१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खानेपानी आपूर्ति सुधार गर्न र सफा नगर बनाउन एक्सनमा उत्रिए धरानका मेयर

भानुचोकको बसपार्कमा सरसफाईको लागि झाडु लगाउँदै मेयर राई। र, चारकोशे जंगलमा रहेको खानेपानी वेल र पाइपहरुको निरीक्षण गर्दै मेयर राई। तस्बिरः नागरिक

धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ) पदभार ग्रहण गरेलगत्तै खानेपानी आपूर्ति सुधार गर्न र नगरलाई सफा बनाउन फिल्डमै एक्सनमा उत्रिएका छन्।

मंगलबार पदभार ग्रहण गरेका मेयर राई मतदाताहरुलाई धन्यवाद ज्ञापन कार्यक्रम पनि नसकिदै फिल्डमा उत्रिएका हुन्। उनले बुधबार खानेपानीको मुहान सुर्द जलाधार क्षेत्रमा पुगेर अवलोकन गरेका थिए। पाइपहरु लथालिङ्ग अवस्थामा भेटिएको मेयर राईले बताए। उनले भने,‘मुहानमा पुगेर हेरे। पाइप एकातिर छ, पानी अर्कोतिर बगिरहेको छ। त्यसलाई सच्याउन र फोहोर हुन नदिने गरि काम गर्न निर्देशन दिएको छुँ।’

मेयर राई धरानको खानेपानीको एजेण्डालाई प्रमुखताका साथ उठाएर चुनाव जितेका हुन्। स्वतन्त्र उम्मेद्वार बनेका राईले गठबन्धन र एमालेका मेयरका उम्मेद्वारलाई फराकिलो मतान्तरले हराउदै निवार्चित भए। मेयरको पदभार ग्रहण गरेपछि आफ्नो प्रमुख प्राथमिकता खानेपानी आपूर्तिलाई सहज बनाउनु भएको बताउँदै आएका थिए। बुधबार खानेपानीको मुहान क्षेत्र गएका मेयर राईले बिहिबार खानेपानीको चारकोशे जंगलमा रहेको वेलहरुको पनि निरीक्षण गरेका थिए।  

मेयर राईले जेनेरेटर र पम्प पनि बिग्रेको अवस्थामा भेटिएको बताए। ‘सबै चिज बिग्रेको रहेछ। जेनेरेटर बिग्रेको छ, पम्प नचल्ने, चुहिराखेको छ,’मेयर राईले भने, ‘खानेपानी वेलहरुमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ। मर्मत सम्भारमा तीब्रता लयाउन निर्देशन दिएको छुँ।’

झाडु बोकेर सरसफाईमा निस्किए मेयर  

चारकोशे जंगलमा खानेपानी वेल निरीक्षण गरेर फर्केपछि मेयर राई बिहीबार दिउँसो भानुचोकस्थित बसपार्क क्षेत्रमा सरसफाई अभियानमा सहभागी थिए। मेयर राई आफै झाडु लिएर फोहोर टिप्दै हिँड्न थालेपछि उनका समर्थक, सर्वसाधारणहरुले पनि सफाई अभियानमा सहभागी भए।

 आफ्नो घर, आँगन र सडक सफा राख्न जनचेतना फैलाउनको लागि आफै सडकमा झाडु लिएर आएको मेयर राईले बताए। आफूबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्ने बानी बसाल्न अनुरोध गरेको उनले बताए। ‘अबको ६ महिनामा धरानलाई देशकै सफा सहर घोषणा गर्ने लक्ष्य लिएको छुँ, यसको लागि आफूले निकालेको फोहोर आफै व्यवस्थापन गरौं भनेर अनुरोध गर्न आएको हुँ,’उनले भने।  

फोहोर जथाभावी फाल्ने बानी सुधार नभए जरिवानाको नियम लगाउने पनि उनले बताए। ‘आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने हो भने, आफ्नो बानीमा सुधार गर्ने हो भने त्यति धेरै ठूलो चुनौती पनि होइन। आफूबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्ने बानी बसालौं भन्ने मेरो अनुरोध हो,’ मेयर राईले भने।

प्रकाशित: १२ जेष्ठ २०७९ १५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App