणा गरेका पार्टीले स्थापनाको केही समयपछि नै एनसेलमाथि कर छलीको आरोप लगाउँदै जनकारबाहीस्वरुप बम विष्फोट गराएपछि एकाएक चर्चा कमायो। संसदीय चुनावको घोर विरोधीको रुपमा प्रस्तुत भएको पार्टीले एनसेलमाथिको कारबाही घट्नापछि०७४ को प्रदेश तथा प्रतिनिधि चुनावताका दर्जनौं ठाउँमा बम विष्फोटन र विद्युतीय धराप पड्काएपछि प्रतिबन्धमा परेको थियो।  

०७४ को प्रदेश तथा प्रतिनिधिसभा चुनावमा एमाले र माओवादी मिलेर बनेको गठबन्धनले झण्डै दुईतिहाई बहुमत पाएको ६ महिनापछि दुई पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो। सरकारको नेतृत्व गरिरहेका तत्कालीन अध्यक्ष केपी ओलीले विप्लव नेतृत्वको नेकपाको गतिबिधि रोक्न भन्दै ०७५ मंसिर २८ गते प्रतिबन्ध लगायो। प्रतिबन्ध लागेपछि भूमिगत भएको पार्टी नेता कार्यकर्ताहरुको खोजीखोजी कारबाही गरिरहेको ओली सरकार ०७७ पुल ६ गते संसद विघटन गरेपछि वार्ता समिति गठन गरेर विप्लवसँग नजिकिन पुग्यो।  

संसद विघटन गरेको विरुद्धमा आफ्नै पार्टीका तत्कालीन कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ट नेताहरु माधव नेपाल र झलनाथ खनालको चेपुवामा पर्दै गएपछि ओलीले वार्तालाई निश्कर्षतिर धकेल्दै लगे र ०७७ फागुन २१ गते पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरिदिए। पार्टी फुकुवामा परेसँगै वैज्ञानिक समाजबादको नारा लिएर संगठन विस्तारमा लागेका विप्लवले ०७९ वैशाख ३० गते घोषित चुनावमा सहभागी हुने निर्णय गरे। जस अनुसार उदयपुरलगायत देशका बिभिन्न स्थानीयतह चुनावमा उम्मेदवारी दिएको पार्टीभित्रै एउटा पक्ष भने संसदीय चुनाव अपनाएकोमा असन्तुष्टि जनाउदै अलग हुने काम भयो। पार्टीभित्रको यो अन्तरकलहपछि बसेको यो बैठक सायद पहिलो हुन सक्छ।  

सम्भवत विप्लवले यो बैठकबाट संसदीय व्यवस्थालाई अंगिकार गर्दै राष्ट्रिय राजनीतिक मुलधारमा आउने निर्णय गराउने अनुमान गरिएको छ। यसबारे पार्टी जिल्लास्तरीय नेतृत्वले भने केही कुरा खोलेको छैन। बैठक सुरु भएको र राजनीतिक प्रस्ताव पेश भईसकेको तर, त्यसबारे छलफल नभईसकेकाले निर्णय के हुन्छ भन्ने बारेमा अहिले नै केही भन्न नसकिने एक नेताले बताए।

प्रकाशित: १२ जेष्ठ २०७९ १५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App